महाकालीमा झोलुंगे पुल बनाउन भारतकै अवरोध

काठमाडौं - भारतीय एसएसबीले तुइन काटेर दार्चुलाका जयसिंह धामीको मृत्यु भएकै ठाउँमा नेपाल सरकारले बनाउन लागेको झोलुंगे पुलमा भारतीय पक्षको अवरोध कारण समयमा सम्पन्न हुन नसकेको पाइएको छ ।
दार्चुलाको ब्यास गाउँपालिका-२ खाङदाङ मालघाटमा नेपाल सरकारले महाकाली नदी आउजाउ गर्ने झोलुंगे पुल बनाउन लागेको स्थानमा भारतीय पक्षले पटक–पटक अवरोध गरेका थिए । स्थानीय पूर्वाधार विकास विभागका उपमहानिर्देशक अशोककुमार साहका अनुसार मालघाटमा पुल बनाउन भारत सरकारसित सुरुमा मौखिक सहमति भएको थियो । उक्त सहमतिका आधारमा निर्माण कार्य सुरु गर्न ठेकेदार नियुक्त भई काम सुरु गर्दा भारतीय पक्षबाट अवरोध भएको साहले बताए । उक्त अवरोधका कारण पहिलोपटक गरिएको ठेक्का सम्झौता नै रद्द गर्नुपरेको थियो ।
साहका अनुसार पछि नेपाल सरकारले उक्त ठाउँमा झोलुंगे पुल बनाउन भारत सरकारको लिखित सहमति नै लिएको थियो । ‘लिखित सहमति लिएपछि काम सुरु भएको अवस्थामा कोरोना महामारी आयो,’ साहले सोमबार इकागजसँग भने, ‘लकडाउन, निषेधाज्ञाका कारण पूरा कम हुन सकेन, ३० प्रतिशत मात्र सकिएको छ ।’
उक्त पुल समयमै बन्न पाएको भए धामीको मृत्यु हुने थिएन । मौखिक सहमति गरेर पनि काम गर्न नदिएको भारतले उसकै अर्धसैनिकले नेपालीहरू तरिरहेको तुइन काटेर हत्या गरिएकोमा सर्वत्र आलोचना भएको छ ।
एक सय ३५ मिटर लम्बाइ रहेको यो पुल दुई देशबीच आउजाउ गर्न अत्यन्त सहज हुने गरी सस्पेन्सन बृज डिभिजनले डिजाइन गरेको छ । योसहित महाकाली तर्ननिम्ति नेपाल सरकारले महाकालीमा मात्रै चारवटा झोलुंगे पुल बनाउन लागेको छ । ‘ठेकेदारलाई आज काम गर्न दिन्छ, भोलि नदिन पनि सक्छ । अनि पर्सी दिन्छ,’ साहले भने, ‘हामी प्रशासनसँग निरन्तर सम्पर्कमा रहेर काम गरिरहेका छौं, अहिले बर्खामा भने निर्माण कार्य चालू छैन । ’
विभागले एकै समयमा सुरु गरेको झोलुंगे पुल निर्माण एक सय ३० वटा सम्पन्न भए । महाकालीमा भने ठेक्का रद्द भई दोहोर्याएर गर्दा काम समय लाग्न पुगेको साह बताउँछन् । सजिलोसँग काम गर्न नपाएका कारण समय लाग्यो । ‘अब भदौबाट काम सुरु गरेर पाँच महिनामा सकिन्छ,’ साहले भने, ‘पुल बनेको भए यो घटना हुने थिएन ।’
साहका अनुसार दार्चुलाकै बाकु र बडु गाउँमा निर्माणाीधन झोलुंगे पुल करिब ९० प्रतिशत पूरा भइसकेको छ । दार्चुलाकै महाकाली तर्ने बरती र माल झोलुंगे ३० प्रतिशत मात्रै सम्पन्न भएको छ । भारततर्फ पनि निजी जग्गा पर्ने र जग्गा प्राप्तिमा धेरै समय लागेका कारण यतिका धेरै समय लाग्न गएको झाको अनुभव छ ।
पहिलोपटक २०७२ असोज २५ गते प्रधानमन्त्रीमा निर्वाचित भएकै दिन केपी ओलीले देशलाई तुइनमुक्त बनाउने घोषणा गरेका थिए । त्यसका लागि तीन अर्ब ७७ करोड रुपैयाँ निकासा दिने निर्णय मन्त्रिपरिषले गरेको थियो । त्यतिबेला देशभर ३ सय ८५ वटा तुइन हटाउने निर्णयमा ओलीले हस्ताक्षर गरेका थिए ।
पछि सस्सपेन्सन बृज डिभिजनले एक सय ४३ वटा तुइन पहिचान गरेको थियो । त्यसमध्ये एक सय ३० वटा तुइन विस्थापित भई झोलुंगे पुल बनिसकेको डिभिजन कार्यालयले जनाएको छ । हुम्ला, बझाङ, सुर्खेत, नवलपरासीलागयत सुदूर पश्चिम, गण्डक र कर्णाली प्रदेश गरी १२ वटा झोलुंगे पुल निर्माण भइरहेको उनले बताए । महाकालीमा ढिलो हुनाको मुख्य कारण भारतले समयमा सहमति नदिने, दिए पनि काम गर्न नदिने लगायतले हो ।

डिआईजी चतुर्वेदीद्वारा सीमा अपराध नियन्त्रण गर्न कडा निर्देशन

प्रहरी सहायक निरीक्षक शेर्पाले चुमिन सगरमाथाको शिखर

शिक्षा उप समितिको प्रतिवेदनमा शिक्षक महासंघको आपत्ति, अध्यक्ष भन्छन्, ‘सहमति लत्य…

‘डाइभर्सन’ बगाउँदा कान्तिलोकपथ अवरुद्ध

यसरी बनाउनुहोस् घरमा नै ५ प्रकारका आँपको अचार

आज पनि कर्णाली र सुपबाहेक अन्य प्रदेशमा पानी पर्ने

आज तपाइको भाग्य कस्तो छ? (हेर्नुहोस राशिफल)

प्रतिक्रिया