आइतबार १५ असार, २०८२
Sunday, June 29, 2025

बडिमालिका मन्दिरका लागि सरकारी डोल प्रस्थान

कैलाली - डोटी जिल्ला सदरमुकाम सिलगढीबाट सोमबार बाजुरा जिल्लास्‍थित प्रसिद्ध धार्मिक स्थल बडिमालिका मन्दिरका लागि सरकारी डोल प्रस्थान गरेको छ । जनै पूर्णिमाको दिन लाग्ने मेलाका लागि उक्त डोल डोटीको सिलगढीमा रहेको शैलेश्वरी मन्दिरबाट पठाइएको हो ।

सिलगढीमा रहेको सेनाको रुद्रध्वज गणको सैनिक टोली तथा जिल्ला प्रहरी कार्यालय डोटीको टोलीले शैलेश्वरी मन्दिरमा उक्त डोललाई सलामी दिएपछि सरकारी कर्मचारी सहितको सरकारी डोल बाजुरमा रहेको बडिमालिका मन्दिरका लागि प्रस्थान गरेको हो। 

राणाकालदेखि नै जिल्ला प्रशासन कार्यालय सिलगढीको अगुवाइमा पूजाआजा गरी विधिवतरूपमा सरकारी कर्मचारीले डोल लैजाने चलन रहँदै आएको निमित्त प्रमुख जिल्ला अधिकारी मधुकृष्ण पौड्यालले  बताए ।  सरकारी डोल बडिमालिका मन्दिरमा पुग्न कम्तीमा पनि एक हप्ता समय लाग्ने निमित्त प्रमुख जिल्ला अधिकारी पौड्यालले  बताए। उनले डोलसंगै प्रशासन, स्थानीय बासीहरु समेत बडिमालिका गएको बताए ।