संसद्मा ओलीमाथि गगनको कटाक्ष : कठैबरा राजनीतिक प्रणालीबारे थाहै रैनछ
काठमाडौँ - नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई राजनीतिक प्रणाली र पद्धतिबारे थाहा नभएको भन्दै टिप्पणी गरेका छन् । आज(शुक्रबार) प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद थापाले ओलीलाई प्रतिपक्षीकै हैसियतमा सुहाएको बताएका हुन् ।
‘उहाँ(ओली) यहाँ आइराख्नुपर्छ । प्रश्न गरिरहनु पर्छ । प्रश्न किन कस्ले गरेको हेरिन्छ,’ उनले भने, ‘मलाई विश्वास गरेर नागरिकले मत दिएको भनिरहँदा मैले मनमनै भनेँ । कठै बरा राजनीतिक प्रणालीको बारेमा थाहा रैनछ । यो प्रधानमन्त्रीय प्रणाली होइन । यहाँ सांसद जनताले चुनेर माननीय बनाउँछन् । माननीयले मनलाग्नेलाई सम्माननीय बनाउँछन् यहाँ राख्छन् । नलाग्नेलाई उता पठाउँछन् ।’
२०८ सांसद हुँदा के गर्नु भयो ?
मंगलबार एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले सम्बोधन गर्दा नेपाली भूमि कहिले फिर्ता ल्याउने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई गरेको प्रश्नको पनि थापाले खण्डन गरेका छन् । थापाले ओलीले एमसीसी के गर्नुहुन्छ भनेर सोधेको प्रश्नमा प्रतिप्रश्न गरेका छन् ।
‘उहाँ (ओली)ले भन्नु भो भूमि फिर्ता कहिले आउँछ ? यसो गनेर हेरेको एक पक्ष, दुई पक्ष अनेकौँ पक्षका वर्ता भएछ भारतसँग । एक पटक चुइँक्क भूमिको बारेमा बोल्नु भएन,’ उनले भने, ‘ १६५ सांसद छ अब एमसीसी के गर्छाै भनिरहँदा यसो सम्झेको उहाँसँग त २०८ रहेछ । २०८ हुँदै गर्दा के गर्नु भएको थियो होला ?’
संवैधानिक निकायलाई पंगु बनाउने ?
ओलीले भ्रष्टाचारको विषयमा कुरा गर्दा आफू झुक्किएको भन्दै थापाले संविधानलाई पंगु बनाएको भन्दै आक्रोश व्यक्त गरे । ‘सबैभन्दा छक्क परेको उहाँले भ्रष्टाचारको कुरा गर्दा । म त झुक्किएँ । माननीय हुँदा होइन जतिखेर सम्माननीय हुनुहुन्थ्यो त्यतिखेर दिनको एउटा काण्ड गराउने, काण्डलाई ढाकछोप गर्ने । काण्ड गर्नेलाई जोगाउने, अनि काण्डको छानबिन गर्न संविधानले बनाएको निकायलाई पंगु बनाउने गर्नुभयो,’ उनले थपे, ‘विद्येयकको कुरा गर्नु भयो । बनाउनुपर्ने कानुन बनाउँदै नबनाउने । नबनाउनुपर्ने कानुन एकपछि अर्काे बनाउने । बनाएर संसद्तिर आयो भने बाटोमै छेक्दिने ।’
थापाले पञ्चायतकालपछि पहिलो पटक सत्तापक्षले नै सडकमा शक्ति प्रदर्शन गरेको भन्दै ओलीमाथि टिप्पणी गरे । उनले ओलीले आफूले संयमता अपनाएर, सजक भएर सरकार सञ्चालन गरेको भन्ने गरेको भन्दै आपत्ति पनि जनाए । त्यस्तै ओलीले आफू सरकारमा हुँदा संविधानले नै व्यवस्था गरेको प्रतिपक्षीलाई ‘आउट’ गरेको आरोप पनि लगाए ।
गठबन्धनको यत्रो चिन्ता ?
ओलीले अहिले गठबन्धनको सरकार के कारणले बन्यो भन्ने कुरा अझै हेक्का नगरेको बताए । गठबन्धन बन्यो भनेर चिन्ता गर्ने ओलीले दुई तिहाइ नजिकको केन्द्रको प्रदेशको सरकार आफ्नै अहंकारको कारण गएको भनेर अझै किन नसम्झिएको भनेर प्रश्न गरे ।
‘गठबन्धन भित्रियो भनेर कत्रो चिन्ता ? यो सिंगो संसद्बाट करिब करिब दुई तिहाइको सरकार थियो । एउटै पार्टीको बहुमत भएको सरकार थियो,’ थापाले भने, ‘यहाँमात्रै होइन प्रदेशमा पनि थियो । जताततै गठबन्धन मेरै अहंकारको कारणले आएको हो भनेर सम्झनु भयो कि भएन होला ?’
आफ्नै उपचार गर्न सरकारको ढुकुटीमा हात फैलाउनेले पार्टी कार्यालयमा बोलाउने ?
ओलीले नेपालका विभिन्न राजनीतिक घटना तथा द्वन्द्वमा परेर घाइते भएकाहरुलाई उपचारको लागि आफूले व्यवस्था मिलाउने भनेको प्रति पनि थापाले कटाक्ष गरे । उनले भने, ‘मलाई उद्येयक कतिखेर लाग्यो भने ए घाइते योद्धाहरु सरकारले तिमिहरुको उपचार गरेन भने मेरो पार्टी कार्यालय आउ भनेर भन्नु भयो । यसो भनिरहँदा कठै बरा आफ्नै उपचार गर्न त सरकारको ढुकुटीमा गएर हात फैलाउनुपर्नेले पार्टी कार्यालयमा आए कसरी उपचार गराउलान् ? मैले सम्झिएँ ।’
परमादेश सरकार भन्ने सांसदलाई यस्तो जवाफ
अहिले नेकपा एमालेका सांसदहरुले सरकारको विषयमा बोल्ने बित्तिकै परमादेशबाट बनेको सरकार भनेर सुरु गर्छन् । बिहीबारको प्रतिनिधि सभामा पनि त्यो चलिहाल्यो । तर, थापाले परमादेशबाट बनेको सरकार भन्नेलाई जवाफसँगै प्रश्न पनि गरे ।
‘यहाँ एक जना माननीयज्यूले परमादेशको सरकार भन्नु भयो । उहाँ त्यही परमादेशको आधारमा यहाँ आउनु भएको छ । थपक्क बस्नु भएको छ । कोही जानेवाला हुनुहुन्न राजीनामा दिएर । बिल्ला लाएरै आउनुहुन्छ’ उनले भने । एमालेका सांसदहरुलाई प्रतिपक्षीमा बस्न गाह्रो भएको विषयमा उनले व्यंग्यात्मक टिप्पणी गरे । ‘बोसो लागेको बेलामा प्रतिपक्षमा बस्न गाह्रो हुन्छ । केही समयपछि बानी पर्छ ।’
सरकार सही मति, द्रुत गतिमा हिँड्नु पर्छ
थापाले केपी ओलीले संसद्मा सोधेको प्रश्नको जवाफ अहिलेको सरकारले दिनुपर्ने बताए । ओलीले बोल्दै गर्दा आक्रोश, क्रोध, कुण्ठा जेजे भए पनि अहिलेको सरकारले सबैको जवाफ कामबाट दिनुपर्ने बताका हुन् ।
‘उहाँ (ओली)को प्रश्नमा थुप्रै आक्रोश थियो, क्रोध थियो, इष्र्या थियो । रिस, कुण्ठा थियो । तर, पनि म सरकारलाई भन्न चाहन्छु प्रतिपक्षले गरेको प्रश्न निम्सरो होइन । प्रश्न प्रश्न नै हो । प्रश्नलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्छ,’ उनले प्रधानमन्त्री देउवालाई आग्रह गर्दै भने, ‘एउटा एउटा प्रश्नको उत्तर यो नयाँ सरकारले दिनुपर्छ । तर, गफ र कुराबाट होइन कामबाट । एक्सनबाट दिनुपर्छ । साझा न्यूनतम कार्यक्रम आयो । एउटा दिशा आयो । जनता अब सरकारको दिशा हेरेरमात्रै चित्त बुझाउँदैनन् । सही मतिबाट द्रुत गतिमा सरकार हिँडेको हेर्न चाहन्छन् ।’
मन्त्रिपरिषद्लाई पूर्णता किन नदिएको ?
थापाले सरकार गठन भएको महिनादिन बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता नपाएको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न गरे । थापाले कोभिड महामारीको समयमा खोप, खोपको व्यवस्थापनसँगै अन्य क्षेत्रमा सरकारले कत्तिको ध्यान दिएको छ भनेर पनि सोधे ।
‘प्रधानमन्त्रीलाई मेरो प्रश्न मन्त्रिपरिषद्लाई पूर्णता किन नदिएको ? यत्रो दिनसम्म भित्रका राजनीतिक खटपट के छ जनतासँग सरोकार हुने विषय होइन । द्रुत गतिमा मन्त्रिपरिषद्लाई पूर्णता दिनुपर्छ,’ उनले भने, ‘खोपको प्राथमिकता सरकारले ठिक ढंगबाट लिएको छ । व्यवस्थापनमा ध्यान दिनुपर्छ ।’
चाडवाड नजिकै आएको भन्दै थापाले त्यसको लागि पनि सतर्क भएर लाग्नुपर्ने बताए । ‘दशैँमा भारतको खुला सीमाबाट लाखौँ लाख मानिस आउँछन् । काठमाडौँबाट गाउँ जान्छन् । हामी चैतमा खोप पुर्याउने कुरा गर्दैछौँ । कति प्रतिशतले असोज, कात्तिकमा खोप पाउँछन् ?,’ स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई प्रश्न गर्दै उनले भने, ‘हामीले खोपबाहेक अरु गर्नुपर्ने पूर्व तयारी कति गरेका छौँ ? कोभिडको कारणले देखिएको स्वास्थ्य क्षेत्र थला परेको छ । गैरस्वास्थ्य क्षेत्र बाँकी छ ? कृषि, स्वास्थ्य, सेवा, पर्यटन हेर्नुस त। कति मान्छे कंगाल बनेका छन् । घरबार डुबेको छ । यो क्षेत्रमा ठोस काम गर्नुपर्छ कि पर्दैन ?

राष्ट्रिय सभाबाट दुई विधेयक पारित

पाँच हजार अमेरिकी डलर बराबरको मुद्रा भारतबाट ल्याउन सक्ने व्यवस्था छः अर्थमन्त्र…

‘खेलकुद क्षेत्रको विकासलाई सरकारले प्राथमिकतामा राखेको छ’

निजामती विधेयक प्रकरणः छानबिनका लागि सभामुखलाई अनुरोध

लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार बजेट आएको छः अर्थमन्त्री पौडेल

‘विद्यालय शिक्षा विधेयक शीघ्र आउँछ’

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको अर्को सूचना जारी नभएसम्मका लागि बैठ…

प्रतिक्रिया