दलीय स्वार्थ–झगडाले लुम्बिनीको संसद् बन्धक
मन्त्री शाही र सांसद वलीका विषयमा विवाद चर्कियो

बुटवल - लुम्बिनीमा दुई सांसदको दलीय आबद्धता कारण देखाउँदै प्रदेश संसद्लाई बन्धकमा पारिएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र संसद सचिवालयबीचमा चर्किएको द्वन्द्वका कारण सिंगो संसद्लाई बन्धक बन्न पुगेको हो । सत्ताबाट बाहिरिँदै प्रमुख प्रतिपक्ष बन्न पुगेको एमालेले संसद् बैठक चल्न दिएको छैन । यसले संसदीय राजनीतिलाई भद्दा मजाक बनाएको छ ।
एमाले र संसद सचिवालयको कुरा मात्र होइन स्वयं विवादित सांसदहरुका पनि आफ्नै तर्क छन् । संसद् लगातार अवरुद्ध हुँदा भर्खरै बनेका मुख्यमन्त्रीले विश्वासको मत लिन सकेका छैनन् । जसका कारण प्रदेश सरकार विस्तार हुन पाएको छैन । नेकपा एमालेले प्रदेश सभाका सांसद अजय शाही र विमला ओलीलाई कारबाही गरेपछि विवाद शुरु भएको छ । उक्त कारबाही सदर गर्दै उनीहरुलाई पद मुक्त नगरे सदन नचल्ने अडान एमालेको छ ।
नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) को निर्वाचन क्षेत्र–१ ‘ख’ बाट निर्वाचित सांसद अजय शाही र दाङ–३ ख बाट निर्वाचित विमलाकुमारी खत्री वली कुन दलका सांसद भन्ने विषय विवादित बनेपछि प्रदेश सभा लामो समयदेखि अवरुद्ध छ ।
शाही २०७४ मा एमालेको सूर्य चिन्ह लिएर हृदयेश त्रिपाठीको स्वतन्त्र समूहबाट निर्वाचित सांसद हुन् भने वली २०७६ मंसिर १६ मा तत्कालीन नेकपाको सूर्य चिन्हबाटै चुनाव जितेकी सांसद हुन् । यी दुई सांसद एमालेका हुन् भन्दै एमालेका केन्द्रीय अध्यक्ष केपी ओलीले सोधेको स्पष्टीकरमा चित्त नबुझेपछि पदीय कारबाही गरेको पत्र एमाले लुम्बिनी संसदीय दलले प्रदेश सभा सचिवालयमा बुझाएको छ । प्रदेश सभा सचिवालयले पनि उनीहरूलाई पदमुक्त गर्न नमिल्ने भन्दै एमाले संसदीय दलको कार्यालयमा जवाफी पत्र पठाइसकेको छ ।
प्रदेश सभा सचिवालयले विगतमा राखेका केही विवरणमा दुवै सांसद एमालेका देखिन्छन् । केही विवरणमा भने शाही स्वतन्त्र र वली माओवादीकी सांसद भएको देखिन्छ । अजय शाहीबारेका अधिकांश विवरणमा निर्वाचित दल एमाले उल्लेख छ । दलीय संलग्नतामा स्वतन्त्र राजनीतिक समूह उल्लेख गरिएको छ । एमालेले बुझाएको सांसदको विवरणमा वली एमाले सांसद भन्ने उल्लेख छ भने उनी आफैंले बुझाएको व्यक्तिगत विवरणमा माओवादी केन्द्र भन्ने उल्लेख छ ।
यी दुवै जनाको दलीय संलग्नताको विवाद त्यतिबेला चर्कियो, जतिबेला उनीहरु सत्ता ढलाउने र बनाउने अंक–गणितको खेलमा सामेल भए । एमाले नेतृत्वको सरकार ढालेर माओवादी, कांग्रेस, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाको चार दलीय गठबन्धन सरकार बनाउन यी दुई सांसद निर्णायक हुने देखिएपछि एमालेले कारबाही गर्यो ।
शाही माओवादीका कुलप्रसाद केसी नेतृत्वको सरकारमा विनाविभागीय मन्त्री बनेका छन् भने वली मन्त्री बन्ने चर्चा छ । उनीहरु सत्तापक्षमा खुलेपछि एमालेले गरेको कारबाहीअनुसार प्रदेश सभा सचिवालयले पदमुक्त भएको सूचना सार्वजनिक नगरेपछि एमालेले प्रदेश सभा बैठक अवरोध गर्दै आएको छ ।
शाही र वली तानातानमा
अजय शाही र विमला वली कुन दलका सांसद भन्ने विषयको विवादका कारण एमालेले सदन अवरोध गर्दा लुम्बिनीमा बनेको गठबन्धन सरकारले विश्वासको मत लिन र संसद्का अरु कामअघि बढाउन सकेको छैन । यी दुई सांसदलाई पदमुक्त गरेको जानकारी नगराएसम्म सदन चल्न नदिने अडान एमालेको छ ।
प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्तीले सांसदमाथिको कारबाहीबारे एमाले र सम्बन्धित सांसदबाट आएका विषयलाई अध्ययन गरेर टुंगो लगाउने बताएपछि सदन भदौ ७ गतेसम्मका लागि स्थगित छ । पदमुक्त गरेको जानकारी नगराएर आलटाल गरेको भन्दै एमालेले सभामुखको भूमिकामै प्रश्न उठाएको छ ।
एमालेले यसअघि एमाले सांसदबाट राजीनामा दिने अमरबहादुर डाँगी, दृगनारायण पाण्डे तथा माओवादी र जसपाका सांसदमाथिको कारबाहीका आधारमा तत्कालै पदमुक्तको निर्णय लिए पनि सत्तारुढ दलको प्रभावमा एमालेका सांसदलाई पदमुक्त गर्न आनाकानी गरेको आरोप सभामुखमाथि लगाउँदै आएको छ ।
एमालेले सदन अवरोध गरेर आफ्ना दाबी गरेका सांसद खासमा कुन दलका हुन् भन्ने विषयका विवरणहरु अलमल देखिन्छन् । प्रदेश सभा सचिवालयले तयार पारेको सांसद पाश्र्वचित्रमा अजय शाहीको दल नेपाल कम्युनिष्ट पार्टी नेकपा हो भने निर्वाचित हुँदाको दलीय संलग्नता स्वतन्त्र समूह हो ।
राजनीतिक संगठन र जिम्मेवारीमा उनी एमालेमा आवद्ध भएको विवरण छैन । शाही २०७४ देखि २०७७ सम्म स्वतन्त्र राजनीतिक समूहको केन्द्रीय उपाध्यक्ष भनेर उल्लेख गरिएको छ । त्यसअघि मधेशी जनअधिकार फोरम, राष्ट्रिय जनता पार्टी र राष्ट्रिय समाजवादी पार्टीमा विभिन्न पदमा रहेको उल्लेख छ ।
उनी निर्वाचित हुँदा २०७४ असोज १६ गते नेकपा एमालेका महासचिव इश्वर पोखरेल र हृदयेश त्रिपाठीसहित ५ जनाले हस्ताक्षर गरेर सार्वजनिक गरेको विज्ञप्तिमा सूर्य चिन्हबाट चुनाव लडे पनि स्वतन्त्र हैसियतमा रहने भनेर उल्लेख गरिएको छ ।
यस्तै प्रमाणका आधारमा उनले आफू स्वतन्त्र हैसियतमा रहेको दाबी गर्दै आएका छन् । शाहीले भने, ‘मैले स्वतन्त्र समूहसँग एमालेले गरेको सहमति अनुसार चुनाव चिन्हमात्रै सूर्य लिएको हुँ । एमालेको सदस्यता लिएको छैन । संसदीय दलको सदस्य भएको छैन । एमालेको कुनै भूमिकामा छैन । त्यसैले स्वतन्त्र सांसदलाई एमालेले कारबाही गर्न मिल्दैन ।’
तर, एमालेले आफ्नो दलको चुनाव चिन्हबाट चुनाव जितेको, त्यसपछि संसदीय दलका बैठकहरुमा सहभागी भएको आधारमा उनी एमाले सांसदको हैसियतमा रहेको दाबी गर्छ । एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले भने, ‘उहाँले एमालेको चुनाव चिन्ह लिएर चुनाव जितेपछि एमाले हुनुभयो । एमालेको संसदीय दलका बैठकमा सहभागी हुनुभयो, अब उहाँलाई एमालेको कारवाही लागू हुन्छ ।’
वलीको हकमा भने शाहीको भन्दा केही फरक अवस्था छ । शाही नेकपा एकताभन्दा अघिकै एमालेको चुनाव चिन्ह सूर्यबाट चुनावमा सहभागी भए भने वली एमाले र माओवादी एकतापछि बनेको नेकपाको चुनाव चिन्ह लिएर चुनाव जितिन् । नेकपा विघटन भएर एमाले र माओवादी पुनस्थापित भएपछि उनले दल रोज्न पाउने व्यवस्था सर्वोच्चले गरेको थियो ।
२०७७ फागुन २३ मा नेकपा विघटन भएपनि उनले २०७८ वैशाख १९ सम्म कुन दल रोजेको भन्ने खुलाएकी थिइनन् । तर उनी एमाले संसदीय दलको एउटा बैठक र एमाले दाङ जिल्ला कमिटिको बैठकमा एमाले सांसदको हैसियतमा सहभागी भएको एमालेको दाबी छ ।
पति उत्तरकुमार वलीको निधनपश्चात् उपनिर्वाचनमा दाङ–३ ‘ख’ बाट चुनाव जितेकी वली आफ्नो दलको सांसद हुन् भन्दै एमालेले २०७७ चैत १५ मा बुझाएको सांसदको विवरणमा उल्लेख गरेको छ । २०७७ चैत ६ मा प्रदेश सभा सचिवालयले सबै पार्टीका संसदीय दलसँग पार्टीमा रहेका सांसदको सूची माग गरेपछि चैत १५ मा एमालेले प्रदेश सभा सचिवालयलाई विवरणसहितको पत्र बुझाएको थियो ।
एमालेले बुझाएको सो सूचीमा नेकपाबाट उपचुनाव जितेकी विमला कुमारी खत्री वली र एमाले प्रवेश गरेका माओवादी सांसद दधिराम न्यौपाने, दिनेश पन्थीसमेतको नाम उल्लेख छ । यसरी एमालेले ४३ सांसदको नाम आफ्ना सांसद भनेर बुझाएको छ । एमालेले ४३ औं नम्बरमा वलीको नाम समावेश गरेको छ ।
वलीले हस्ताक्षर गरेका भनिएका अरु केही पत्रहरु पनि एमालेसँगै सम्बन्धित छन् । एमाले अध्यक्ष केपी ओलीले २०७८ साउन ४ गते स्पष्टीकरण सोधेको पत्रको जवाफमा आफूले केही व्यक्तिको बहकाउ र भ्रममा परेर पार्टीको विधानविपरीत कमजोरी गरेको वलीले स्वीकार गरेकी छिन् र आगामी दिनमा नदोहोर्याउने प्रतिबद्धता जनाएकी छिन् । तर, साउन १८ को त्यो पत्रमा भएको हस्ताक्षर जबरजस्ती गराइएको उनको दाबी छ ।
केही दिनअघिको पत्रकार सम्मेलनमा उनले भनेकी थिइन्, ‘साउन १५ गतेदेखि २० गतेसम्म मुख्यमन्त्री शंकर पोखरेल निवासमा जबरजस्ती ’बन्धक’ बनाएर पुराना माइन्युट र विज्ञप्तिमा हस्ताक्षर गराएको छ । मलाई पढ्न पनि दिईएन ।’
यसअघि २०७८ वैशाख १९ मा पत्रकार सम्मेलन गरेर वलीले माओवादी केन्द्र रोजेको बताएकी थिइन् । त्यसपछि एमालेले उनलाई आफ्नो दलमा प्रवेश गर्न दबाब दिँदै आएको उनको भनाइ छ । २०७७ फागुन २३ मा सर्वोच्च अदालतको नेकपा विघटन गर्ने फैसलाले नेकपाबाट निर्वाचित भएका सांसदले एमाले वा माओवादीमध्ये एउटा दल रोज्नसक्ने व्यवस्था गरेअनुसार माओवादी रोजेको तर्क उनले पेश गर्दै आएकी छिन् ।
तर नेकपा विघटन पश्चात् वली आफ्नो दलको सांसद रहेकाले उनले माओवादी रोज्न नपाउने तर्क एमालेको छ । एमाले प्रमुख सचेतक ढकाल भन्छन्, ‘उहाँ एमालेको सांसद हो, त्यसैले उहाँ अरु दल रोज्न पाउनुहुन्न र एमालेबाहेकको सरकारलाई समर्थन गर्न सक्नुहुन्न, पार्टी अध्यक्ष केपी शर्मा ओलीले यसबारे स्पष्टीकरण सोधेर चित्त नबुझेपछि कारबाही गरेको हो ।’
सांसदहरु शाही र वली कुन दलका सांसद् हुन् भन्नेबारेका सबै प्रमाणहरुमध्ये कुन प्रमाण र आधार सबैभन्दा बलियो हो भन्ने कुराले अर्थ राख्ने कानुन व्यवसायीहरु बताउँछन् । अधिवक्ता महेन्द्र पाण्डे भन्छन्, ‘बाहिर कुन दलले कसलाई आफ्नो सांसद भन्यो, के लेखेर राख्यो भन्ने कुराभन्दा पनि प्रदेश सभा सचिवालयले कुन सांसदलाई कुन दलको हो भनेर रेकर्डमा राखेको छ त्यो नै बलियो प्रमाण हुनेछ ।’

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया