नवजात शिशु लिएर रातभर सडकमा बस्नुपर्दा ...
टीकापुर - कैलाली भजनीकी रुप्सा विक रातभर ढुक्कले सुत्न सक्दिनन् । उनी हरेक रात बाढी आएको सपना देख्छिन् । गत वर्षको बाढीपछि उनमा यस्तो समस्या देखिएको हो । सुत्केरी अवस्थामा रहेकी विक नवजात शिशुसँगै गत वर्षको साउन १४ गते आराम गरिरहहेकी थिइन्। आमाछोरा मस्त निन्द्रामा थिए । एक्कासि छिमेकीले हल्ला गरेको सुनिन् र निन्द्राबाट ब्यूँझिइन् । यतिबेला सुतेको खाट पानीले डुब्नमात्र बाँकी थियो ।
'छिमेकीले सुतेको शिशु उठाएर दौडिए, म पनि एकसरो लुगामा भागेर ज्यान जोगियो', विक सम्झिन्छिन्, 'घरमा भएका केही सामान लिन सकिएन, बच्चा र आफ्ना लागि चाहिने लुगाफाटा पनि बोक्न सकिएन । सुत्केरी अवस्थाकी म शिशु बोकेर एक सातासम्म सडकमा बस्नुपर्यो ।'
उनको निन्द्रा अहिले पनि उस्तै छ । यसपछिका दिनमा उनी कहिल्यै राम्ररी नसुतेको बताउँछिन् । 'अहिले छोरा १ वर्षको भयो, सुत्केरी अवस्थामा आराम गर्नुपर्ने, पोषिलो खानुपर्ने समयमा निकै तनाव र दुःख पाइयो', उनी भन्छिन्, 'वर्षात् सुरु भएदेखि बाढी आउने त्रासले सताउँछ । आकाशमा बादल लागेको दिन बाढीको पीडा सम्झन्छु, म त निन्द्रामै झस्कने गर्छु ।'
कैलाली बाढी डुबानको उच्च जोखिममा रहेको जिल्ला हो । यहाँका नदी कर्णाली, मोहना, पथरिया, कन्द्रा र काँडामा पानीको बहाव बढेमा भजनी र टीकापुर नगरपालिका, जोशीपुर र जानकी गाउँपालिका बाढीको जोखिममा रहन्छन् । गत वर्षको बाढीमा एक साता विस्थापित भएका टीकापुरका ज्येष्ठ नागरिक मोतिसिंह साउदमा पनि रुप्साको जस्तै समस्या छ । साउन महिनामा आएको बाढी बस्तीमा पसेपछि गाउँमा रहेको उद्धार समितिले मोतिसिंहलाई उद्धार गरी गाउँमै रहेको एउटा विद्यालयमा राख्यो । राम्ररी हिँडडुल गर्न नसक्ने मोतिसिंहलाई विद्यालयमा बस्दा धेरै कठिन भयो ।
'विद्यालयमा शौचालय जान, गर्मी छल्न, लामखुट्टेको टोकाइले सतायो', उनी सम्झन्छन्, 'एक सातापछि घर फर्कदा घरमा माटो र हिलोमात्र भरिएको थियो । अन्नपात सबै बगेर नष्ट भएको थियो ।' मोतिसिंहलाई पनि गत वर्षको बाढीपछि विभिन्न खाले समस्या सुरु भएको छ ।
निदाउन नसक्ने, डराउने, निन्द्रामा छट्पटिने जस्ता समस्या भइरहेका छन् । 'गत वर्षको बाढीको भोगाइपछि यस्तै हुन्छ, बुढेसकालमा यस्तै हुन्छ होला सोँच्छु', विक भन्छिन्, 'अरुलाई पनि सोध्छु, बाढीको पीडा भोगेका अरुलाई पनि यस्तै त्रास हुनेरहेछ । छिमेकीहरु हामीलाई नि डर लाग्छ भन्छन् ।'
यसरी स्वास्थ्यमा समस्या देखिए पनि उनीहरूको उपचारमा कसैको ध्यान जान सकेको छैन । प्रभावित क्षेत्रका नागरिकले यसलाई स्वास्थ्य समस्या हो भन्ने बुझेका छन् । टीकापुर–७ का स्थानीयवासी भोजराज ढुङ्गाना प्रभावित क्षेत्रका नागरिक मनोत्रासमा रहेकाले उनीहरूको उपचार, स्वास्थ्य परीक्षणजस्ता कार्यमा स्थानीय सरकारले ध्यान दिनुपर्ने बताउँछन्।
'डरले यस्ता समस्या देखिएका छन् तर यसले भविष्यमा मनोसमस्या निम्त्याउने देखिन्छ', उनी भन्छन्, 'सरकारले उपचार तथा सान्त्वना दिने काम गर्नुपर्छ ।'
टीकापुर जनस्वास्थ्य प्रवद्र्धन उपशाखाका संयोजक बलबहादुर रावल यस्ता खाले समस्याले भविष्यमा मनोरोगी बनाउने भएकाले समयमै उपचारमा जान सुझाव दिन्छन् ।
'हाम्रो पालिकामासमेत मनोपरामर्शदाता छन्, समस्या भएका स्वास्थ्य संस्थामा आए हामी चिकित्सकसम्म पुगाउन सघाउनेछौँ', उनी भन्छन् । 'शरीरमा आउने परिवर्तन, आनीबानीमा हुने फरक व्यवहारलाई सामान्यरुपमा नलिऔँ, उपचारमा आए समस्याको केही समाधान हुन्छ ।'
बाढीले गत वर्ष यी पालिकामा हजारौँ नागरिक प्रभावित भएका थिए । सयौँ विघा खेतीयोग्य जमीन बगर भएको थियो । प्रभावित क्षेत्रका नागरिक यसवर्ष पनि वर्षात् सुरु भएदेखि रातिको समयमा निदाउन सकेका छैनन् । कर्णाली नदीले टीकापुर, भुराखानी, शाहीपुर र श्रीलङ्का क्षेत्रमा कटान तीव्र पारेपछि त्यहाँका नागरिकमा समेत यस्तै त्रास छ ।
शाहीपुरमा तटबन्ध भत्किएपछि नेपाली सेना, सशस्त्र प्रहरी बल, कुला समितिका उपभोक्ता, रानी जमरा कुलरिया सिँचाइ आयोजना र टीकापुरले जैविक तटबन्ध निर्माण गरिरहेका छन् । दुर्गा देवकोटा/रासस

कैलालीमा नक्षत्र वाटिका

भीरबाट लडेर महिलाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_uYo6SbrWTv_rumxl2apwoyuvflfztwpvdgjc9ydofrmgqonrriyntgyhlvgnyzoem7wzd7a_htbscOYam3_lbhrjdthtfl1mzmhm7x8kogur1u27grexrt0tph9koshzgkpdbphsc5rgu2t.jpg)
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

प्रतिक्रिया