आइतबार २१ बैशाख, २०८२
Sunday, May 04, 2025

राजनीतिक दलसम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्चमा छ रिट दर्ता

काठमाडौँ - सर्वोच्च अदालतमा सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ बदर गर्न आदेशको माग गर्दै छ रिट दायर भएका छन् । अधिवक्ताहरू अर्जुनकुमार अर्याल र सकुन्तला भुसाल,  निकेशकुमार लम्साल र अनुपा अर्याल,  प्रवेश केसी, अधिवक्ता श्रीकान्त बराल, अधिवक्ता दलबहादुर धामी, सरोज बुढाथोकी र आशिष श्रेष्ठले छुट्टाछुट्टै रिट दायर गरेका हुन् । 

सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार राजनीति दलसम्बन्धी अध्यादेश विरुद्ध छ रिट संवैधानिक इजलासमा दर्ता भएका हुन् । त्यसको सुनुवाइ यही भदौ ११ गते शुक्रबारका लागि तोकिएको छ । दल विभाजनसम्बन्धी अध्यादेश बुधबार राष्ट्रपतिले प्रमाणीकरण गरेकी थिइन् ।

यसअघि पार्टी विभाजनमा लागि केन्द्रीय कमिटी र संसदीय दलमा ४० प्रतिशत पुग्नुपर्ने व्यवस्था थियो । नयाँ अध्यादेशमा केन्द्रीय कमिटी वा संसदीय दलमा २० प्रतिशत भए पुग्ने व्यवस्था गरिएको छ ।

सरकारले संघीय संसद्को अधिवेशन अन्त्य गरेको भोलिपल्टै अध्यादेश ल्याउनु गैरसंवैधानिक भएकाले सरकारको निर्णय बदर गर्न अन्तरिम आदेशको माग रिट निवेदनमा गरिएको छ । अध्यादेश आउने बित्तिकै नेकपा (एमाले) माधव नेपाल समूह र जनता समाजवादी पार्टीले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइसकेका छन् ।