बुधबार ३२ असार, २०८२
Wednesday, July 16, 2025

कर्णालीमा कानुनमन्त्रीले गरिन् कर्मचारीसँग कार्यसम्पादन सम्झौता

सुर्खेत – कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्री सिताकुमारी नेपालीले बिहीबार मन्त्रालयमातहतका कर्मचारीहरूसँग कार्यसम्पादन सम्झौता गरेकी छन् ।मन्त्री नेपालीले चालु आर्थिक वर्षमा विनियोजित बजेट शतप्रतिशत कार्यान्वयन गर्ने उद्देश्यले कर्मचारीहरुसँग कार्यसम्पादन सम्झैता गरेकी हुन् ।

उनले कार्यसम्पादन सम्झौता पत्र मन्त्रालयका सचिव पुण्यविक्रम पौडेललाई हस्तान्त्रण गर्दै आफ्नो तर्फबाट शतप्रतिशत काम गर्न निर्देशनसमेत दिएकी छन् । गत आर्थिक वर्षमा सम्झौताअनुसार बजेट कार्यान्वयन तथा उपलब्धी नभएकाले चालु आर्थिक वर्षमा असार महिनाअघि नै सबै योजना सम्पन्न हुनेगरी काम गर्ने सम्झौता भएको मन्त्री नेपालीले बताइन् ।  

गएको आर्थिक वर्षमा पनि मुख्यमन्त्रीले ८० प्रतिशत बजेट कार्यान्वयन गरिसक्ने गरी सम्झौता गरेका थिए । तर, प्रदेश सरकारले गत आवमा ६७ प्रतिशत मात्रै रकम खर्च गर्न सफल भएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३६ अर्ब बढीको बजेट ल्याएको छ । सम्झौताअनुसार सचिव र मन्त्रालयमातहतका कार्यालयमा कार्यरत कर्मचारीले समयमै योजनाका कामहरू सम्पन्न गर्नुपर्नेछ ।