शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

राष्ट्रपति निवास बिस्तार निम्ति प्रहरी प्रतिष्ठान सार्ने निर्णय खारेज गर

सर्वहारा कम्युनिस्टका नाममा मत माग्दै प्रधानमन्त्री बनेका खड्गप्रसाद शर्मा ओलीकालमा भएका राष्ट्र हितविपरीत र राज्यलाई अधिक भार पार्ने गरी भएका निर्णय एक-एक गरी उल्टाउनुपर्ने अवस्था आएको छ । सर्वहारा वर्गको सपनाबाटै राष्ट्रपति बनेकी विद्यादेवी भण्डारीका लागि शीतल निवासभित्र भव्य, दिव्य र आलिसान महल र परिसर खडा थियो । अझ जहाँ राज्यले नयाँ भवनका निम्ति केही वर्षअघि मात्रै ६२ करोड रुपैयाँ खर्चेको थियो । 

अब त्यतिले नपुगी प्रहरी प्रशिक्षण प्रतिष्ठानको एक सय १४ रोपनी तीन आना जग्गा नाम सारी गर्ने निर्णय २०७५ भदौ २१ गते मन्त्रिपरिषद्‌बाट निर्णय गराएका थिए, पूर्ववर्ती प्रधानमन्त्री ओलीले । त्यतिबेला पनि यो निर्णयको घोर विरोध भएको थियो । तर राष्ट्रपति भण्डारी-प्रधानमन्त्री ओलीको घमण्ड, दम्भ र तानाशाही प्रवृत्तिका अगाडि कसैको जोर चलेन । यही दम्भ र अहंकारका कारण सडकमा पुगेका ओली आफूले गरेका निर्णय नउल्टाउन सरकारलाई हुँकार गरिरहेका छन् ।

ओली सरकारले गरेका राष्ट्रघाती-राष्ट्रबोझी निर्णय वर्तमान सरकारले उल्टाउने क्रम त सुरु गरेको छ, तर अति सुस्त गतिमा । ओलीकालमा जम्मा भएका फोहोर सफा गर्नै सरकारलाई धेरै समय लाग्ने भएको छ । नारायणहिटी दरबारलाई बिर्साउने गरी जसरी राष्ट्रपति निवासलाई राज्यको अथाह धन खर्ची विलासी बनाइँदै थियो, त्यो कुनै पनि हिसाबले जायज थिएन । त्यहीकारण नेपाल प्रहरीका १५ जना पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) हरूले हिजो सरकारलाई एक ज्ञापनपत्र दिएर प्रहरी प्रशिक्षण प्रतिष्ठानको इतिहास नमेट्न आग्रह गरेका छन् ।

६२ करोड रुपैयाँ खर्ची आधुनिक महल, १८ करोडको गाडी, महँगा हेलिकप्टर र ११४ रोपनी जग्गाको परिसर राष्ट्रपतिलाई अर्पण गरेर ओलीले आफू कम्युनिस्ट होइन कि फ्रान्सको लुइँ चौधौँ शासकका कित्तामा उभ्याएका थिए । पूर्वप्रहरी प्रमुखको आग्रहसँगै यो प्रकरण पुनः उठेको छ । देउवा सरकारलाई निर्णय सच्याउन दबाब परेको छ ।

गौरवशाली इतिहास र परम्परा बोकेको नेपाल प्रहरीको धरोहर विनाश गरी राष्ट्रपतिको सुविधा बढाउनु आफैँमा अहंमतावादी प्रवृत्ति थियो । यो निर्णय कुनै हालतमा कार्यान्वयन हुनु हुँदैन । ओलीकालमा भएका तुजुक प्रवृत्ति खारेज गरी नेपाल प्रहरीको पूर्ववर्ती इतिहास कायम राख्नुपर्छ ।

मुलुकमा शान्ति र सुव्यवस्था कायम गराउने संस्थालाई अपमानित गरी तेजोवध गर्ने प्रयास ओलीले गरेका थिए । सुरक्षा सम्बद्ध चुनौती र आपराधिक कार्यलाई प्रभावकारी ढंगबाट रोकथाम तथा नियन्त्रण गर्न नेपाल प्रहरीको मनोबल उच्च राखी सूचना, प्रविधि र भौतिक पूर्वाधारले सुसज्जित गर्नुपर्नेमा ओलीले प्रहरीको मनोबल गिराउने आपराधिक कार्य गरे । यो निर्णयले संगठनको सकल दर्जाका राष्ट्रसेवक प्रहरीको मान, सम्मान र प्रतिष्ठामा आँच आएको छ ।

आलंकारिक राष्ट्रपतिलाई दिव्य र भव्य महल, आलिसान प्रकृतिको परिसर, हेलिप्याड जस्ता नचाहिँदा संरचना बनाउनु राज्यका निम्ति बोझ त छँदै छ, त्यसमाथि आफूलाई सर्वहाराका हिमायती ठान्‍ने ‘कम्युनिस्ट’हरूले पनि बेइज्जत महसुस गर्नुपर्ने हो । 

उक्त प्रशिक्षण केन्द्रमा हाल आवासीय र गैरआवासीय गरी वार्षिक ८८ वटा विभिन्‍न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहका आधारभूत एवं उन्‍नत प्रशिक्षण, अनुशिक्षण, गोष्ठी र सेमिनार कार्यक्रम सञ्चालन हुँदै आएका छन् । वार्षिक दुई हजार तीन सय जना प्रहरी अधिकारीको व्यावसायिक क्षमता वृद्धि गर्ने यस्ता प्रशिक्षण कार्य प्रहरी संगठन बाहिरका पनि थुप्रै विशिष्ट प्रकृतिका व्यवस्थापकीय प्रबन्धन गर्नुपर्ने हुन्छ । 

यस्तो स्थायी संरचना मासी अन्यत्र सार्ने जुन अव्यावहारिक र गैरजिम्मेवारीपूर्ण निर्णय ओलीले गरे । नयाँ ठाउँमा त्यतिविधि संरचना निर्माण गर्न राज्यको ठूलै परिणाम धन खर्च हुनेछ । त्यसकारण राज्यलाई भार बोकाउने हुकुमी शासक ओलीको त्यो निर्णय कुनै पनि हालतमा क्षमायोग्य कार्य नै होइन । त्यसमाथि नेपालका राष्ट्रपति आलंकारिक हो, कार्यकारी होइन । संविधानले गर्नु भनेको बाहेक राष्ट्रपतिले गर्नुपर्ने कार्य त्यति छैन । आलंकारिक राष्ट्रपतिलाई दिव्य र भव्य महल, आलिसान प्रकृतिको परिसर, हेलिप्याड जस्ता नचाहिँदा र वाहियत संरचना बनाउनु राज्यका निम्ति बोझ त छँदै छ, त्यसमाथि आफूलाई सर्वहाराका हिमायती ठान्‍ने ‘कम्युनिस्ट’हरूले पनि बेइज्जत महसुस गर्नुपर्ने हो ।

नेपाल गरिब देशमा पर्छ । सरकारी तथ्यांकअनुसार नै पनि २२ प्रतिशत नेपाली जनता आशा गरिएको भन्दा पनि गरिब अर्थात् निरपेक्ष गरिबीको रेखामुनि रहेका छन् । कोरोना कहरमा जनता भोकभोकै छन् । समाजवादको दुहाइ दिँदै झन्डै दुई तिहाइको बहुमत प्राप्त गरेको ओली सरकारले जनताका अपेक्षाविपरीत आफू र राष्ट्रपतिको सेवा सुविधा बढाउँदै लगे । आवश्यक नै नपरेको उपराष्ट्रपति निवासलाई समाज कल्याण परिषद् मासेर विराजमान गराए ।

जनताको गरिबी र मुलुकको आर्थिक अवस्था सुधार गर्नुपर्ने ठाउँमा राणाकालीन सुख-सुविधा र व्यक्तिगत पूर्वाधार बनाउनु आफैँमा राष्ट्रघाती कार्य हो । सरकारको ध्यान शासकको सुख-सुविधा होइन नागरिकको गाँसबास, स्वास्थ्योपचार, यातायात र सेवा प्रवाहमा केन्द्रित हुनुपर्छ ।

पूर्वप्रहरी महानिरीक्षकहरूले उठाएको मुद्दा गम्भीर, जटिल र मुलुकको इतिहास जोगाउने दिशामा उत्प्रेरित गर्ने रहेको छ । तसर्थ देउवा सरकारले तत्काल यो निर्णय खारेज गरी ओली सरकारले गरेका राष्ट्रघाती र जनविरोधी निर्णयहरू सच्याउनुपर्छ । जति ढिला हुन्छ, त्यति नै यसमा चलखेल गर्ने सम्भावना रहन्छ ।