शनिबार ०३ जेठ, २०८२
Saturday, May 17, 2025

पूर्व प्रधानमन्त्री र अर्थमन्त्रीले भने, ‘उद्यमशीलता र रोजगारी बढाउने मौद्रिक नीति ल्याऊ’

काठमाडौँ– पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बैंक तथा वित्तीय संस्थाको वित्तीय मध्यस्थताको शुल्क (स्प्रेड) घटाउनुपर्ने बताएका छन् । अर्थतन्त्रको पुनरुत्थानका लागि उत्पादन र रोजगारी बढाउनुपर्ने अवस्था रहेको भन्दै उनले उच्च स्प्रेड कायम गरेर नाफा कमाउनेभन्दा पनि अहिले अर्थतन्त्रका अन्य ‘प्लेयर’हरूलाई बचाउनुपर्ने आवश्यकता रहेका उल्लेख गरे । 

अर्थ समितिले आगामी मौद्रिक नीतिका सम्बन्धमा अर्थ समितिका सदस्यहरू र सरोकारवालासँग गरेको अन्तर्क्रिया कार्यक्रममा पूर्व प्रधानमन्त्री भट्टराईले लघु, साना र मझौला उद्योग (एमएसएमईज्)लाई बचाउन यथाशक्य पुनःकर्जा र सहुलियत ऋणको व्यवस्था गर्न आग्रह गरे । 
भट्टराईले देशका सबै स्थानीय तहमा बैंक पुगेपनि कर्जाको पहुँच भने बढ्न नसकेको बताए । अहिलेपनि सीमित व्यवसायिक घरानाहरूले बैंक तथा वित्तीय संस्थाको स्रोत कब्जा गरेका छन् । एकले अर्काको बैंकबाट ऋण लिएर परिचालन गरेका छन् । ‘एकले अर्काको ढाड कन्याउने अनि राष्ट्र बैंकले हेरेर बस्ने गर्नुहुँदैन,’ भट्टराईले भने । 

त्यस्तै, पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले मौद्रिक नीति वित्त नीतिको सहयोगी भएकाले निजी क्षेत्रमा जाने कर्जा आर्थिक विस्तार, रोजगारी र उत्पादन विकासमा लगाउनुपर्ने बताए । ‘मौद्रिक नीति भनेपनि मूलतः कर्जा नीति हो,’ उनले भने, ‘अहिले ब्याजदर कम भएकाले लगानी सेयर बजार र घरजग्गामा जानसक्छ । एसेट बबल हुन नदिनेतर्फ केन्द्रीय बैंकले ध्यान दिनुपर्छ ।’