आइतबार ०८ असार, २०८२
Sunday, June 22, 2025

अफगानी सरकार र तालिबान छलफलमा, अमेरिकालाई आफ्ना नागरिक घर फर्काउन भ्याइ नभ्याई

काठमाडौँ-तालिबानी लडाकुहरू आइतबार अफगानिस्तानको राजधानी काबुल प्रवेश गरेका छन् । अमेरिकी राजदूतावासका कर्मचारीहरू घर फर्कन पालो पर्खेर काबुल विमानस्थलमा रहँदा तालिबानले असरफ घानीको सरकारलाई आत्मसमपर्ण गर्न भनिरहेको छ ।  

उता अफगानी सरकारको चाहना भने, अन्तरिम सरकार बनाउने छ । उसको चाहनासँग तालिबान सहमत हुन्छ वा हुँदैन, अहिलेको मुख्य जिज्ञासा यही हो । तालिबान काबुल फर्केसँगै अफगानी नागरिक क्रसित बनेको अमेरिकी समाचार एजेन्सी एपीले लेखेको छ । तालिबानले आफ्नो पुरानो रुप देखाउँछ भन्ने डर काबुलीको छ । 

तालिबानले अफगानी शासन सत्ता आफ्नो हातमा लिनु अघि नै मुलुक छाड्न चाहनेको संख्या अत्याधिक छ । काबुलमा मानिसहरू ट्राभल डकुमेन्ट बनाउन देखि एटीएमबाट पैसा झिक्न लामो लाईनमा उभिएका छन् । काबुली भुईमा लाईन लागिरहँदा काुबलका आकाशमा कयौँ हेलिकप्टर उडिरहेका छन्, पश्चिमा मुलुकका नागरिकहरूलाई विमानस्थल पुर्‍याउन ।

पछिल्लो सात दिनमा अफगानिस्तानमा नाटकिय रुपमा तालिबान अत्याधिक बलियो बनेको देखियो । अमेरिकी सरकारले करौडौँ खर्च गरी तालिम र हात हतियारले सुसज्जित गरेको अफगानी सेना तालिबानका अघि लुरे देखिएको छ । अमेरिकी खुफिया खएजेन्सीहरू नै यसबेला अफगानिस्तानमा के भइरहेको छ भन्ने बारेमा बेखबर देखिएका छन् । केही दिन अघि उनीहरूले एउटा प्रक्षेपण गरेका थिए, तालिबान काुबल आइपुग्न करिब एक महिना लाग्नेछ । तर उनीहरूको यो अनुमान फेल भयो । 

अमेरिकी वायु सेनाको मद्दतमा चलिरहेका अफगानी सेनालाई तालिबानले अफगानिस्तानका अधिकांस भागबाट पछाडि धकेल्यो । अफगानी सेना धकेलिँदै काुबलमा मात्र सीमित भएको छ । तालिबान आइतबार नै काबुलको बाहिरी भागसम्म पुगेको हो । केही राउण्ड गोली चले पनि काबुल पुग्दै गरेका तालिबानी लडाकु शान्त नै देखिएको एपीले जनाएको छ । 

तालिबानका प्रवक्ता सुहेल शाहिनले अल जजिरासँग भनेका छन्, ‘हामीहरू शान्तिपूर्ण सत्ता हस्तान्तरणका लागि पर्खिरहेका छौँ,’ उनले अफगानिस्तान सरकारसँग वार्ता भइरहेको बारेमा भने केही टिप्पणी गरेनन् । यद्यपि उनले आफूहरू अफगानी सरकारले आत्मसमपर्ण गर्नुपर्छ भन्‍ने धारणमा दृढ रहेको बताए । 

तालिबानको एक टोली अफगानी राष्ट्रपति कार्यलयतर्फ गएको पनि बताइएको छ । उनीहरूले अफगानी राष्ट्रपति घानीसँग सत्ता हस्तान्तरणका विषयमा छलफल गर्ने बताइएको छ । तर हस्तान्तरणको विधी के हुने भन्नेबारेमा भने अन्योलता छ । 

तालिबानसँगको छलफलका लागि अफगानी सरकारका तर्फबाट पूर्व राष्ट्रपति हमिद कारजाई र अर्का प्रभावशाली राजनीतिज्ञ अब्दुल्लाह अब्बदुल्लाह पनि सहभागी छन् । केही महिनाअघि सम्म तालिबानसँग कुनै हालतमा वार्ता नगर्ने भन्‍ने गरेका राष्ट्रपति घानीका आलोचक हुन् अब्बदुल्लाह । 

सत्ता पक्ष र तालिबानबीच छलफल भइरहँदा काबुलमा शान्ति सुरक्षाको स्थिती मजबुद रहेको सन्देश दिन खोजिएको छ । अफगानी सरकारका निमित्त रक्षा मन्त्री बिस्मििल्लाह खानले काुबलीलाई सुरक्षाका विषयमा चिन्ता नगर्न सन्देश दिएका छन् । उता तालिबानले आफ्ना लडाकु काबुलीहरूको घरमा नछिर्ने बताएको  । उसले काुबल सरकार वा विदेशीका लागि काम गरिरहेका नागरिकहरूलाई पनि केही नगरिने प्रतिबद्धता जाहेर गरेका छन् । एपीको सहयोगमा