भारतमा फिल्म हल खुले, खुलेनन् दर्शक

मुम्बई : भारतमा सात महिनायता बन्द सिनेमा हल शुक्रबारबाट खुले । केन्द्र सरकारले बिहीबारदेखि नै हल खोल्ने अनुमति दिएको थियो । यसको आधारमा बिहीबारै पनि केही सिनेमा हल खुले । महामारीको अवस्था हेरी राज्य सरकारले खोल्ने नखोल्ने निर्णय गर्न पाउने अधिकार पनि केन्द्र सरकारले दिएको थियो । यही अधिकार प्रयोग गरी महाराष्ट्र सरकारले हल खोल्न दिएको छैन । जबकि हिन्दी भाषी सिनेमाका लागि यो सबैभन्दा ठूलो बजार मानिन्छ । बलिउडको मुटु मानिने मुम्बईसमेत यही राज्यमा पर्छ ।
२ सय दिनदेखि मानिसहरू घरमा थुनिएका थिए । धेरैको अनुमान थियो, घरबस्दा बस्दा वाक्क भएका मानिस हल खुल्ने बित्तिकै त्यता दौडन्छन् । तर, पहिलो दिन त्यस्तो कुनै लक्षण देखिएन । मल्टिप्लेक्स हुन् वा सिंगल थिएटर, दुवैमा १५ जनाभन्दा बढी दर्शक नआएको हलले रिपोर्ट दिए । तर, यो दर्शक संख्या अनपेक्षित नरहेको फिल्म विश्लेषकले बताएका छन् । विश्लेषकहरू भन्छन्, ‘सिनेमा हल साघुँरो ठाउँ हो । भाइरसबाट संक्रमित हुने डर अझै मानिसहरूको मनबाट जान सकेको छैन ।’
मनोरञ्जन भारतमा पनि गाँस, बाँस र कपासपछि मात्र प्राथमिकतामा आउने चिज हो । लामो लडडाउनका कारण मानिसको खर्च गर्ने क्षमतामा पनि व्यापक कटौती आएको छ । गाँसकै लागि संघर्ष गरिरहेको समयमा मानिसहरू मनोरञ्जनका लागि हल जाने ‘मुड’मा छैनन् । भारतमा मात्र होइन विदेशतिर पनि गत महिना ‘टेनेट’ र ‘मुलान’ रिलिज हुँदा हलमा दर्शकको चाप देखिएको थिएन ।
नयाँ तथा स्टारकास्टले भरिएका फिल्म रिलिज नहुँदा दर्शक हलमा नदेखिने हल सञ्चालकको अनुमान थियो । भयो पनि त्यस्तै । शुक्रबार रिलिज भएका मध्ये केही सिनेमा पहिला रिलिज भएर उत्रिसकेका हुन् भने केही सिनेमा ओटिटी (ओभर दि टप प्लेटफर्म) मा रिलिज भइसकेका हुन् । राम्रा र नहेरेकै सिनेमा भए पनि ‘रिपिट’मा चलेका सिनेमामा दर्शक झुम्मिन्नन् । यसमा कतिपय मल्टिप्लेक्सले त ओटिटीमा आइसकेका सिनेमा आफूहरूले चलाउँदै नचलाउने घोषणा गरेका थिए ।
दर्शकले यो समयमा हल खुलेको–नखुलेको पनि जानकारी पनि पाएनन् । भारतमा नयाँ फिल्म रिलिज हुँदा हलले पत्रिका वा अनलाइनमा चल्ने फिल्म र सो समयको राम्रै विज्ञापन गर्छन् । तर, शुक्रबार कुन फिल्म चल्दैछ, दर्शकले पत्तै पाएनन् । भर्चुअल प्रिन्टिङ फी (भिपिफी) को विवादका कारण खोल्ने अनुमति पाए पनि कतिपय हल खुलेका छैनन् । निर्माताले नयाँ परिस्थितिमा भिपिफी चार्ज हलले नै बेहोर्नु पर्ने सर्त अगाडि सारेपछि हल संचालक, हल खोल्न हच्किएका छन् ।
फिल्म इन्कोडिङ गरेवापत् निर्माताले ३ सय देखि ५ सयसम्म प्रति सो हललाई बुझाउनु पर्छ । कतिपय अवस्थामा भने यो पैसा स्क्रिनका हिसाबले पनि बुझाउने प्रचलन छ । यसका लागि निर्माताले प्रतिहप्ता २२ हजारदेखि २५ हजारसम्ममा एउटा फिल्मको बुझाउँछन् । इन्कोडिङ गरेर कोड जेनेरेट गरेको पैसा भने निर्माताले युएफओ र क्युबजस्ता कम्पनीलाई एकमुष्ट बुझाउँछन् ।
दर्शक हलमा बोलाउन सिनेमा हलले टिकटदर कम गर्नुपर्ने धेरैको राय छ । मल्टिप्लेक्समा टिकटदर ९९ सय कायम गर्ने हो दर्शक हलसम्म तान्न सकिने उनीहरूको तर्क छ । यति हुँदा हुँदै पनि नयाँ फिल्म रिलिज नहुँदासम्म दर्शक चाप देखिने सम्भावना छैन । तर, सबै सिट भरिने गरी दर्शक आउने वातावरण नबनेसम्म निर्माता पनि नयाँ फिल्म रिलिजका लागि ‘रिस्क’ लिन तयार देखिन्नन् ।
शुक्रबारबाट भारतमा ‘खाली पिली’, ‘केदारनाथ’, ‘तान्हाजी’ ‘सुरज पे मंगल भारी’, ‘पिएम नरेन्द्र मोदी’, ‘थप्पड’, ‘शुभमंगल ज्यादा सावधान’,‘ मलंग’ आदि बलिउड फिल्म रिलिज भएका छन् । शुक्रबार नै केही हलिउड फिल्म पनि रिलिज भएका थिए ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया