बाढीले मेलम्ची खानेपानी अनिश्चित
आगामी असारमा ल्याउने प्रयास

काठमाडौँ - सबै कुरा योजनाअनुसार अघि बढ्यो भने मेलम्ची खानेपानी काठमाडौंमा पुनः वितरण सुरु गर्न अबको एघार महिना कुर्नुपर्ने भएको छ ।मेलम्ची खानेपानी विकास समितिले तयार पारेको ‘आयोजना पुनःस्थापना कार्यायोजना’ अनुसार आगामी माघ महिनामा स्थायी बाँध र हेडवर्क्स (मुहान) पुनःनिर्माण तथा मर्मत कार्य प्रारम्भ भई जेठ २०७९ मा पूरा हुने लक्ष्य छ ।
स्थायी बाँध र मुहानको पुनःनिर्माण गर्न जानुअघि विभिन्न पुल, बगाइएका प्रवेश मार्ग फेरि बनाउनुपर्नेछ । समितिका कार्यकारी निर्देशक रामकुमार श्रेष्ठका अनुसार वर्षायामभरि कुनै पनि काम गर्न नसकिने र हिउँद लागेपछि मात्र गेगरान हटाउने, बगाइएका प्रवेश मार्ग बनाउने काम सुरु हुने भएकाले करिब एक वर्ष मेलम्चीको पानी काठमाडौं ल्याउन सकिने छैन ।
‘हाम्रो अनुमान अनुसार मेलम्ची नदीमा १० देखि १५ मिटर अग्लो गेगरान (डेब्रिज) ढाकिएको छ,’ श्रेष्ठले मंगलबार इकागजसँग भने, ‘अस्ति आएको बाढीले थप चार मिटर गेगरान थपिएको छ ।’
श्रेष्ठका अनुसार वर्षा सकिएपछि आगमी असोजबाट किउलदेखि टिम्बु हुँदै हेडवर्क्स क्षेत्रसम्मको आठ किलोमिटर पूर्ण रुपमा क्षति भएको सडकको ट्रयाक आगामी पुसमा पूरा गर्ने लक्ष्य छ । त्यस्तै मेलम्ची बजारदेखि अम्बथानसम्मको २२ किलोमिटर पहुँच मार्ग र चारवटा पक्की पुलसहितको पुनःस्थापना तथा स्तरोन्नति कार्य आगामी असार २०८० सालमा पूरा हुन सक्ने कार्ययोजनामा छ ।
त्यस्तै हेडवर्क्स क्षेत्रमा दुईवटा र पहुँचमार्गमा तीनवटा गरी जम्मा पाँचवटा अस्थायी ह्युमपाइप कल्भर्ट निर्माण कार्य २०७८ फागुनमा पूरा गर्न सकिने श्रेष्ठले बताए ।
हेडवर्क्स क्षेत्र, डाइभर्सन टनेल (पानी पठाउने सुरुङ) को गेगरान (डेब्रिज) उत्खनन कार्य आगामी फागुनमा सकिनेछ । ‘अस्थायी बाँध २०७९ वैशाखभित्र सकिने हाम्रो अनुमान छ,’ श्रेष्ठले भने, ‘हामी सकेसम्म मेलम्चीको पानी चाँडो ल्याउने कोसिस गर्नेछौं ।’
त्यस्तै आयोजना पुनःस्थापना कार्ययोजना अन्तर्गत मुहानसम्म पुग्ने वैकल्पिक मार्ग (सिन्धु–कुटुमसाङ–रिबर्मा) स्तरोन्नति गर्न एक वर्ष लाग्नेछ । यो काम आगामी माघ महिनामा सुरु गर्ने योजना छ । त्यस्तै हेडवर्क्स क्षेत्रका दुईवटा पुल निर्माण कार्य पनि आगामी माघमा पूरा गर्ने लक्ष्य छ । बाढीले मेलम्ची नदीको सतहमा (रिभर बेड) मा घोप्ट्याएको गेगरान हटाउनै एक वर्ष लाग्ने श्रेष्ठको अनुमान छ । यो कार्य सिंचाइ विभाग र नेपाली सेनाको सहयोगमा गर्ने योजना रहेको उनले बताए । त्यसपछि स्थायी बाँध र हेडवर्क्स पुनःनिर्माण तथा मर्मत कार्य आगामी माघमा सुरु भई २०७९ को जेठमा सक्ने कार्य योजना छ ।
यति भयो क्षति
गत असार १ गते मेलम्ची खोलामा आएको बाढीले मेलम्ची बजारदेखि हेडवर्क्स क्षेत्र अम्बाथानसम्मको २२ किलोमिटरमध्ये आठ किलोमिटर र याङ्ग्रीतर्फ पनि पाँच किलोमिटर सडक पूर्ण क्षति भएको थियो । बाढीले उक्त सडक खण्डमा पर्ने ६ वटा पक्की पुल बगाएको छ । बाढीले हेडवर्क्स डाइभर्सन टनेलको दुई सय १० मिटर खण्ड र अम्बाथान अडिट टनेल (मुख्य सुरुङ जाने बाटो) को तीन सय मिटर खण्डमा लेदो भरिएको आयोजनाले जनाएको छ ।
हेडवर्क्समा पक्की बाँध, गेटहरु, जेनेरेटर घर र नियन्त्रण गृहजस्ता पक्की संरचनाहरु पुरिएका छन् । निर्माण सामग्री र उपकरणहरु बगाएको उक्त बाढीले ठेकेदारको मजदुर क्याम्प पनि बगाएको छ । ‘हाम्रो प्रारम्भिक अनुमान अनुसार एक अर्ब ८८ करोड रुपैयाँको क्षति पुगेको छ,’ श्रेष्ठले भने, ‘अझ हेडवर्क्समा पुरिएका संरचनाहरुमा एको क्षति र अनुमानित लागत विवरण गेगरान सफा गरिसकेपछि मात्र यकिन गर्न सकिन्छ ।’
आयोजनाको मुख्य सुरुङको परीक्षण सञ्चालन कार्यनिम्ति गत फागुन १० गतेदेखि सुरुङमा पानी सञ्चालन गरिएको थियो । गत चैत दोस्रो सातादेखि असार १ गतेसम्म दैनिक १७ करोड लिटर प्रशोधित पानी काठमाडौं उपत्यकामा वितरण गरिएको थियो । सुरुङका् प्राविधिक निरीक्षणका लागि गत असार १ गतेबाट पानी सञ्चालन बन्द गरिएको थियो । हालसम्म ३० अर्ब १५ करोड ६२ लाख रुपैयाँ खर्च भएर आयोजनाको भौतिक प्रगति ९९ प्रतिशत सकिएपछि बाढीको विनाशले मेलम्ची आयोजना अनिश्चित बनेको छ ।
अघिल्ला प्रधानमन्त्री केपी ओलीको मेलम्ची खानेपानी आयोजना उद्घाटन गर्ने रहर पूरा गर्न बनाइएको अस्थायी बाँध (कफर ड्याम) पूर्ण रुपले बगाएको छ । यही अस्थायी बाँधले पानी छेकी सुरुङभित्र हुलिएको थियो ।
निरीक्षणका लागि मुख्य सुरुङ बन्द गरिएको भोलिपल्ट मेलम्चीमा ठूलो बाढी आएको थियो । ‘बाढी आएका बेला उक्त मुख्य सुरुङ बन्द नगरिएको भए त्यसले सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रलाई समेत क्षति पुर्याई अर्बाैं रुपैयाँका संरचना नाश हुने थिए,’ एक कर्मचारीले भने ।

सुदूरपश्चिम विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोड बजेट स्वीकृत

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

क्याटलले सेरेसको प्लान्टभित्र सुरु गर्यो “फ्याक्ट्री-इन-फ्याक्ट्री” मोडेलमा ब्याट्री…

सुनको मूल्य बढ्यो, कतिमा कारोबार हुँदैछ?

विदेशी मुद्रा कतिमा हुँदैछ कारोबार ?

काठमाडौंमा खुल्यो करेन्ट पोइन्टः करेन्ट नुडल्स पारखीले नयाँ स्वाद र फ्लेबरको मज्…

प्रतिक्रिया