शुक्रबार ०२ जेठ, २०८२
Friday, May 16, 2025

फ्रेन्च लिग र पीएसजीको संयुक्त सपना, लियोनल मेस्सी

काठमाडौँ- लियोनल मेस्सी सम्भवत सोमबार राति नै पेरिस पुग्नेछन् । पेरिस सेन्ट जर्मेन (पीएसजी)सँग आबद्ध भएको घोषणा गर्नुअघि स्वास्थ्य जाँच गर्नेछन् । मेस्सीलाई स्वागत गर्न पीएसजी समर्थक आइतबार पेरिस विमानस्थल पुगिसकेका थिए । सायद उनीहरू अलि बढी नै उत्साहित भए । 

हुन त उनीहरू उत्साहित हुनु स्वभाविक हो । किनभने मेस्सी पीएसजीसँग जाँदैछन् भन्‍ने हल्ला नयाँ होइन । सम्भवत यो रिपोर्ट प्रकाशित हुनुअघि नै मेस्सीले आउँदो सिजन पीएसजीबाट खेल्ने लगभग पक्का भइसक्नेछ । यद्यपि कतिपय अझैँ पनि प्रश्न गरिरहेका छन्, के मेस्सीले साँच्चै नै फ्रेन्च लिग वान खेल्न लागेका हुन् ? लिग वानकै क्लब ब्रेस्टका प्रशिक्षक माइकल डेर जाकारियन चाँहि प्रश्न सोध्‍नतिर लागेका छैनन् । बरु खुशीयाली मनाइरहेका छन् । 

‘हामी नै भन्‍ने गर्थ्यौ, फ्रेन्च लिग कमजोर छ भनेर । तर अब यहाँ मेस्सी आउँदैछन् । उनको उपस्थितीले लिग वान विशेष बन्‍नेछ,’ जाकारियन भन्छन् । उनी मात्र होइन पीएसजीका कतारी मालिक पनि मेस्सीको सम्भावित स्थान्तरणप्रति उत्साहित छन् । यी कतारीको ध्यान दुई चिजमाथि छ । पहिलो, विश्वकप सफलतापूर्वक आयोजना गर्ने । दोस्रो, पीएसजीलाई च्याम्पियन्स लिग जिताउने । 

पहिलो लक्ष्यमा मेस्सीको भूमिका हुने छैन । तर च्याम्पियन्स लिग जित्न भने मेस्सीले सहयोग गर्न सक्छन् । मेस्सी आफैँ पनि च्याम्पियन्स लिग जित्न आतुर छन् । सन् २०१९ मा क्याम्प नौउलाई सम्बोधन गर्दा पनि मेस्सीको भनाइ यही थियो, फेरि च्याम्पियन्स लिग जित्नुपर्छ । गत वर्ष बार्सिलोना छाड्ने इच्छा व्यक्त गर्दा पनि मेस्सीको गुनासो च्याम्पियन्स लिगसँगै जोडिएको थियो । ‘युरोपियन क्लब फुटबलमा बार्सिलोना बलियो हुनुपर्छ । च्याम्पियन्स लिग जित्नेगरी अघि बढ्नुपर्छ,’ मेस्सीले भनेका थिए । 

माउरिसियो पोचेटिनो प्रशिक्षकमा नियुक्त भएपछि पीएसजीको प्रदर्शन आश गरिए अनुसारको छैन । लिगमा रक्षात्मक शैली अपनाउने टिमहरूलाई हराउन पीएसजीलाई हम्मेहम्मे परेको छ । गत सिजन नान्ट्स र लोरियन्टसँग त पराजित नै भयो । सुरुवाती ३५ खेलमध्ये आठमा पराजित रहे पोचेटिनो । लगातार च्याम्पियन बन्दै आएको पीएसजी पोचेटिनोकै पालामा रोकियो । 

उता च्याम्पियन्स लिगमा पनि पीएसजीको खल लोभलाग्दो थिएन । सेमिफाइनलमा म्यानचेस्टर सिटीसँग रोकिँदा पीएसजीले गोलको पर्याप्त मौका सिर्जना गर्न सकेन । जबकि अघिल्ला चरणमा उसले बार्सिलोना र बायर्न म्युनिखविरुद्ध आक्रामक फुटबल खेलेको थियो । सिटीसँग हार्दा पीएसजीको पुरानै रोग दोहोरियो, निर्णायक क्षणमा सुस्त देखिने । यसकारण, मेस्सीको अनपेक्षित आगमनले पीएसजीको यो समस्या समाधान हुनसक्छ । 

बार्सिलोना छाडेपछि मेस्सीको उदेश्य फरक लिगमा सफल हुनु हो । उनको उदेश्यले लिग वानकै उद्वार हुने देखिएको छ । किनभने अहिले लिग वान आर्थिक संकटमा फसेको छ । गत सिजन लिग वानले टेलिभिजन प्रशारण अधिकारबाट पूरा पैसा पाएन । प्रायोजकहरू घटे । कोभिड-१९ का कारण रंगशालाहरू दर्शकविहिन भएपछि कलबहरू यसै पनि घाटामा थिए । तर आउँदो सिजन लिग वानको कथा फरक हुनसक्छ । मेस्सीको प्रभावले लिगलाई प्रायोजन गर्न चाहनेहरूको संख्या बढ्ने अनुमान गर्न सकिन्छ । 

लिगकै आर्थिक समस्या हल गर्नसक्ने ल्याकत राख्‍ने मेस्सीलाई पोचेटिनोले कसरी उपयोग गर्लान् ? अबको मुख्य प्रश्न यही हो । पीएसजीमा उसैपनि पर्याप्त फरवार्डहरू छन् । नेयमार, किलियान एमबाप्पे र एंगल डि मारिया रहेको पीएसजी अग्रपंक्तिमा मेस्सी थपिँदा पोचेटिनोको रणनीति के होला ? सायद पोचेटिनोले विपक्षी विशलेषण गरेर आफ्नो अग्रपंक्तिबारे निर्णय लेलान् ।   

पीएसजीको ध्यान अग्रपंक्तिमाथि मात्र छैन । पीएसजी रक्षापंक्तिलाई पनि उत्तिकै बलियो बनाउन चाहन्छ । यसैकारण पोचेटिनाले नेपोलीका रक्षक कालिडौ कौलिबेली अनुबन्ध गर्न चाहेका छन् । जसलाई उनले सर्जियो रामोस, मार्किन्योस र प्रेस्नेल किमपेम्बेसँग साझेदारी गर्न लगाउनेछन् । पहिलो रोजाईका चार रक्षक भेला भएपछि पोचेटिनोले ‘ब्याक थ्री’ पनि खेलाउन सक्छन् । यसको मतलब हो, सेन्ट्रल डिफेन्समा तीन जना ।  

हुन त यी जिज्ञासाहरूको जवाफ पोचेटिनोले आउँदो सिजनको पहिलो खेलमै दिनसक्छन् । लिगको पहिलो खेलमा पीएसजीको भेट हुनेछ, क्लेरमोन्टसँग । जो यसपटक दोस्रो श्रेणीबाट लिग वानमा बढुवा भएको हो । क्लेरमोन्टकै मैदानमा हुने खेलमा पोचेटिनोसँग ४-२-४ को संरचनामा खेलाउने सुविधा पनि छ । यस्तो संरचनामा पीएसजीका चार मुख्य फरवार्डहरूले सँगै खेल्ने मौका पाउनेछन् । 

पीएसजीको अग्रपंक्तिमा जुन सुकै पोजिसनबाट पनि खेल्न सक्ने खेलाडीहरू छन् । यसको मतलब, मेस्सी थपिँदा पीएसजीको अग्रपंक्तिको सन्तुलन बिग्रने छैन । नेयमारले दाँया विङबाट खेले, मेस्सी बाँयातर्फ हुनेछन् । अनि एमबाप्पेको पोजिसन चाँहि सेन्टरमा । बार्सिलोनामा भने स्थिती फरक थियो । किनभने त्यहाँ एन्टोइन ग्रिजमन जस्ता खेलाडी भएकाले रोनाल्ड कुमनलाई अग्रपंक्तिमा सन्तुलन कायम गर्न नै फलामको च्युरा सरह हुने गरेको थियो । 

मेस्सीको पोजिसनबारे खासै समस्या नभए पनि उनले फ्रान्समा आफूलाई कसरी घुलमिल गराउछन् भन्‍ने प्रश्न चाँहि छ । हुन त पीएसजीमा मेस्सीलाई भाषाको समस्या हुने छैन् । त्यहाँ स्पेनी बोल्ने पर्याप्त खेलाडीहरु छन् । नेयमार आफैँ पनि स्पेनी भाषामा पोख्त छन् । भाषामा बाहेक मेस्सीलाई नेयमारको साथ अन्य बेला पनि हुनेछ । कतिपयले भन्‍ने गरेका छन्, नेयमारले बार्सिलोना छाड्नुका कारण मेस्सी हुन् । अनि मेस्सीको छायाँमा परेको महसुस भएकाले नेयमारले बार्सिलोना छाडेका हुन । तर यस्तो दाबीमा सत्यता हुँदो हो त, बारम्बार नेयमारले मेस्सीसँग एउटै टिममा खेल्ने इच्छा रहेको अभिव्यक्ति किन दिइरहन्थे ?

पीएसजीमा मेस्सीले नेयमारबाट न्यानो स्वागत पाउने निश्चित छ । के पनि भनिएको छ भने, नेयमारले आफ्नो जर्सी मेस्सीलाई दिने प्रस्ताव गरिसके । तर मेस्सीले नेयमारको जर्सी नलिने बताउँदै १९ नम्बरको जर्सी लिने बताएका छन् । जुन नम्बर बार्सिलोनामा हुँदा मेस्सीले लगाएका थिए । 

मेस्सी ३४ वर्ष पुगिसके । खेलाडीका रुपमा उनी अब धेरै वर्ष मैदानमा रहनेछैनन् । तर उनीसँग पीएसजीलाई युरोपियन च्याम्पियन बनाउन पर्याप्त समय छ । यही उपाधिसँग पोचेटिनाको भविष्य पनि गासिँएको छ । च्याम्पियन्स लिग जित्न नसके, पोचेटिनो पीएसजीमा टिक्ने छैनन् । 

लिग वानमा मेस्सीको जादू देखिने छ । तर पीएसजीका लागि मेस्सीको उपस्थिती च्याम्पियन्स लिगमा बढी महत्वपूर्ण हुनेछ । विशेषगरी नकआउट चरणमा । जहाँ पीएसजी उति निर्भिक देखिन सकेको छैन । अनि मेस्सीले लिग वानको आर्थिक अवस्थामा सुधार ल्याउन खेल्ने भूमिका त छँदैछ । यस अर्थमा मेस्सीको पेरिस बसाइसराइ, पीएसजीका लागि मात्र होइन समग्र फ्रेन्च फुटबलकै लागि वरदान सावित हुनेछ । (दी गार्डियनबाट)