सोमबार २२ बैशाख, २०८२
Monday, May 05, 2025

वडा कार्यालय भवनको उद्घाटन गर्दै नेता नेपालले भने, संघीय व्यवस्थालाई बलियो बनाउनु पर्छ

फाइल तस्‍बिर

काठमाडौँ - नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले बहुदलीय लोकतान्त्रिक पद्धतिलाई बलियो बनाउनका लागि संविधानको सफल कार्यान्वयन गर्नुपर्ने बताएका छन् । शनिबार ललितपुर महनगरपालिका २ नम्‍बर वडा कार्यालयको नवनिर्मित भवनको उद्घाटन गर्दै नेता नेपालले राज्यको विभिन्न निकायकोबीचमा अधिकार र कर्तव्‍यको सन्तुलन कायम गरेर संघीय व्यवस्थालाई बलियो बनाउनुपर्ने र संविधानको सफल कार्यान्वयन गर्नुपर्ने धारणा राखे ।

गणतन्त्र र संघीयतालाई संस्थागत गर्न र कानुनी शासनको प्रत्याभूति गर्नका लाग संविधान निर्माण भएको भन्दै संविधानको रक्षा गर्नु सवैको कर्तव्य भएको उनले बताए। देशमा जनता सुखी र मलुक समृद्धि होस भन्ने सवैको चाहना रहेको उनको भनाइ छ ।

नेता नेपालले संघीय, प्रदेशीक र स्थानीय तहको संरचनाले सिंहदरबारमा केन्द्रित सेवा सुविधा नागरिकको घर घरमा पुराएकाले सवै जनताले यसको महशुस गर्नेगरी सवै तहले काम गर्नुपर्ने जिकिर गरे ।

त्यस्तै ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनले ललितपुर महानगर सार्वजनिक, प्रति र ऐलानी जग्गामा कुनै संरचना बनाउन नदिने नीति नै पारित गरेको बताए । उनले शंकमुलमा बिधुतीय शवदाह निर्माण गर्ने काम सुरु गरिसकेको जानकारी दिए ।