शनिबार ०३ जेठ, २०८२
Saturday, May 17, 2025

सेयर धितो कर्जामा कडाइपछि नेप्सेमा बिक्रीको चाप, एकै दिन २१ अर्ब ६४ करोडको कारोबार

काठमाडौँ– शुक्रबार जारी भएको चालु आर्थिक वर्षको मौद्रिक नीतिले सेयर धितोमा प्रदान गरिने कर्जामा कडाइँ गरेपछि त्यसको प्रभाव सेयर बजारमा देखिएको छ । आइतबार बजारमा सेयर बिक्रकिो चाप बढेको छ । 

मौद्रिक नीतिले सेयर धितोमा एउटा वित्तीय संस्थाबाट चार करोड रुपैयाँसम्म र कुल १२ करोड रुपैयाँसम्म मात्र ऋण लिन पाउने व्यवस्था गरेको थियो । त्यसको प्रतिक्रियास्वरुप सेयर बजारमा किन्ने भन्दा बिक्री गर्ने बढेका छन् । आज सेयर मूल्य मापन गर्ने नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक २४.८८ अंकले घटेर ३,१५४.०३ बिन्दूमा आइपुगेको छ । यद्यपि मौद्रिक नीतिको यो व्यवस्थाले बजारको प्रवृत्ति के हुनेछ भनेर अहिले नै मूल्यांकन गर्न नसकिने पुँजी बजारका जानकार प्रकाश रजौरियाले बताए । 

आइतबार सेयर बजारमा सूचीकृत ‘क’ वर्गका कम्पनीहरूको सेयर मूल्य मापन गर्ने सूचक, सेन्सेटीभ इन्डेक्स १.९ अंकले घटेको छ ।  आज सेयर बजारमा म्यानुफ्याक्चरिङ्ग एण्ड प्रडक्सन, लघुवित्त र इन्भेष्टमेन्ट समूहको परिसूचकबाहेक सबै परिसूचक ओरालो लागेका छन् । 

जलविद्युत कम्पनी समूह परिसूचक सबैभन्दा बढी ४.१३ प्रतिशतले घटेको छ । त्यस्तै विकास बैंक र वित्त कम्पनी समूहका परिसूचक पनि क्रमशः २.७९ र २.८९ प्रतिशतले घटेको छ । 

आज नेप्सेमा कारोबार भएकामध्ये १२६ कम्पनीको सेयर मूल्य घटेको छ भने ५९ ओटाको मात्र मूल्य उकालो लागेको छ । आइतबार नेप्सेमा २२२ कम्पनीका २१ अर्ब ६४ करोड ७६ लाख रुपैयाँ मूल्यका तीन करोड ५५ लाख ५० हजार ६ सय ८८ कित्ता सेयर एक लाख ८९ हजार सात सय ३६ ओटा कारोबारबाट खरिदबिक्री भएका छन् ।