सोमबार ०५ जेठ, २०८२
Monday, May 19, 2025

काठमाडौँ उपत्‍यकामा निषेधाज्ञा थप कडाइ गरिने

काठमाडौँ - कोभिड-१९ संक्रमण बढेकाले उपत्यकामा निषधाज्ञामा थप कडाइ गरिने भएको छ । संक्रमितको संख्या बढ्दै गएकाले निषेधाज्ञा थप कडाइ गरिने काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।

'बजार तथा खुला स्थानमा मानिसहरूको भिडभाड बढेकाले त्यस्ता कार्यलाई निरुत्साहन गर्छौँ,' पराजुलीले इकागजसँग भने,' मास्क नलगाइ हिड्ने र जनस्वास्थ्यका मापदण्ड पालना नगर्नेलाई नियन्त्रणमा लिएर जरिवाना लिइन्छ ।'

सार्वजनिक यातायात सञ्चालनको विषयमा तीनै सीडीओको बैठकले निर्णय गरिने पराजुलीले बताए । निषेधाज्ञाको प्रकृति कस्तो हुने भन्नेबारे आगामी बैठकले निर्णय गर्ने उनले प्रस्ट पारे । निषेधाज्ञा खुकुलो बनाएपछि संक्रमण बढेकाले केही कडाइ गर्न लागेको उनको भनाइ छ ।

केही दिनयता बढेको संक्रमणको संख्यालाई अध्ययन गर्दा मानिसको चहलपहल घटाउने कार्यलाई प्रोत्साहन गरिने पराजुलीले बताए । मुख्य कुरा जनस्वास्थ्यको मापदण्ड पालना गराउने शर्त पहिलो प्राथमिकतामा रहेको उनको भनाइ छ ।

कोभिडको दोस्रो लहर आएसँगै मुलुकमा वैशाख १६ गतेबाट काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गरिएको थियो । पछिल्लो समय नागरिकको जनजीवन कष्टकर भएकाले जिल्ला प्रशासनले निषेधाज्ञा खुकुलो बनाउँदै गएको हो । सार्वजनिक यातायात र होटल तथा रेष्टुरेन्टले टेक अव वेको सुविधाबाट सेवा प्रदान गर्दै आएका छन् ।