डिजेल पेट्रोल नआए पनि फरक पर्दैन : ऊर्जा मन्त्री

काठमाडौं : ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले सबै प्रकारका अप्ठ्यारोमा समेत ऊर्जा संकट नआउने गरी सरकारले काम गरिरहेको बताएका छन् ।
नाकाबन्दीका समयमा डिजेल/पेट्रोलको आयात ठप्प हुँदा नेपालीले सास्ती व्यहोर्नुपरेको स्मरण गर्दै मन्त्री पुनले आगामी दिनमा पर्याप्त विद्युत उत्पादन र वितरण हुने भएकाले कदाचित् पेट्रोलियम आयात रोकिए पनि फरक नपर्ने बताए ।
धादिङका सांसद र स्थानीय जनप्रतिनिसँग आइतबार भएको छलफलमा मन्त्री पुनले विगतमा जस्तो डिजेल, पेट्रोलयको आयात नहुँदा देशै ठप्प हुने अवस्था अब धेरै समय नरहन उल्लेख गरे ।
सरकारले ऊर्जा दशक (२०७५-२०८५) कार्यक्रम कार्यान्वयन गरिरहेको भन्दै उनले १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन हुने बताए । १० हजार मेगावाटले आन्तरिक माग धान्ने र बाँकी ५ हजार मेगावाट क्षेत्रीय बजारमा बिक्री गर्ने मन्त्री पुनको भनाइ थियो ।
मन्त्री पुनले वर्तमान सरकार बनेपछि नेपालले भारत, चीन र बंगलादेशसँग विद्युत व्यापार सम्झौता गरेको चर्चा गर्दै विद्युत बढी हुँदा क्षेत्रीय बजारमा निर्यात र अपुग हुँदा आयात गरिने बताए ।
‘हामीले भारत, चीन र बंगलादेशसँग सम्झौता गरिसकेका छौं’, उनले भने, ‘बढी हुनेबित्तिकै बेच्न र आवश्यक पर्ने बित्तिकै ल्याउन सक्छौं ।’
मन्त्री पुनले चालु आर्थिक वर्षमै थप एक हजार ३ सय मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा थपिएर कूल जडित क्षमता २ हजार ६ सय मेगावाट हुने जानकारी दिए ।
ऊर्जा सचिव दिनेशकुमार घिमिरेले २२० केभी प्रसारण लाइन निर्माणमा एक दिन पनि ढिलाइ हुन नहुनेमा जोड दिए । उनले स्थानीयका समस्या समाधान गर्न मन्त्रालय तयार रहेको प्रतबिद्धता जनाए । धादिङका सांसद भूमि त्रिपाठी, नेकपाका जिल्ला अध्यक्ष नेतप्रसाद पौडेल र सिद्धलेक गाउँपालिका-७ का वडाअध्यक्ष लक्ष्मण खतिवडाले धादिङका जनता विकासविरोधी भएको सन्देश दिन नचाहेको भन्दै स्थानीयका समस्या समाधान गरिदिन आग्रह गरे ।
प्रसारण लाइनको अवरोध हटाउन कार्यदल
मस्यार्ङदी-काठमाडौं २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माणका क्रममा धादिङको सिद्धलेक गाउँपालिका-७ पिपलटारमा स्थानीयले पूर्वनिर्धारित स्थानबाट केही टावर अन्यत्र सार्नुपर्ने माग राख्दै आएका छन् ।
स्थानीयको मागबारे धादिङका जनप्रतिनिधिले मन्त्री पुनको ध्यानाकर्षण गराए । मन्त्री पुनले समस्या समाधानका लागि सुझाव दिने गरी आइतबारै एक कार्यदल गठन गरेका छन् । ऊर्जा मन्त्रालयका सहसचिवको नेतृत्वमा गठित पाँच सदस्यीय कार्यदलमा विद्युत प्राधिकरण र जिल्ला प्रशासन कार्यालय धादिङका प्रतिनिधि, सिद्धलेक गाउँपालिका-७ का वडाअध्यक्ष र प्रभावितमध्येबाट एक प्रतिनिधि छन् ।
मन्त्री पुनले प्रभावितलाई पुन:स्थापना र पुनर्वाससहितका कार्यक्रम समेटेर दुई साताभित्र सुझाव पेस गर्ने कार्यादेश (टीओआर) कार्यदललाई दिएका छन् । कार्यदलको सुझावअनुसार प्राधिकरण सञ्चालक समितिबाट राहतको निर्णय गरिने जानकारी मन्त्री पुनले दिए ।
मस्र्याङदी बेसिनका आयोजनाबाट काठमाडौं उपत्यकामा विद्युत ल्याउन तनहुँको मार्कीचोकबाट काठमाडौंको मातातीर्थसम्म उक्त प्रसारण लाइन निर्माण भइरहेको छ । ८२ किलोमिटर लामो प्रसारण लाइनमा २ सय ३१ टावर बन्नेछन् ।
पिलटारमा स्थानीयको अवरोधका कारण दुईवटा टावर निर्माणको काम रोकिएको छ । प्रसारण लाइनअन्तर्गत ७५ किलोमिटरभन्दा बढी तार तानिसकिएको छ । प्रसारण लाइन बनेपछि मस्यार्ङदी र मध्य मस्यार्ङदी जलविद्युत आयोजनाबाट उत्पादित ७०/७० मेगावाटका साथै अन्य साना र निर्माण चरणमा रहेका आयोजनाबाट उत्पादित विद्युत काठमाण्डौं ल्याउन सकिनेछ ।
हाल १३२ केभी प्रसारण लाइनमार्फत मस्यार्ङदी बेसिनबाट उत्पादित विद्युत उपत्यका आइरहेको छ । कम क्षमताको प्रसारण लाइनका कारण उपत्यकाको विद्युत प्रणाली भरपर्दो हुन सकेको छैन ।
निर्माणाधीन २२० केभी प्रसारण लाइनबाट एक हजार मेगावाट विद्युत आउने भएकाले उपत्यकाको विद्युत प्रणाली भरपर्दो हुने नेपाल विद्युत प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिए ।
छलफलमा प्राधिकरणका कार्यकारी निर्देशक शाक्य, उप-कार्यकारी निर्देशक मनोज सिलवाल, मस्यार्ङदी-काठमाडौं २२० केभी डबल सर्किट प्रसारण लाइनका आयोजना प्रमुख तारा प्रधान र प्रभावितहरुका तर्फबाट धादिङका प्रतिनिधिसभा सदस्य त्रिपाठी, नेकपाका जिल्ला अध्यक्ष पौडेल र सिद्धलेक गाउँपालिका-७ का वडाअध्यक्ष खतिवडालगायत थिए ।

लमजुङमा १७ आयोजनाबाट विद्युत् उत्पादन

प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

भारतबाट विद्युत् आयातको समय थप चार घण्टा बढाइयो

राहुघाट जलविद्युत् आयोजना सकियो, परीक्षण उत्पादन हुँदै

विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने

बौदीकालीमा बल्ल पुग्यो बिजुली

प्रतिक्रिया