शुक्रबार ०२ जेठ, २०८२
Friday, May 16, 2025

सहुलियत कर्जा सेयर बजारमा गएको पूर्वअर्थमन्त्री पुनको आशंका

फाइल फोटो

काठमाडौँ - सरकारले आर्थिक पुनरुत्थानका लागि दिइरहेको सहुलियतको रकम पुँजीबजारमा गएको हुनसक्‍ने पूर्व अर्थमन्त्री वर्षमान पुनले आशंका गरेका छन् । बुधबार अर्थ समितिले आउँदो मौद्रिक नीतिमाथि राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग गरेको सवालजवाफमा पुनले यस्तो आशंका गरेका हुन् ।

'लगानीको क्षेत्र खुम्चिएकाले सहुलियत कर्जासमेत घुमाउरो बाटोबाट पुँजीबजारतिर गएको आशंका छ,' पुनले भने, 'सरकारले राहतमा दिएका सहुलियत कर्जाका रकम घुमिफिरी पुँजीबजारतिर पो गएका छन् कि ? सेयर बजारमा फोकाहरू देखिएका छन् । यो फोका अचानक फुट्ने अवस्था आउने हो की भन्ने अर्को चुनौती देखिन्छ ।'

पूर्व अर्थमन्त्री पुनको प्रश्नमा गभर्नर अधिकारीलले जवाफ दिए, 'यहाँको आशय बैंकले दिइरहेको कर्जा, सहुलियत, राहथ उत्पादनशील क्षेत्रको पुनरुत्थानमा केन्द्रित छैन भन्ने छ । हामीले प्रदान गरेका कर्जाहरू उत्पादनशील क्षेत्रमै केन्द्रित रहेको आश्वस्त पार्न चाहन्छु ।'

सरकारले प्रदान गर्ने कर्जा सुविधामा ठूला ऋणीले मात्रै लाभ लिइरहेकोतर्फ पूर्वअर्थमन्त्री पुनको चासो थियो । 

गभर्नर अधिकारीले सेयर बजार र ऋणको तथ्यांकमा खासै एकअर्काले प्रभाव पारे जस्तो सम्बन्ध नदेखिएको उनले बताए । उनले भने, 'ऋण र सेयर बजारबीच नकारात्मक सहसम्बन्ध (नेगेटिभ कोरिलेसन) देखिएको छ ।'

पुनले गभर्नरले प्रस्तुत गरेका तथ्यांक आफैमा नराम्रो नभए पनि त्यससम्बन्धी चुनौती बढी रहेको बताए । उनले कोभिड-१९ को तेस्रो लहरको चुनौतीका लागि तयार हुनुपर्ने समेत बताए । उनले भने, 'पहिलो कोभिड लहरमा खराब कर्जा बढ्यो भन्ने गुनासो थियो । त्यसलाई रिपेमेन्ट र रेसेड्युलिङले अलि बढी सहज भएको छ । अब तेस्रो लहरका लागि तयार रहनुपर्छ ।'

वैदेशिक रोजगारीमा जानेको संख्या घटिरहँदा स्वदेशमा रोजगारीका अवसर फराकिलो नभइसकेको अवस्थामा गरिबी बढ्ने चुनौती थपिएको पुनको भनाइ छ । उनले भने, 'रेमिट्यान्स बढ्या छ । फर्मल च्यानलबाट आएको देखिन्छ । अनौपचारिक ढंगले आउने गरेको रेमिट्यान्स फर्मल च्यानलबाट आएको छ । तर, भोलिका दिनसम्म यहीँ तथ्यांकमा सीमित भइरहने अवस्था नहुनसक्छ । रेमिट्यान्स घट्ने अवस्थामा गरिबी अझै बढ्ने भएकाले रोजगारी सिर्जना गर्ने कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्छ ।'

आयात बढिरहँदा भुक्तानी सन्तुलनमा समेत चाप परेको पूर्वअर्थमन्त्री पुनको बुझाइ छ । उनले भने, 'डलरको सञ्चिती घट्दै जाँदा भुक्तानी सन्तुलनमा चाप बढ्ने देखिन्छ।'