शनिबार ०३ जेठ, २०८२
Saturday, May 17, 2025

चार कम्पनीको कारोबार ५० करोड रुपैयाँ माथि

काठमाडौँ– दोस्रो बजारमा सूचीकृत कम्पनीहरूको सेयर मूल्य मापन गर्ने नेपाल स्टक एक्स्चेन्स (नेप्से) परिसूचक सोमबार सीमान्त १.५४ अंकले उकालो लागेर ३,१०९.६६ बिन्दूमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरूको सेयर मूल्य घटेपछि सेन्सेटीभ इन्डेक्स २.०५ अंकले आरालो लागेको छ । 

सोमबार नेप्सेमा कारोबार भएकामध्ये १०० कम्पनीको सेयर मूल्य ओरालो लाग्यो भने ७९ कम्पनीको सेयर मूल्य बढेको छ । ६ कम्पनीको सेयर मूल्य भने अपरिवर्तित रह्यो । 

बजार खुल्लेबित्तिकै बजार बढ्दो क्रममा देखियो र केही कम्पनीहरूको कारोबारमा सर्किट ब्रेकर लागेको छ । आइसीएफसी फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, हिमालयन पावर पार्टनर, नेपाल हाइड्रो, युनियम हाइड्रोपावर र हालै सूचीकृत जीवन विकास लघुवित्तको सेयरमा सर्किट ब्रेकर लागेको हो । 

समूहगत परिसूचक हेर्दा जलविद्युत्, वित्त कम्पनी, निर्जीवन बिमा कम्पनी, जीवन बीमा कम्पनी तथा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) र नेपाल टेलिकम समेतको सेयर सूचीकृत रहेको अन्य समूहका परिसूचक मात्र उकालो लागेका छन् । 

चार ओटा कम्पनीको ५० करोड रुपैयाँ माथिको कारोबार भएको छ । अरुण भ्याली हाइड्रोपावरको ६७ करोड ४८ लाख मूल्यको १० लाख ८० हजार कित्ता, माथिल्लो तामाकोसीको ५८ करोड ९९ लाख रुपैयाँ मूल्यको ७ लाख ३१ हजार कित्ता, अपि हाइड्रोपावरको ५३ करोड ८० लाख मूल्यको ८ लाख ५५ हजार कित्ता र सिनर्जी पावर डेभलमपेन्ट लिमिटेडको ५० करोड ४५ लाख रुपैयाँ मूल्यको ६ लाख ४५ हजार कित्ता सेयर कारोबार भएको छ । 

धेरै कारोबार हुने कम्पनीहरूमध्ये माथिल्लो तामाकोसीको चार हजार नौ सय ६६, अपिको ४ हजार दुई सय १४, अरुण भ्यालीको ४ हजार एक सय ६१ तथा सिनर्जीको ३ हजार ६ सय ८९ ओटा कारोबारबाट उक्त परिमाणमा सेयर खरिद–बिक्री भएको थियो । 

सोमबार २२४ कम्पनीका १४ अर्ब १३ करोड ७३ लाख रुपैयाँ मूल्यका २ करोड ५३ लाख ९३ हजार ६ सय ९९ कित्ता सेयर एक लाख २८ हजार नौ सय ५९ ओटा कारोबारबाट खरिद–बिक्री भएका छन् ।