शनिबार ०३ जेठ, २०८२
Saturday, May 17, 2025

चोभारमा सुख्खा बन्दरगाह सम्पन्‍न हुँदै, सञ्चालन मोडालिटीमा अन्यौल

काठमाडौँ– काठमाडौँको चोभारमा सुख्खा बन्दरगाह सम्पन्न हुने चरणमा पुगेको छ । स्थानीयबासीको आन्दोलन तथा कोभिड–१९ का कारण आयोजना अपेक्षा गरिएभन्दा झण्डै डेढ वर्ष ढिला गरी सम्पन्न हुन लागेको हो । परियोजनाको ठेक्का लाग्न नै डेढ वर्ष ढिला भएको थियो भने कार्यान्वयनको क्रममा समेत गरी आयोजना अपेक्षित समयभन्दा तीन वर्ष ढिला सम्पन्न हुन लागेको हो । 

विश्व बैंकको सहयोगमा निर्माण भएको यो सुख्खा बन्दरगाह काठमाडौं उपत्यकामा हुने उपभोग र यसको नजिक बाहिरी भागमा औद्योगिकरण, उद्योगको कच्चा पदार्थलाई लक्षित गरी विकास गरीएको हो । खासगरी हस्तकलाका सामग्री, पस्मिना लगायतको निर्यातलाई पनि सहजीकरण गर्ने आकलन गरिएको छ । खासगरी कुल व्यापारको झण्डै ४० प्रतिशत काठमाडौं उपत्यका र आसपासका जिल्लाले ओगट्छन् । 

हिमाल सिमेन्ट बन्द भएपछि सरकारले उद्योगको जग्गालाई बन्दरगाह र अन्तर्राष्ट्रिय प्रदर्शनी स्थलका रूपमा अघि बढाएको थियो । सुख्खा बन्दरगाह निर्माण भएपनि अन्तर्राष्ट्रिय प्रदर्शनीस्थलको काम भने अघि बढेको छैन । 

नेपाल–भारत क्षेत्रीय व्यापार तथा यातायात परियोजना अन्तर्गत २ करोड २० लाख अमेरिकी डलर लागत अनुमान गरिएको यस बन्दरगाह र प्रदर्शनी स्थलका लागि हिमाल सिमेन्टको अधिग्रहण गरिएको १,०५४ रोपनीमध्ये २०० रोपनी जग्गामा सुख्खा बन्दरगाह रहेको छ । 

चोभारस्थित सुख्खा बन्दरगाहमा २० फुटका ६२६ कन्टेनरसहित, २०५ ट्रक लोड तथा अनलोड गर्न सक्ने क्षमता, ६ ओटा गोदाम रहनेछन् । यो बन्दरगाह सन् २०३९ सम्म बढ्न सक्ने ट्राफिक आवागमनको परिकल्पनाका आधारमा डिजाइन गरिएको हो  । 

'सञ्चालन मोडालिटी छिट्टै टुङ्गो नलगाउने हो भने चोभार सुख्खा बन्दरगाह जनकपुर ल्याएर घुम्टो उडाएर राखिएको रेल जस्तै हुनसक्ने जोखिम देखिन्छ ।'

सुख्खा बन्दरगाह रहेको स्थलमा नेपाल इन्टरमोडल यातायात विकास समितिको कार्यालय सहित गोदामघर, पार्किङ्ग लट, लिटीगेशन सेड तथा भन्सार जाँचपास, क्वारेन्टीन, बैंक लगायत सेवा उपलब्ध हुनेछन् । 

परियोजना अवधारणा तयार गर्दा भविष्यमा भारत र चीनियाँ रेलमार्गबाट समेत जोड्ने अवधारणामा यो बन्दरगाह निर्माण गर्ने उल्लेख थियो ।

सञ्चालन मोडालिटीमा अन्यौल 

चोभारमा सुख्खा बन्दरगाह निर्माण सम्पन्न हुने चरणमा प्रवेश गरिसकेको भएपनि यसको सञ्चालन मोडालिटी टुङ्गो लागेको छैन । खासगरी देशको एकमात्र रेल जडित सुख्खा बन्दरगाह वीरगन्जको ट्राफिक कम गर्नका लागि विकल्पमा चोभारमा सुख्खा बन्दरगाह निर्माण गरिएको हो । सुख्खा बन्दरगाहमा कार्गो आइसकेपछि त्यसको भन्सार जाँचपास लगायतको काम हुन्छ । तर, अहिलेसम्म वीरगञ्जबाट सीधै कार्गो चोभार कसरी ल्याउने भन्नेमा अन्यौल छ ।

‘वीरगन्जबाट इलेक्ट्रोनिक कार्गो ट्रयाकिङ सिस्टम (इसीटीएस) लागू गरी चोभारमा ल्याउने र यहीं भन्सार चाँचपास गर्ने एउटा विकल्प हुन्छ,’ अन्तर्राष्ट्रिय व्यापार मल्टिमोडल यातायातका जानकार रविशंकर सैंजू भन्छन्, ‘नयाँ दिल्लीका लागि तुग्लगावाद सुख्खा बन्दरगाहमा यस्तै मोडल विकास गरिएको छ ।’

यदि भन्सार जाँचपास वीरगञ्जमै गर्नुपर्ने अनिवार्य गरियो भने चोभारले विजनेस पाउने सम्भावना न्यून रहेको उनले बताए । बन्दरगाह सञ्चालन गर्ने नेपाल इन्टरमोडल यातायात विकास समितिले भन्सार विभागसँगको सहकार्यमा सञ्चालन मोडालिटी छिटो टुङ्ग्याउनुपर्ने जानकारहरू बताउँछन् । 

भन्सार विभागका अधिकारीहरू भने वीरगन्ज वा सीमाका अन्य बन्दरगाहमा जाँचपास नगरी सीधै चोभारमा पुग्नेगरी अतिरिक्त तालाका आधारमा मात्र मालवहाक ट्रक तथा कन्टेनर छाड्न नसकिने बताउँछन् । कार्गो कन्टेनगरको विद्युतीय ट्रयाकिङ्ग (अनुगमन) एउटा मोडालिटी हुनसक्ने भएपनि अधिकारीहरू अहिलेसम्म निष्कर्षमा पुगिसकेका छैनन् ।

सञ्चालन मोडालिटी छिट्टै टुङ्गो नलगाउने हो भने चोभार सुख्खा बन्दरगाह जनकपुर ल्याएर घुम्टो उडाएर राखिएको रेल जस्तै हुनसक्ने जोखिम रहेको नेपाल इन्टरमोडल यातायात विकास समितिकै एक पूर्व कार्यकारी निर्देशकले बताउँछन् । उनले इन्टरमोडल यातायात विकास समितिले चोभार आउने ट्रक, कन्टेनरको तर्फबाट जमानत दिने र चोभारमा  भन्सार जाँचपास भएपछि फुकुवा गर्ने विधिमा जानुपर्ने विकल्प सुझाए ।