इतिहास शुद्धीकरण अभियानका आरम्भक नयराज

नेपालको इतिहास लेखनमा संशोधन मण्डलको योगदान उल्लेखनीय तथा प्रशंसनीय रहेको छ । प्रकाशित ऐतिहासिक सामग्री तथा ग्रन्थमा रहेका कमी–कमजोरी औंल्याउने र इतिहासमा शुद्धता कायम गर्न वैज्ञानिक लेखनविधि अपनाउने दिशामा मात्र होइन, त्यस ध्येयका निम्ति सङ्गठित प्रयास गर्ने नूतन परम्पराको सूत्रपातकर्ताका रूपमा पनि यस संस्थाको विशिष्ट महत्त्व रहन गएको देखिन्छ ।
संशोधन मण्डलका आरम्भक नयराज पन्त नै हुन् । प्रकारान्तरले नेपाली इतिहासको श्रीवृद्धिमा श्री पन्तको प्रभावकारी, मूल्यवान् र निर्णायक एकल योगदान रहेको मानिने स्थिति बनेको छ । इतिहास लेखनमा शुद्धता, वैज्ञानिकता र निष्पक्षता रहनुपर्दछ भन्ने मान्यताको स्थापनाका लागि मात्र उनलाई त्यत्तिका विशेषण दिइएको छैन बरु त्यसका लागि समर्पण, सदाचारी र अविश्रान्त प्रयासका लागि पनि पन्त स्तुत्य रहेका छन् । यस्ता विद्वत् व्यक्तित्वबारेमा हामीले दिएको परिचय अधुरो रहने डरले पन्त स्वयंले आफ्ना विषयमा खिचिराखेको शब्दचित्र नै यहाँ प्रस्तुत छ :
मेरो जन्म वि.सं. १९७० श्रावण २६ गते आइतबार श्रावण शुक्ल नवमीमा काठमाडौं, महाबौद्धमा भएको हो । मेरा पिताजी पं. कृष्णदत्त पन्त रानीपोखरी संस्कृत पाठशालामा पढाउनुहुन्थ्यो । वि.सं. १९७१ माघ २७ गते मङ्गलबार फाल्गुन कृष्ण एकादशीमा उहाँको स्वर्गवास भयो । त्यस बेला म ट्वाक्क डेढ वर्षको थिएँ । मेरा मातामह पं. भुवननाथ पाण्डे माहिला गुरुज्यू हेमराजको आश्रयमा हुनुहुन्थ्यो । मेरा पिताजीको स्वर्गवास भएपछि मेरी आमा चिनिमैया (यज्ञप्रिया) निराश्रय भई माइतमा बस्न लाग्नुभयो । मेरा मातामह पं. भुवननाथ पाण्डे रानीपोखरी संस्कृत पाठशालामा ज्यौतिष पढाउनुहुन्थ्यो । वि.सं. १९६० मा चालीस वर्षको उमेरमा उहाँलाई पत्नीवियोग पर्यो । त्यसपछि उहाँले अर्को विवाह गर्नुभएन । म पाँच वर्षको भएपछि उहाँको कोठामा बस्न र सुत्न लागेँ ।
उहाँ पाठशालामा पढाउन जाँदा मलाई हात समाती डोर्याएर पाठशाला लग्नुहुन्थ्यो । यस आत्मस्वीकृतिले के जनाउँछ भने पन्त एक टुहुरा बालक थिए । र आमाको माइतीघरमै बढे हुर्केका थिए । त्यहाँ उनले आफ्ना मातामहको संरक्षण मात्र होइन सही निर्देशनसमेत पाए र त्यो निर्देशन अत्यन्त आदर्शमय एवं प्रेरणादायी रह्यो । किनभने पं. भुवननाथ पाण्डे स्वयं एक आदर्शपुरुष थिए र प्रातः तीन बजेतिर उठी नुहाई श्रीमद्भागवतको गजेन्द्रमोक्ष र अरू स्तोत्रहरू कण्ठस्थ पाठ गर्दथे । यो उनको नित्य नियम पनि थियो । त्यसबाहेक पाण्डेले श्री ३ चन्द्रशमशेरका पालामा निजका आश्रित राजगुरु हेमराज पण्डितको संलग्नतामा नेपालको समाज र इतिहासको अन्वेषणमा यहाँ आइपुगेका फ्रान्सवासी सिल्भाँ लेभीसँग पनि मिलेर कार्य गरेका थिए ।
तिनताका यिनीहरूले नेपालका अभिलेखमा देखिएका पौषको अधिमासको विषयमा खोजीनिती गर्न चाहेका थिए । यस सम्बन्धमा श्री पन्तले ‘मेरा मातामहले पौषको अधिमासको खोजी आफ्नो जिज्ञासाको वश परी गर्नुभएको होइन, हेमराजको आज्ञाले नै गर्नुभएको हो । जे भए तापनि मेरो बालहृदयमा अधिमासको यस खोजीले नेपालको इतिहासको विषयमा रुचि पैदा गरिदियो’ भनी स्पष्ट पारेका छन् । त्यस्तै, पन्तका मातामहको इतिहासप्रतिको जिज्ञासु प्रवृत्तिको पनि उनको बालसुलभ मस्तिष्कमा प्रभाव पर्ने गरेका प्रसङ्गहरू पनि आउने गरेका छन् । त्यस्तै एउटा प्रसङ्गबारे उनले यस प्रकार वर्णन गरेका छन् :
मेरा मातामह प्रायः पुराना कागजपत्र हेर्नुहुन्थ्यो । उहाँका प्रपितामह दैवज्ञशिरोमणि लक्ष्मीपति पाण्डे (वि.सं. १८१५–८८) जैसीकोठा (परराष्ट्रविभाग) को तालुकवाला हुँदा काम गरेका केही कागजपत्र मेरा मातामहकहाँ थिए । ती कागजपत्रबाट आउने इतिहास उहाँ हामीलाई बारम्बार सुनाइरहनुहुन्थ्यो । यताबाट गोर्खाली राजवंशको केही इतिहास सात–आठ वर्षमै मलाई आयो । श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहका जेठा छोरा श्री ५ महाराजाधिराज प्रतापसिंह शाहको शुद्ध नाम सिंहप्रताप वा प्रतापसिंह के हो भन्ने कुरामा मेरा मातामहलाई सन्देह उठेछ र त्यसको खोजी गर्न उहाँ लाग्नुभएछ । खरिदार बाबुराम आचार्य (पछि ऐतिहासिक शिरोमणि) सँग पनि उहाँको यस विषयमा कुरा भएछ । खरिदार बाजेले प्रतापसिंह तथा सिंहप्रताप दुवै नामका टक पाइन्छन् र दुवै नाम शुद्ध हुन्छ भनी भन्नुभएछ । मातामह त्यसपछि गोर्खाली राजाहरूका प्रत्येक वर्षका टकहरूको सङ्ग्रह गर्न लाग्नुभयो । प्रतापसिंह राजा भएदेखिन् नमरेसम्मका प्रत्येक वर्षका टकहरू यसै प्रसङ्गमा जम्मा भए तथा उनका लालमोहरहरू पनि सक्कल–नक्कल पाइएजति संगृहीत भए । प्रतापसिंहले बनाएको भनी प्रख्यात भएको ‘पुरश्चर्यार्णव’ त उहाँ बराबर हेरिरहनुहुन्थ्यो । वसन्तपुर दरबारको अभिलेखमा पनि उहाँको आँखा परेछ । यताबाट शुद्ध नाम प्रतापसिंह नै हो, सिंहप्रताप अशुद्ध हो भनी उहाँले निर्णय गर्नुभयो ।
गुरुज्यू हेमराजकहाँ पनि उहाँले यो कुरा भन्नुभएछ । गुरुज्यू बाजेले बाबुराम नबुझीकन बोल्ने मान्छे होइनन् भनी भन्दा मेरा मातामहले सिंहप्रतापको टक कसैले देखाउन सक्यो भने म दश रुपियाँ राखी त्यस टकको दर्शन गर्छ भन्नुभएछ । इत्यादि कारणले गर्दा नेपालको इतिहासमा मेरो बालककालदेखि नै रुचि र केही ज्ञान पनि भयो ।
०००
एउटा अर्को प्रसङ्गमा पन्तले आफ्ना बारेमा यो सविस्तार दिइराखेका छन् :
...यसपछि वि.सं. १९८० तिर म मेरा मामा मास्टर मेरुनाथ पाण्डेका साथमा स्रेस्ता पाठशालामा पढ्न पुगें । यहाँ मेरा चार जना गुरु हुनुहुन्थ्यो– मेरा मामा, मास्टर ललितनरसिंह जोशी, मास्टर जगत्मान प्रधान, हाकिम मास्टर दिव्यमान जोगी । स्रेस्ता पाठशालामा मैले चार वर्षजति पढेँ । उनताकाको नियमअनुसार हिसाब, औंठा, स्रेस्ता, लेखासमेत चार पास दिएँ, लेखाबाहेक अरूमा म पास भएँ । स्र्रेस्ता पाठशालामा पढ्दै मैले मेरा मामाका साथी श्रीगुरु तीर्थप्रसाद नेपालसँग उहाँको घरमा अलिकता अङ्ग्रेजी पढें । उहाँ म्याट्रिक परीक्षामा उत्तीर्ण हुनुहुन्थ्यो । मेरा मामाको लिहाजले उहाँले मलाई चार वर्ष जति घरमा अङ्ग्रेजी निःशुल्क पढाइदिनुभएको थियो ।
वि.सं. १८८४ को अन्त्यमा पाँचौं कक्षामा दरबार हाइस्कुलमा भर्ना हुन म ठीक भएको थिएँ । मेरा मामाले पनि यो प्रबन्ध मिलाइदिनुभएको थियो । दैव संयोग त्यसै बेला मलाई ज्योतिषी हुने इच्छाले छोप्यो । मैले मामासँग ज्योतिष पढ्छु भनी भनें । मामाले पनि पढ्ने भए पढ् भनी भन्नुभयो । तिनताका मामासँग म बीजगणित पढ्थें । तिनताका मेरा मातामह नारायणहिटी राजदरबारमा पढाउनुहुन्थ्यो । प्रिन्सिपल सरदार बटुबाबु दरवारमा पढाउन आउँदा बाटामा फर्कंदा कहिलेकाहीं सँगसँगै हुन्छौं, उनी मसँग बडो मिजास गर्छन्, तँलाई अङ्ग्रेजी पढाउन उनीसँग कुरा गर्छु भनी मातामहले मसँग एक दिन भन्नुभयो । म त अङ्ग्रेजी पढिदनँ, ज्योतिष पढ्छु भनी मातामहसँग मैले भनें ।
मातामहले ज्यौतिष पढ्ने भए कौमुदी पढ्नुपर्छ भनी भन्नुभयो । पण्डित बाबुराम पोखरेल राम्रोसँग कौमुदी पढाउँछन्, ऊसँग गएर पढ् भनिदिउँला, साइत हेरेर पढेपछि राम्रो हुन्छ, फलानो दिन साइत छ म घरमा यही थालिदिन्छु, पछि पाठशालामा गई बाबुरामसँग पढ्लास भनी एक दिन रातमा साइत पारी मलाई मेरा मातामहले लघुकौमुदी प्रारम्भ गरिदिनुभयो । संज्ञाप्रकरणसम्म मैले मातामहसँग घरमै पढेँ । यहीवीचमा मेरा मामाले पाठशालाका ज्यौतिषका अध्यापक श्रीगुरु पं. हेमनाथ भट्टसँग मेरो ज्यौतिष पढ्ने कुरा भनिदिनुभयो । पञ्चसन्धिसम्म कौमुदी पढेपछि ज्यौतिष पढ्न बढिया हुन्छ भनी पं. हेमनाथले भन्नुभएछ ।
०००
वि.सं. १९८४ को फाल्गुन महिनादेखि म रानीपोखरी संस्कृत पाठशालामा गई श्रीगुरु पं. बाबुराम पोखरेलसँग लघुकौमुदी पढ्न लागें । त्यसको केही महिनापछि श्रीगुरु पं. हेमनाथ भट्टसँग लीलावती पढ्न म लागें । त्यसै बेला त्यहाँका प्रधान पण्डित गुरु पण्डितवर सोमनाथ सिग्द्यालको राम्रो दर्शन मैले पाएँ । पं. सोमनाथको अधिकार तथा रवाफिलो रङ्गढङ्गले सबै दबेका देखिन्थे । वि.सं. १८८५ मा मैले सुवन्तसम्म लघुकौमुदी र सम्पूर्ण लीलावती पढेँ । मीनपचासको विदामा श्रीगुरु पं. वाबुराम पोखरेलको घरमा गई बडो प्रार्थना गरी तिङन्तभ्वादिको भाग पढें । वि.सं. १८८६ मा श्रीगुरु पं. देवीदत्त पराजुलीकहाँ अनुवाद पढ्न म गएँ । उहाँकहाँ जान लाग्दा श्रीगुरु हेमनाथ भट्टले उहाँ त बडो जाज्वल्यमान पण्डित हुनुहुन्छ भनी भन्नुभयो ।
यसरी वि.सं. १८८६ मा रानीपोखरी पाठशालाका तीन जना अध्यापक मेरा गुरु हुनुभयो । हुन त म ज्योतिष पढ्न तम्सेको थिएँ, तर श्रीगुरु बाबुराम पोखरेलको पठनशैली र विद्वत्ताले मेरो मनमा बढ्ता प्रभाव पार्यो र म सबभन्दा बढ्ता मिहिनेत कौमुदीमा गर्न लागें । त्यसै वर्ष श्रीगुरु देवीदत्तसँग रघुवंश चतुर्थ सर्ग र श्रुतबोध मैले पढें । तीन वर्षमा पढ्नुपर्ने प्रथम परीक्षाका ग्रन्थ मैले दुई वर्षमा पढेको हुनाले श्रुतबोधको पढाइ अघिबाटै सिद्धिइसकेको थियो । त्यस बेला गणका कुरा मैले केही पनि बुझिनँ । साथी मुक्तिनाथ लुइँटेलको सङ्गतले गणको कुरा बुझेपछि श्रुतबोधलाई बुझीकन मैले कण्ठस्थ गरें । हुन त स्रेस्ता पाठशालामा पढ्दा वि.सं. १९८३–८४ देखि छन्दोबद्ध ढङ्गले पद्यरचना गर्न म लागें । वि.सं. १९८६ मा मैले प्रथम परीक्षा (व्याकरण) दिएँ । तेस्रो भएँ । यस बेलासम्म ज्यौतिषमा मैले लीलावती र बीजगणित पढेको थिएँ । यसपछि वि.सं. १८८६ को हिउँदमा श्रीगुरु बाबुराम पोखरेलसँग परिश्रमपूर्वक मध्यकौमुदी पढ्न म लागें । मध्यकौमुदी सिद्धयाई काशिका पढ भनी श्रीगुरु बाबुरामले भन्नुभएको थियो ।
यसै वर्षको हिउँददेखि श्रीगुरु देवीदत्तको उपदेशले म मिहिनेत गरी अमरकोष कण्ठ गर्न लागें । वि.सं. १९८७ मा श्रीगुरु हेमनाथसँग मैले रेखागणित चार अध्याय पढें । वि.सं. १९८७ को अन्त्यदेखि श्रीगुरु देवीदत्त पराजुली साहित्य मध्यमाका ग्रन्थ पढाउन लाग्नुभएको थियो । उहाँसँग म ती ग्रन्थ पढ्थें । कौमुदी र कोषमा बढ्ता मिहिनेत गरेको हुनाले मलाई काव्यको अर्थ गर्न त्यति गाह्रो हुँदैनथ्यो । मेरो धेरै समय व्याकरण र साहित्य पढ्नमै बित्न लाग्यो । यो कुरा श्रीगुरु हेमनाथ भट्टलाई मन परेनछ । मेरा मामासँग हेमनाथ गुरुले तपाईंका भानिज त तपाईंले भनेजस्तो गरी ज्यौतिष पढ्दैनन् भनेर भन्नु पनि भएछ । वि.सं. १९८८ को प्रारम्भमा श्री ३ महाराज भीमशमशेरकहाँ कोटिहोम लाग्यो । त्यहाँ श्रीगुरु पं. बाबुराम पोखरेल जानुभएको थियो । दुई महिनाजति कोटिहोममै वित्यो । त्यसपछि लगत्तै श्रीगुरु बाबुरामको स्वर्गवास भयो । यस घटनाले म अत्यन्त खिन्न भएँ । व्याकरण पढ्ने मेरो इच्छा अपूर्ण रहन गयो । अब व्याकरण पढ्न छोडी म मिहिनेतपूर्वक ज्यौतिष पढ्न लागें र त्यसै वर्ष ज्यौतिष मध्यमा दिने विचार गरें । मध्यमामा एक पत्र व्युत्पत्ति थियो ।
सो पत्र प्रधानाध्यापक पढाउनुहुन्थ्यो । त्यस वर्ष परीक्षामा पञ्चतन्त्र पनि रहेकाले पञ्चतन्त्रलाई व्युत्पत्तिका रूपमा पढाउने श्रीगुरु पण्डितवर सोमनाथजीको निर्णय भएछ । त्यो पढ्न म पनि उहाँको कोठामा पुगें । उहाँको पढाइ बडो रवाफिलो ढंगको थियो । व्याख्यात्मक ढङ्गले उहाँ पढाउनुहुन्थ्यो । पुस्तकका कुराभन्दा बाहिरिया विषयका कुरा ल्याई पढाउने उहाँको स्वभाव थियो । त्यस शैलीले म प्रभावित भएँ । श्रीगुरु देवीदत्त पराजुली पनि काव्य पढाउनुहुन्थ्यो । श्रीगुरु सोमनाथ सिग्द्याल पनि काव्य पढाउनुहुन्थ्यो ।
यी दुई पढाइको तुलना त्यस बेला मैले गरें । श्रीगुरु सोमनाथको पाठनशैलीमा नै म बढ्ता प्रभावित भएँ । श्रीगुरु बाबुराम पोखरेलको व्याकरणको पढाइले मेरो हृदयमा अत्यन्त प्रभाव पारेको थियो । म सबै रूपलाई पाणिनिका सूत्रका सूत्र कस्न लागेको थिएँ । बाबुराम गुरुलाई मेरो यो स्वभाव मन परेको थियो । श्रीगुरु सोमनाथकहाँ यो रीतले पढ्ने मेरो इच्छा थियो तापनि त्यसो गर्न मैले पाइनँ । वि.सं. १९८८ मा मैले यहाँ ज्यौतिष मध्यमाको परीक्षा दिएँ उत्तीर्ण भएँ । काशीमा ज्यौतिष मध्यमाको परीक्षा दिन जाने भएँ । सोमनाथ गुरुले संस्कृत लेख्न राम्ररी सिक्नुपर्छ भन्ने उपदेश दिनुभयो र मलाई दुई महिनाजति व्यक्तिगत रूपमा अनुवाद गर्न सिकाइदिनुभयो ।
वि.सं. १९८८ देखि म काशीमा ज्यौतिष पढ्न लागें...
वि.सं. १९९७ को अन्त्यदेखि म रानीपोखरी संस्कृत पाठशालामा पढाउन लागें । म सत्ताइस वर्षको अनुभवहीन जोसिलो युवक थिएँ ।यति लामो उद्धरणले पनि नयराज पन्तको आत्मपरिचय टुङ्गिदैन । अब निजको अन्वेषण विषयमा अभिरुचि बढेर जाने थप त्यस प्रसङ्गमा पनि प्रवेश गर्नुपरेको छ । उनका अनुसार काशीमा निजको आफ्ना गुरु प्रभाकर द्विवेदीसँग बारम्बार बहस–विवाद भइरहने गर्दथ्यो । उनी पनि अन्वेषणमा विश्वास राख्ने पण्डित थिए र भन्ने गर्दथे– ‘अन्वेषण नगर्ने हो भने अब सिद्धान्त ज्यौतिष पढेर काम छैन ।’ कालक्रमले पनि के देखायो भने सिद्धान्त ज्यौतिषको क्षेत्रमा पन्तलाई अन्वेषण अघि बढाउन सम्भव भएन । गणिततिर पनि उनको अन्वेषण अघि बढ्न सकेन । अन्ततः उनी इतिहासको अन्वेषणतर्फ अग्रसर भए । एक प्रसङ्गमा त्यसका वारेमा यस्तो टिप्पणी भएको छ– गणिततिर अन्वेषणको काम चलाउन सर्वथा असमर्थ भएपछि इतिहासको अन्वेषणतिर म लागें ।
घरमा नेवारी लिपिमा लेखिएको महाभारतको विराटपर्व थियो, सो पढी नेवारी लिपि पढ्न सक्ने भएँ, देवमन्दिरहरूका शिलालेखहरू खोजीखोजी पढ्न म लागें । काठमाडौँ सहरका धेरैजस्ता भागका पाटन र कीर्तिपुर सहरका त्यसभन्दा कम भागका र भादगाउँ सहरका ज्यादै थोरै भागका शिलापत्र पढ्न म समर्थ भएँ । मेरो यस काममा रामजीबाट पनि केही सहायता हुन्थ्यो । यताबाट राइटहरूले प्रकाश गराएका नेपालका इतिहासहरूमा थुप्रै अशुद्धि देख्न म लागें ।
‘नेपाल खाल्डाका अघिका तीन राज्य’ भन्ने एक इतिहासको संशोधनात्मक प्रबन्ध ‘शारदा’मा छपाउन मैले कवि सिद्धिचरणलाई दिएको थिएँ । कविजीले प्रकाश गरिदिन्छु भनी भन्नुभयो... ६ महिनापछि सो लेख मैले फिर्ता लिएँ । यताबाट इतिहास संशोधन गर्ने बेला भएको रहेनछ भन्ने कुरा मैले विवश भएर बुझ्नुपर्यो ।
तथापि हरेस नखाई पन्त यस कार्यमा जुटिरहे । त्यस क्रममा लिच्छविकालीन अभिलेखमा प्रयुक्त अक्षर आदिको ज्ञान प्राप्त भयो । यस क्रममा बटुमुवहाल बस्ने वैद्य जीवनमङ्गल वज्राचार्य, खरिदार वावुराम आचार्य, महाबौद्ध बस्ने खगेन्द्रवल्लभ पन्त र त्रिचन्द्र कलेजका प्रिन्सिपल रुद्रराज पाण्डे आदिले पनि पन्तलाई निकै सघाउ पुर्याए । आचार्यले चाहिँ पन्तलाई लिच्छविकालका अभिलेखहरू पाइने स्थानसम्बन्धी परिचय दिलाएका थिए ।
तदनुरूप पन्तले ती ठाउँमा पुगी विभिन्न अभिलेखहरू उतार गर्ने र पढ्ने आदि कार्य गर्न थाले । तदनुरूप कतिपय अभिलेखहरू ‘संस्कृत सन्देश’का विभिन्न अङ्कहरूमा छापिन पनि थाले । दुर्भाग्यवश पछिबाट ती अभिलेख नोलीद्वारा उत्खनन गरिएको दाबा ठोकियो ।
तर यी अनुभवले अर्को शिक्षा प्रदान गरे । त्यो शिक्षा थियो– एक्लो मान्छेबाट शिलापत्र खोज्नु, पढ्नु र प्रकाशन गराउनु सम्भव छैन । अन्ततः यसै शिक्षाका आधारमा पन्तले आफ्ना सङ्गतमा आएका नातागोता, चेलाशिष्य र सँगसम्बन्धीहरूलाई नै यस कार्यमा प्रवृत्त गर्न सुरु गरे । यसैको परिणाम थियो– इतिहास संशोधनपत्रको निष्कासन तथा इतिहास संशोधनको अभियानको प्रादुर्भाव ।
तर पुरानो प्रविधि र प्रवृत्ति एवं शैक्षिक प्रणालीवाट पन्तको त्यो अभियान चल्न सम्भव छैन भन्ने तथ्य उनलाई राम्रोसँग अनुभूत थियो । त्यसैले उनले तदनुरूपको शैक्षिक प्रणालीको पनि योजना गरे । त्यसैको परिणाम थियो– उनीद्वारा स्थापित गुरुकुलीय प्रमाणपत्रविहीन संस्कृत शिक्षा जो वि.सं. १८८७ देखि महाबौद्धको मासंगल्लीस्थित पीयुषवर्षी औषधालय रहेको वज्राचार्य निवासमा विधिवत् चल्न थाल्यो । उक्त पीयुषवी औषधालय रहेको भवनको भित्री बगैंचामा अर्को सानो घरको छिंडी कोठामा यो पाठशाला चल्दथ्यो । वैद्य दिव्यवज्रको सौजन्यले प्राप्त यस कोठामा धेरै वर्ष यो पाठशाला चलेको थियो ।
पन्तले आफूद्वारा सूत्रपात गरिएको शुद्ध तथा वैज्ञानिक इतिहासलेखनको मूलमा मुलुकको नवोदित संसदीय प्रणाली पनि सहायक बनेको स्वीकारोक्ति प्रकट गरेका छन् । यसबारेमा प्रकाश पार्दै एक प्रसङ्गमा उनले ‘आफ्नो जन्मभूमि नेपालको शुद्ध इतिहास आफैले जान्न, आफ्ना विद्यार्थीहरूलाई पढाउन तथा प्रकाश गर्न मलाई धेरै वर्षदेखि इच्छा लागिरहेको छ र यस कामका लागि इतिहासका अन्वेषण विपयका पुस्तक–पुस्तिका निकाल्ने परम्परा बसाउनु आवश्यक छ भन्ने मैले सम्झेको र सो परम्परा बसाउन अनुकूल अवस्था नपर्दा मलाई साढे दुःख लागिरहेको थियो’ भन्दै उक्त प्रसङ्गमा यसो भनेका छन् – नेपालमा प्रजातन्त्र आयो । त्यसले कसैलाई गुलियो, कसैलाई तीतो हुने गरी विभिन्न प्रकारका मनुष्यलाई विभिन्न प्रकारका फल दियो, मलाई चाहिं इतिहास संशोधनपत्रहरू निकाल्ने अवसर दियो । मबाट प्रेरणा पाएका केही विद्यार्थीहरूले इतिहास संशोधनपत्रहरू निकाल्न थाले ।
श्री पन्तले संशोधनपत्र प्रकाशनका पछिल्तिर रहेको उपर्युक्त स्पष्टीकरणलाई पनि मान्दै निजका पुत्र तथा विद्यावंश–परम्पराका असल उदाहरण महेशराज पन्तले एउटा अर्को प्रसङ्गमा विस्तृत उपोद्घात दिँदै गौरवशाली तथा सुयोग्य परम्परा रहेको हाम्रो जस्तो कहिल्यै विदेशी प्रभुत्वमा नपरेको मुलुकको गौरवशाली अतीतलाई पुनर्जीवन दिने उद्देश्यवाट नै उपर्युक्त संस्कृत शिक्षाको प्रादुर्भाव गरिएको औंल्याएका छन् ।
उनका विचारमा– अङ्ग्रेजी शिक्षाको प्रभावले विलास बढाई परलोकको भय कम गराइदिएकाले धार्मिक रूपमा रहेको संस्कृत विद्यालयलाई मरणासन्न अवस्थामा पुयाएको, नेपाली युवावर्ग अङ्ग्रेजी शिक्षातिर लहसिए पनि तिनीहरूमध्ये कसैले पनि युरोपवासीले सञ्चित विद्या–परम्परामा गहिरिएर वसी गूढतत्त्व फेला पारी आफ्नो देशको उपकार गर्न नसकेको मात्र होइन नयाँ वैज्ञानिक आविष्कारका साधनको रहस्यलाई आत्मसात् गरी हाम्रो आवश्यकताअनुसार ढाल्न पनि विफल रहेको र हाम्रो परिवेशमा जसरी संस्कृत भाषालाई टपरे पण्डितहरूले लेखपढ वा कर्मकाण्डका लागि अपनाउने शिक्षा भएको दुष्प्रचार व्याप्त रह्यो, नयराज पन्तले उक्त शिक्षा यसै पृष्ठभूमिमा परिकल्पना गरे ।
महेशराज पन्तका दृष्टिमा उनका पिताद्वारा ‘माथि व्यक्त गरिएका यिनै र यस्तै कुराले अभिमत भएर संस्कृत विद्याको अध्ययन–अध्यापन गरी भारतीय प्राचीन विद्याद्वारा कार्यक्षमता पैदा गराउन अर्थात् प्राचीन विद्याको पुनरुद्धार गर्न वि.सं. १८८७ देखि पिताजी लागिरहनुभएको छ’ । नयराज पन्तले चलाएको यस पाठशालाका अतिरिक्त त्यसताका काठमाडौँमा तीन वटा पाठशालाहरू पनि चलिआएका थिए । तिनीहरूमा प्रथम हो– योगी नरहरिनाथ, कविराज हरिप्रसाद खकुरेल र पण्डित बुद्धिप्रकाश पाण्डेहरूले चलाएको ब्रह्मचर्याश्रम ।
दोस्रो थियो– पण्डित शेषराज रेग्मीले नक्सालमा आफ्नै निवासमा खोलेको पाठशाला र तेस्रो थियो– वैद्य दिव्यवज्र वज्राचार्यले आफ्नो घर महाबौद्ध मासगल्लीमा खोलिराखेको स्वास्थ्य शिक्षाश्रम र मासंगल्लीको यसै भवनमा श्री पन्तको शिक्षाश्रम पनि स्थापित थियो, जसको कुनै विधिवत् नाम थिएन र यसको स्थापना पनि औपचारिक रूपमा गरिएन । उपर्युक्त चारै पाठशालाहरूबीचको अध्ययनप्रणाली र अन्यान्य विषयमा लेखाजोखा गर्नु प्रस्तुत सन्दर्भमा सामयिक हुँदैन । तर स्वास्थ्यशिक्षाका संस्थापक वैद्य दिव्यवज्र वज्राचार्य स्वयंका पुत्र गौतमवज्र वज्राचार्य उक्त पारिवारिक पाठशालामा नपढी पन्तको पाठशालामा भर्ना भएको एउटै प्रकरणबाट यस पाठशालाको उच्चता प्रमाणित हुन्छ ।
बरु महेशराज पन्तकै एउटा मान्यता यहाँनिर निकै प्रासङ्गिक हुन आउने देखिन्छ, जो यस प्रकार छ– काठमाडौँमा त्यसताका चलेका चार वटै गैरसरकारी संस्कृत पाठशाला सरकारी संस्कृत पाठशालाबाट सामान्यतया पुयाउन नसक्ने उद्देश्यको परिपूर्तिका लागि चलाइएका थिए । तर अरू तीन पाठशालाको भन्दा पिताजीको पाठशालाको उद्देश्य ठूलो र विलक्षण थियो भन्ने कुरा पनि यहाँनिर सम्झनुपर्छ । कुरा के भने पिताजीले जुन पाठशाला चलाउनुभयो त्यस पाठशालाको उद्देश्य कामचलाउ मान्छे उत्पादन गर्ने नभई आफ्नो विषयका पूरा विद्वान् निकाल्ने थियो, त्यस्तो उद्देश्य अरू तीन पाठशालाको थिएन र पछि गएर सरकारी मान्यता पाएको पाठशालामै मिसिन जाने स्पष्ट वा अस्पष्ट विचार ती पाठशालाको थियो ।
यसबाहेक मृगस्थली ब्रह्मचर्याश्रम संस्कृत पाठशालासँग मतविरोध राखी भोलानाथ पौडेलले पनि आफ्नो लुभूस्थित निवासमै एउटा सानो संस्कृत पाठशाला खोलेका थिए । मासंगल्लीकै जस्तो पठनपाठन हुने यस पाठशालामा पन्ध–बीस जवान छात्र जम्मा भएका थिए । तदनुरूप प्रत्येक अष्टमी र परेवाका दिन नयराज पन्त पनि काठमाडौँबाट तीन कोस पैदल हिँडी उक्त पाठशालामा पढाउने गर्थे । यो कार्य तीन वर्षसम्म चल्यो । नयराजले ज्ञानमणि नेपाल, शङ्करमान राजवंशी र धनवज्र वज्राचार्यलाई सहायकका रूपमा सँगै लिई उपर्युक्त कार्य गर्ने गरेको तथ्य आफ्नो एक ग्रन्थ ‘लिच्छवि संवत्को निर्णय’ (पृ. ११) मा उल्लेख गरेका छन् ।
यी चार–पाँच वटा निजीस्तरका संस्कृत पाठशालाको चर्चा गरिसकेपछि त्यसबाट राजधानीमा चलिआएको सुप्रसिद्ध सरकारी संस्कृत पाठशालाको चर्चा नगर्नु पनि एकाङ्गीगीपन नै हुन जानेछ । जहाँसम्म त्यस रानीपोखरी संस्कृत प्रधान पाठशालाको प्रश्न छ, त्यो मध्यमासम्म अध्ययन गर्ने औपचारिक पाठशाला थियो । उक्त तहसम्मको अध्ययनपश्चात् छात्रहरू बनारस गई परीक्षा दिन्थे र उत्तीर्ण भएपछि त्यस्ता छात्रहरू त्योभन्दा माथिल्लो तह पढ्नुपरे बनारस नै पुग्दथे । तर नयराज पन्तको पाठशालाको प्रमुख विशेषता नै के थियो भने यस विद्यालयमा परीक्षा नदिने सर्तमा मात्र विद्यार्थीहरू पढाइन्थे । यसबाहेक यस पाठशालाका केही कडा नियमहरू पनि थिए ।
मालिङ्गो निगालो, बास वा हाडे उन्यूका कलमले मसी चोपेर लेख्नुपर्ने, सुटप्यान्ट अर्थात् अङ्ग्रेजी पोसाक पहिरिन नपाइने, मयलपोस सुरुवाल वा कमिज सुरुवाल लगाउनुपर्ने, जुल्फी कोर्न, पछाडि छाँट्न नपाइने, सुँघा काट्न नहुने, टोपी र टीका लगाएकै हुनुपर्ने, मोजा लगाउन नहुने, जाँड, रक्सी, चुरोट, बिँडी, खैनी, सुर्ती खान नपाइने, तास–जुवा खेल्न नहुने आदि नियम थिए । अध्ययनार्थीले अष्टाध्यायी, अमरकोष, भट्टिकाव्य, रघुवंश महाकाव्य र हर्षरचितजस्ता ग्रन्थ कण्ठस्थ पारिसकेपछि अरु एक सयजति पुस्तकहरूको व्यापक अध्ययनद्वारा गुरुलाई सन्तुष्ट पार्न सक्नुपर्दथ्यो । तर अङ्ग्रेजी शिक्षा निषिद्ध थियो ।
वास्तवमा ‘धर्मनीति र राजनीतिबाट पर रही, कुनै प्रकारको सङ्घटन नगरी, कसैलाई प्रभु नमानी, आफ्नो कामको डम्फु बजाउनेजस्ता हल्लाखल्ल नगरी परम्परा टुटिसकेको, टपरे पण्डितहरूको पेवाजस्तो भएर आइसकेको संस्कृत विद्याको पुनरुत्थान गरी त्यस विद्याद्वारा कार्यक्षमता पैदा गराउने उद्देश्यले खोलिएको त्यस पाठशालावाट जे काम भयो नेपालको विद्याको इतिहासमा त्यसको राम्रो लेखाजोखा पछि हुने नै छ भन्ने महेशराज पन्तको भनाइप्रति आफ्नो राय अभिव्यक्त गर्ने समय अब आइपुगिसकेको स्थिति असत्य होइन र प्रस्तुत लेखक उनको त्यस भनाइप्रति सहमति जनाउन चाहन्छ । हाम्रो विचारमा नयराजको संस्कृत शिक्षा, संशोधनमण्डल र त्यहाँ समर्पित व्यक्तित्वको क्रियाकलापको मूल्याङ्कन गर्ने यो समय असामयिक तथा अनुचित होइन ।
यस्तो किन पनि भने नयराज पन्त आफ्नो उपर्युक्त शैक्षिक प्रयासका लागि विफल रहेपछि नै इतिहासमा शुद्धता ल्याउने संशोधनमुखी अभियानतर्फ जुटेका थिए । जो नेपाली पाश्चात्य शिक्षामा वशीभूत तथा अङ्ग्रेजी शिक्षा र हाउभाउमा कटिबद्ध भई लागेका थिए अनि स्वयं राज्यको कुनै प्रतिबद्ध शैक्षिक नीति र उद्देश्य थिएन, त्यहाँ पन्तहरूको सीमित साधन र स्रोतयुक्त आदर्शमुखी अभियानले असफलता व्यहोर्नु कुनै अनौठो कुरा हुन सक्दैनथ्यो किनभने हाम्रो जस्तो वृत्तिमुखी समाजमा प्रमाणपत्र प्राप्त नहुने त्यस पाठशालाको शिक्षाप्रणालीले अधिक लोकप्रियता लिइरहन सम्भव थिएन ।
तथापि पाश्चात्य गणित र ज्यौतिषसँग भारतीय ज्योतिषशास्त्रको त्यस तुलनात्मक शिक्षाध्यापनद्वारा संस्कृत विद्या विज्ञानको प्रतिकूल नभई अनुकूल हो तथा अध्यात्मवाद र कर्मकाण्ड त्यसका अपरिहार्य अङ्ग नभएको जुन दृढ धारणा नयराजप्रवृत्तिले अपनायो त्यो हाम्रो राष्ट्रमा देखा पर्न खोजेको एउटा सकारात्मक कसरत थियो । दुर्भाग्यवश समाजले, खासगरी जिम्मेवार पक्षले, त्यसलाई पहिचान गर्न नसक्नाले नउदाउँदै त्यसले कुण्ठित हुनुपन्यो । संस्कृत शिक्षाका उपर्युक्त सकारात्मक पक्षको परिशीलन गर्नमा विफल रहेपछि नयराज पन्त आफ्नो देशको वास्तविक इतिहासका साधनस्रोतको खोजीतर्फ केन्द्रित बने ।
नेपालको इतिहासको लामो समयलाई बुझाउने अधिकांश स्रोतसाधन संस्कृतमै भएकाले आफ्नो संस्कृतको ज्ञान त्यसका निम्ति ज्यादातर उपयोग गर्न सकिन्छ भन्ने उनलाई बोध थियो । फलतः उनको आफ्नो पाठशालामा पढ्ने छात्रहरूलाई संस्कृत भाषाका व्याकरण र काव्यकोशमा प्रवीण तुल्याई तिनलाई नेपालीमा चलेका पुराना लिपि र पञ्चाङ्गगणना पद्धतिबारे विज्ञ पारे । तदनुरूप तिनीहरू नेपालमा पाइएका पुरानाभन्दा पुराना अभिलेख पढ्न र तिनको अर्थ एवं व्याख्या गर्न सक्ने हुन थाले । निश्चय नै यसले ती नवकांक्षीहरूलाई इतिहासको शुद्धीकरण तथा उपकरणहरूको खोजीनिती र जाँचपडताल गर्नमा उल्लेखनीय हौसला प्रदान गन्यो । खास गरी त्यस पृष्ठभूमिमा, जुन बेला हाम्रो देशको शिक्षा एवं इतिहासलेखनको शिक्षाले पाश्चात्य मान्यता र प्रणाली अपनाइसकेको थियो ।
संस्कृत शिक्षाअन्तर्गत इतिहासको पढाइ नहुने र अङ्ग्रेजी शिक्षाअन्तर्गत इतिहासको पढाइ हुने हुनाले नै इतिहास क्षेत्रमा कलम चलाउनेहरू पनि अङ्ग्रेजी शिक्षाप्राप्त विद्यार्थीहरू नै हुनु स्वाभाविकै हुन्थ्यो । दुर्भाग्यवश संस्कृत शिक्षा, लिपि र परम्परासम्बन्धी ज्ञानको अभावमा तिनीहरू तत्सम्बन्धी उपकरणहरूको जाँचपडतालद्वारा शुद्ध र मौलिक इतिहासको लेखन गर्नमा तिनलाई सफलता नमिलेको मात्र होइन त्यतातिर तिनले उद्योगसम्म गर्न सकेका थिएनन् । विदेशी लेखक र तीद्वारा रचित ग्रन्थ नै तिनका पथप्रदर्शक बनेका थिए ।
फलतः संस्कृत भाषाको उच्च ज्ञान र थप बौद्धिक विलक्षणताले पनि इतिहासका उपकरणको खोजी र परिशीलन गर्दै जाँदा नयराज पन्तले नेपालको इतिहासका स्वदेशी–विदेशी पुस्तकहरूमा निकै अशुद्धि फेला पार्न सके । त्यस्ता अशुद्धिको समग्रमा निराकरण गरी इतिहास संशोधनपत्र निकाल्ने काम आफ्ना शिष्यहरूद्वारा पन्तले वि.सं. २००८ देखि प्रारम्भ गरे । यो नै नेपालमा इतिहासको शुद्धीकरण अभियानको आरम्भ, संशोधन मण्डल समूहको गठन र नेपाली विद्वान्द्वारा इतिहासका उपकरणहरूको खोजीनिती र वैज्ञानिक इतिहास लेखनको सुरुवातको वास्तविक पृष्ठभूमि पनि थियो । (शेषराज सिवाकोटीद्वारा सम्पादित पुस्तक ‘स्वाभिमानका सगरमाथा नयराज पन्त’बाट ।)
यो पनि
राणाको क्लबको प्रवेश शुल्क र गृहमन्त्री बीपीको मासिक तलब दुवै १५ सय

चाँगुनारायणको काँखमा कलाकारको रङमा साहित्यकारको कलम कोरियो…

मानव जातिको महत्त्व र हाम्रो जनसङ्ख्या नीति

जलवायु परिवर्तनको असर नेपालसम्म: यति तीव्र र विनाशकारी बाढीहरू किन हुँदैछन्?

उज्वेकिस्तानविरुद्धको खेल नेपाली महिला फुटबल टोलीका लागि अविस्मरणीय

देखेको हैदराबाद, भोगेको नेपाल

साम्बाको पहिलो नेतृत्वमै महिला फुटबलमा अभूतपूर्व सफलता

जलवायु परिवर्तनको समस्या र सामाधनका उपायहरू

प्रतिक्रिया