शनिबार ०३ जेठ, २०८२
Saturday, May 17, 2025

कर्णालीमा खाद्यान्न पुर्‍याउने ठेक्का विवादमा

भ्याटमा दर्ता हुनुपर्ने शर्त राखेको भन्दै एयरलाइन्स सञ्‍चालकले गरे विरोध

काठमाडौँ - कर्णालीका जिल्लाहरूमा खाद्यान्न ढुवानी गर्न खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खुलाएको ठेक्का विवादमा परेको छ । आर्थिक वर्ष २०७८/२०७९ को लागी नेपालगन्ज हवाई मैदानदेखि हुम्ला सिमिकोट हवाई मैदानसम्म र सुर्खेत हवाई मैदानदेखि हुम्ला सिमिकोट हवाई मैदानसम्म 'खाद्य वस्तु ढुवानी गराउन' कम्पनीले साउन १५ मा बोलपत्र आह्वान गरेको थियो ।

बोलपत्रमा हवाई जहाज कम्पनी हुनका लागी प्रकाशित शर्त बन्देजहरु मध्ये मुल्य अभिवृद्धि करमा दर्ता भएको हुनुपर्ने शर्त कानुन विपरित रहेको भन्दै वायुसेवा सञ्‍चालक नेपालले विरोध जनाएको छ । प्रतिस्पर्धालाई सीमित गरी निश्चित विचौलियालाई मात्र बढी दरमा ढुवानीको ठेक्का दिने बदनियत पूर्ण उदेश्यले प्रायोजित गरिएको उनीहरूको आरोप छ । एयरलायन्स सञ्‍चालकहरूको संस्थाले विज्ञप्तिमा लेखेको छ, 'कम्पनीको व्यवस्थापनले असल नियतले उक्त सुचना प्रकाशित गरेको आधार देखिदैन ।'

मुल्य अभिवृद्धि कर ऐन २०५२ को दफा १० को उपदफाले अनुसूची १ मा उल्लेख गरिएको सेवाहरू भ्याटमा दर्ता हुनु नपर्ने व्यवस्था गरेको उल्लेख छ । वायुसेवा कम्पनीहरूलाई सार्वजनिक खरिद प्रक्रियामा सामेल नगराउन हवाई मार्गबाट खाध्य वस्तु ढुवानी गर्दा वायुसेवा कम्पनीहरुलाई बोलपत्र प्रक्रियामा सहभागी नगर्ने दुराशय पूर्ण रणनीतिको रुपमा अनिर्वाय रुपमा भ्याट दर्ता प्रमाण पत्र मागिएको संघको ठहर छ । 'गैर कानुनी बोलपत्र आव्हानमा जानाजानी त्यस कम्पनीको कर्मचारीको संलग्नता देखिएको' भन्दै संघले छानविन गरी कारवाहीको माग गरेको छ ।