शनिबार ०३ जेठ, २०८२
Saturday, May 17, 2025

एडिबीमा निर्देशकको सहयोगी पठाउँदा अर्थमन्त्री विवादमा तानिएका न्यौपाने को हुन् ?

काठमाडौँ - एसियाली विकास बैंक (एडीबी) का निर्देशकको सल्लाहकारको सहयोगीमा मनोनयनका लागि हुने सिफारिशमा धेरैको चासो हुन्छ । एडीबीको निर्देशकको सहयोगीका रूपमा काम गर्ने एडीबीको मुख्यालय मनिला जान लागेका शाखा अधिकृत भीमकान्त न्यौपानेलाई अहिले अर्थमन्त्रीका भाञ्जी ज्वाइँका रूपमा प्रचार गरिएका छन् । तर मन्त्री शर्माको पारिवारिक स्रोतले न्यौपाने मन्त्री शर्माको ज्वाइँ नरहेको बताएको छ । शर्माका तीन बिहिनी रहेको र ती तीनै बिहिनीका छोरीसँग न्यौपानेको वैवाहिक सम्बन्ध नरहेको बुझिएको हो । 

न्यौपाने शिशिर ढुङ्गाना अर्थसचिव छँदा अर्थसचिव कार्यालयमा कार्यरत थिए । एडीबीको निर्देशकमा भने सरकारले यसअघि सहसचिवहरूलाई पठाउने गरेकोमा अघिल्लोपटक मुख्यसचिव सोमलाल सुवेदी आफैं निर्देशकको जागिर खान एडीबी मुख्यालय पुगेका थिए । 

मन्त्रिपरिषद्‌ले एडिबीका निर्देशकको सल्लाहकारका सहयोगी पदमा मनोनयन गरेको थियो ।  शाखा अधिकृत न्यौपानेलाई मनोनयन गरेको विषयमा विवादमा समेत पर्‍यो । अर्थमन्त्री शर्माको नातेदारलाई यस्तो जिम्मेवारीमा पठाएको भन्दै आलोचना भएको थियो । 

न्यौपानेको सेवा सुविधा हालसम्म तय नभइसकेको मन्त्रालयले जानकारी दिएको छ । पूर्वमूख्यसचिव सोमलाल सुबेदी र पूर्व राजस्व सचिव रामशरण पुडासैनी सचिव पदमा बढुवा हुनुभन्दा पहिले सह-सचिवस्तरबाट यस पदमा नभई एशियाली विकास बैंकको वैकल्पिक कार्यकारी निर्देशकमा मन्त्रिपरिषद्‌बाट मनोनयन भएको थियो ।

करिब ११ वर्ष अधिकृतको रूपमा सेवा गर्ने क्रममा पटक पटक गरी आधा समय अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखा एवं अर्थ सचिवको सचिवालयमा कार्यरत थिए ।  न्यौपानेलाई २०७४ सालमा अर्थ मन्त्रालयले उत्कृष्ट निजामती कर्मचारी पुरूस्कारको लागि सिफारिश गरेको थियो ।

२०७६ साल फागुनमा शिशिरकुमार ढुङ्गाना अर्थ सचिव भएपछि बजेट तथा कार्यक्रम महाशाखासँग सम्बन्धित फाइलको विषयमा सल्लाह, सुझाव एवं सहयोगका लागि सचिवालयमा राखिएको थियो । डा. युवराज खतिवडा र विष्णुप्रसाद पौडेलको कार्याकालमा समेत न्यौपानेले आर्थिक वर्ष २०७७/७८ र २०७८ / ७९ को बजेट तर्जुमाको क्रममा बजेट लेखनमा काम गरेका थिए ।