सोमबार २२ बैशाख, २०८२
Monday, May 05, 2025

पूर्वप्रधानमन्त्री दाहाल र उर्जामन्त्री भुसालसहितको टोली मनाङमा

मनाङ - बाढीपहिराले पुर्‍याएको क्षति निरीक्षणका लागि पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल शनिबार हिमाली जिल्ला मनाङ पुगेका छन् । असार १ गतेको बाढीपहिराले क्षति पुर्‍याएको मनाङको भौतिक क्षतिको अवलोकनमा उनीहरू मनाङ आएका हुन् । जिल्लाका विभिन्न स्थानमा पुर्‍याएको क्षतिको निरीक्षण गरी समाधानको उपाय र आवश्यक सहयोगका लागि उनीहरू मनाङ आका हुन् । 
    
यहाँ आएका पूर्वप्रधानमन्त्री दाहाल, ऊर्जामन्त्री भुसालसँगै पूर्व मन्त्रीद्वय देव गुरुङ र टेकबहादुर गुरुङ, ऊर्जा सचिव, विद्युत् प्राधिकरणका प्रमुखलगायतको टोलीले मनाङमा बाढीपहिराले क्षति पुर्‍याएका क्षेत्रको निरीक्षण गर्ने कार्यक्रम छ । 

टोलीले मनाङ ङिस्याङ गाउँपालिकाको तिमाङ, चामे गाउँपालिकाको चामे, नासों गाउँपालिकाको दानाक्यु, तिल्चेताललगायतका स्थानको भौतिक क्षति पुगेको संरचनाको अवलोकन गर्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए । 

उनीहरूले भौतिक क्षति पुगेको संरचनाको मर्मत तथा सम्भारका सम्बन्धमा सम्बन्धित निकायसँग छलफल गर्ने कार्यक्रमसमेत रहेको छ । विद्युत् प्राधिकरण, सिँचाइ, स्वास्थ्य, बस्तीमा पुनर्वासको अवस्थाका बारेमा अवलोकन तथा निरीक्षण र समाधानको उपायका सम्बन्धमा छलफल गर्ने कार्यक्रम रहेको छ । 

मस्र्याङ्दी नदीमा आएको बाढीपहिराका कारण मनाङ अन्धकारमा रहेकाले लघु जलविद्युत्, विद्युत् प्राधिकरण, सिँचाइ र खानेपानीका सम्बन्धमा छलफल हुने बताइएको छ । रासस