शनिबार ०३ जेठ, २०८२
Saturday, May 17, 2025

निगमको एउटा न्यारोबडी रित्तै गयो दुबई, हिमालयनका यात्रु टनाटन

काठमाडौँ - विमान चढ्नै लागेका ६० यात्रुलाई अलपत्र छाडी नेपाल वायुसेवा निगमको एउटा जहाज हिजो राति साढे ११ बजे रित्तै दुबई पुगेको छ । दुबईका स्टेशन म्यानेजर टीकाराम पगेनीले निगमले बोकी ल्याएको यात्रुलाई त्यहाँको अध्यागमनले स्वीकृत नदिने जानकारी आखिरी घडीमा आएर दिएपछि रित्तो जहाज उड्नु परेको हो । निगमको न्यारोबडी जहाज (एकेएक्स, उडान नम्बर आर ए २९९) लाई उडाएर क्याप्टेन सञ्जय वैद्य रित्तै गए र आज बिहान एक सय ४० यात्रु लिएर फर्केका थिए । 
निगमका क्रियाशील ट्रेड युनियनले दबाब दिएपछि व्यवस्थापनले केही दिनअघि उडान सुरु गरेको थियो । निगमका महाप्रबन्धक डिमप्रसाद पौडेल जहाज उडाउने पक्षमा थिएनन् ।

दुबईमा यति समूहको हिमालयन एअरलाइन्स र एअर अरेबियाले भने दुबईबाट टन्न यात्रु ओसारपसार गर्दै आइरहेका छन् । उनीहरुका लागि काठमाडौं मेडिकल कलेजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कोरोनाको पीसीआर परीक्षणका लागि डेस्क नै राखेको छ । सोही डेस्कको सहीछापअनुसार दुबईले हिमालयन र एयर अरेबियाको यात्रुलाई अनुमति दिंदै आएको छ ।

एक वर्षअघि नै म्याद समाप्त भएर पनि महाप्रबन्धक पौडेलको जिल्ला निवासी र निकटताका कारण दुबईमा बसिरहेका स्टेशन म्यानेजर पगेनीले उचित व्यवस्थापन गर्न नसक्दा यात्रु फर्कनुपरेको निगम स्रोतले बतायो । 

हिमालयन एयरलाई यात्रु भर्न निगमको जहाज खालि गराइएको हुन सक्ने निगम कर्मचारीहरुको आशंका छ । यसको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन । तर के कारणले विमान चढ्न लागिसकेका यात्रुलाई फिर्ता गरियो भन्ने निगमले खुलाएको छैन । उडान रद्द भएपछि ती ६० यात्रुलाई निगमकै खर्चमा हाेटलमा राखिएकाे थियाे ।

काठमाडौं मेडिकल कलेजले गरेको पीसीआर परीक्षणलाई दुबईले मान्यता दिने, तर सोही कलेजले निगमका यात्रुलाई गरेको पीसीआरलाई मान्यता नदिने भन्ने प्रश्नै नहुने निगमका एक अधिकारी बताउँछन् । ‘निजी विमान कम्पनीलाई पोस्न हाम्रो व्यवस्थापनले यस्तो गद्दारी गरेको हुन सक्छ,’ ती अधिकारी भन्छन् ।

निगम सञ्चालक समितिमा यतिखेर यति समूहसँग निकट सम्बन्ध भएका बहुमत सदस्य छन् । स्वयं महाप्रबन्धक पौडेल पनि यति समूहसँग निकट मानिन्छन् । महाप्रबन्धक पौडेलले अघिल्लो महिना निगमलाई कम्पनीमा परिणत गर्न रातारात फाइल अघि बढाएका थिए । सर्वाेच्च अदालतले असार २९ गते प्रतिनिधि सभा पुनःस्थापना र शेरबहादुर देउवाको सरकार गठनसम्बन्धी परमादेश जारी गर्नुअघि नै केपी ओली सरकारले प्रस्तावित नयाँ कम्पनीको प्रबन्ध पत्र र नियमावली दुई दिनभित्र तयार गरिएको थियो । 

प्रस्तावित कम्पनीमा निगम वा नेपाल सरकारको शेयर रहने उल्लेख नै नगरी प्रबन्ध पत्र र नियमावली बनाइएको थियो । निगमका कर्मचारी युनियनहरुले आन्दोलन गरेपछि पर्यटन मन्त्रालय पछि हटेको थियो । काठमाडौंदेखि दुबईसम्मको एकतर्फी भाडा एयर अरेबियाले ७० हजार रुपैयाँ असुल्दै आएको छ । यस सम्बन्धमा निगमको ग्राहक सेवाका प्रमुख जनक कालाखेती र महाप्रबन्धक पौडेल सम्पर्कमा आउन चाहेनन् ।  

निगमकाे कर्मचारी संघका पूर्वमहासचिव नरेश यादवका अनुसार अघिल्लाे दिन  हिमालयन र एयर अरेबियाले उडाएका हुनाले  निगमले पनि उडाउनुपर्ने आफूहरुले भन्दै आएपछि व्यवस्थापन उडाउन सहमत भएको थियाे । तर  हिजाे यूइईकाे स्वास्थ्य मापदण्ड पूरा नभएकाे भन्दै नेपालबाट कुनै पनि उडान नभएकाे यादवले बताए ।