आइतबार ०८ असार, २०८२
Sunday, June 22, 2025

दलाई लामाका उत्तराधिकारी चुन्‍न किन तम्सिँदै छ चीन ?

काठमाडौँ- केही वर्षअघि तेन्जिन ग्यास्तो (हालका दलाई लामा)लाई प्रश्न सोधियो, ‘तपाईको उत्तराधिकारी को होला?’ भिक्षु, तिब्बती नेता लगायतले भरिएको हलमा दलाई लामाको जवाफ थियो, ‘यसका बारेमा छलफल गर्ने बेला भइसक्यो र ?’ 

सो बैठकको निष्कर्ष थियो, दलाई लामाको उत्तराधिकारी दलाई लामा आफैँले घोषणा गर्नेछन् । तर यस्तो निष्कर्षसँग चीन सहमत छैन । तिब्बतलाई सन् १९५१ मा आफूमा समाहित गरेको चीन भन्छ, नयाँ दलाई लामा चिनियाँ भूमिबाटै चुनिने छन् । आफ्नो अडानलाई प्रस्तुत गर्दा चीनले भन्‍ने गरेको छ, चिनियाँ कानुनका अनुसार नयाँ दलाई लामा छनौट गर्दा चीन भित्रै बसोबास गरिरहेकालाई गर्नुपर्छ । 

हालका दलाई लामा भर्खरै ८६ वर्ष पुगे । उनी एक सय १३ वर्षसम्म बाँच्ने विश्वास छ । तर नयाँ दलाई लामा चुन्‍ने लडाइ अहिलेबाटै सुरु भइसक्यो । चिनियाँ कम्युनिष्ट पार्टीको चिनियाँ सरकारले दलाई लामा छान्‍ने हक आफूलाई रहेको भन्‍न थालेपछि डर उत्पन्‍न भएको छ, कतै दुई जना दलाई लामा हुने त होइनन् । 

‘हामी त्यस्तो अवस्थामा पुग्न सक्छौँ जहाँ दुई दलाई लामा हुनेछन् । पहिलो, हालका दलाई लामाले छाड्ने संकेतहरूका आधारमा छानिने दलाई लामा । दोस्रो, चीनले छनौट गर्ने दलाई लामा,’ तिब्बत मामिलाका विज्ञ रोबर्ट बर्नेट भन्छन् । 

सन् १९५९ देखि नै १४ औँ दलाई लामा भारतमा निर्वासन जीवन बिताइरहेका छन् । उनी लगायत अन्य तिब्बती नेता भारतीय उत्तरपश्चिमी राज्य हिमाचलको धर्मशालामा बसोबास गरिरहेका छन् । त्यहीबाट उनीहरू निर्वासित सरकार समेत चलाउँछन् । दलाई लामा आफ्नो भूमिमा रहेपछि उनको हरेक क्रियाकलापको जानकारी राख्छ, भारतले । किनभने भारत आफैँ पनि तिब्बती मामिलामा चासो राख्छ । यसको कारण भनेको, भारत-चीन सम्बन्धमा तिब्बतको विशेष स्थान हुनु हो ।

पछिल्लो सीमा विवादका कारण भारत-चीन सम्बन्ध चिसिएको छ । जसकारण भारत दबाबमा छ, तिब्बत मामिलामा कठोर हुन र चीनलाई काउन्टर गर्न । तिब्बत मामिलामा कठार हुने भनेको, नयाँ दलाई लामा छनौटमा चीनको हस्तक्षेप अस्विकार गर्ने अडान राख्नु नै हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसको छनक गत महिना दिइसके । मोदीले ट्वीटरमार्फत दलाई लामालाई जन्मदिनको शुभकामना दिए । अनि निर्वासित तिब्बती सरकारका प्रमुखका अनुसार मोदी र दलाई लामा यस वर्ष (सन् २०२१) मा भेट्दैछन् । 

दलाई लामाको नयाँ उत्तराधिकारी, तिब्बत वा चीनबाटै हुनेछन् भन्‍ने छैन । यो हालका दलाई लामाले दिएको अभिव्यक्ति हो । जसले भनेका छन्, ‘नयाँ दलाई लामा कुनै फरक मुलुक भूमिबाट पनि हुनसक्छन्,’ त्यसोभए भारतकै कुनै स्थानमा नयाँ दलाई लामा भेटिए ? यसले दुई मुलुकलाई थप भिडाउँनेछ । 

गत साता एउटा फरक किसिमको समाचार आयो । त्यसमा भनियो, दलाई लामा, उनका सहयोगी र निर्वासित तिब्बती सरकारसँग सम्बन्धित धेरैको मोबाइल फोनलाई पेगासस नाम गरेको ‘स्पाइवेयर’ले निगरानी गरिएको छ । उसो त अन्य क्षेत्रका प्रबुद्ध व्यक्तिहरूको मोबाइल फोन पनि निगरानीमा छन् । भारतीय सञ्चार माध्यहरू यही दाबी गर्छन् । जे होस्, दलाई लामाको उत्तराधिकारी छान्‍ने विषयमा अन्तर्राष्टिय चासो छ । गत वर्ष मात्रै अमेरिकाले भनिसकेको छ, दलाई लामा छान्‍ने हक चिनियाँ सरकारलाई होइन, तिब्बतीलाई मात्र छ । 

नयाँ दलाई लामा चुन्‍न तम्सिनु भनेको चीनले दलाई लामाको महत्वलाई स्विकार्नु हो । दलाई लामा आफैँमा एउटा संस्था हुन् । यस किसिमको संस्थामाथि आफ्नो पकड भए तिब्बतलाई लिएर देखा पर्ने समस्या हल हुन्छ भन्‍ने चीनको बुझाइ हो ।

दलाई लामा धार्मिक गुरु मात्र होइनन्, उनी तिब्बतीका नेता समेत हुन् । उनको निधनपछि मात्रै नयाँ दलाई लामाको खोजी सुरु हुनेछ । उनले केही संकेतहरू छाडेका हुन्छन्, जसको आधारमा नयाँ दलाई लामाको खोजी गरिन्छ । जस्तै, निधन हुँदा दलाई लामाले कुन दिशातर्फ हेरिरहेका थिए, उनको दाहसंस्कार गर्दा धुँवा कुन दिशातर्फ मडारियो आदि । तिब्बतको ल्हामो लात्सो नाम गरेको तालको पनि भूमिका रहन्छ । दलाई लामाले छाडेका संकेतहरूलाई पहिल्याउदै, उनका उत्तराधिकारीको खोजीमा लागीरहँदा संकेतसँग मिल्दाजुल्दा कयौँ बालकको परीक्षा लिइन्छ । जसले निक्र्योल गर्छ, नयाँ दलाई लामा ।

अहिलेसम्म प्राय दलाई लामा तिब्बतमै भेटिएका छन् । त्यसबाहेक दलाई लामाका एक उत्तराधिकारी मंगोलियामा भेटिएका थिए भने अर्का हाल भारतभित्र पर्ने तवाङमा जन्मिएका थिए । हालका दलाई लामा तिब्बतको उत्तर पूर्वी क्षेत्रमा फेब्रुअरी, १९४७ मा जन्मिएका थिए । अब फेरि उही पुरानो प्रक्रियाबाट दलाई लामा चुनिने सम्भावना न्यून छ । किनभने चिनियाँ सरकारले आफ्नो कानुनमै, नयाँ दलाई लामा चुुनिँदा आफ्नो स्विकृती हुनु पर्ने उल्लेख गरेको छ ।  

तर चीनको यस्तो अडानलाई धर्मशालामा रहेका दलाई लामा र उनका अनुयायी इन्कार गर्छन् । ‘बौद्व धर्ममा विश्वास नै नगर्ने चिनियाँ सरकार दलाई लामाको विषयमा हस्तक्षेप गर्ने प्रयास गर्दैछ । यो हामीलाई मान्य छैन । पूरा विश्व नै यतिबेला चीनविरुद्ध खनिएको छ । यस्तोमा चिनियाँ सरकारको दलाई लामा चुन्‍ने निर्णयलाई कसैले समर्थन गर्नेछैन,’ निर्वासित तिब्बत सरकारका प्रमुख पेन्पा छिरिङले भनेका छन् । उता दलाई लामा आफैँ पनि चिन्तित छन् । उनले नयाँ दलाई लामा छान्‍ने प्रक्रियालाई राजनीतिकरण गर्न नहुने बताउँदै आएका छन् । 

दलाई लामा तिब्बतीका लागि आध्यात्मिक नेता त हुँदै हुन्, ग्लोबल सेलेब्रिटी पनि हुन् । यस्तोमा नयाँ दलाई लामा चुन्दा चीनले हस्तक्षेप गर्ने हो भने विश्वव्यापी विरोध हुनेछ । उता निर्वासित तिब्बती नेताहरुले भने नयाँ दलाई लामाको छनौटमा अहिले नै गहिरो चिन्ता जाहेर गरिहालेका छैनन् । किनभने दलाई लामाको स्वास्थ्य अवस्था राम्रो छ । अनि आफू ९० पुगेपछि उत्तराधिकारीका विकल्प दिने पनि उनले बताइसकेको अवस्था छ । ‘चीनले दलाई लामाको होइन बरु माओ वा देङ सियाओपिङका नयाँ अवतार खोज्न सुरु गरे हुन्छ,’ छिरिङ व्यङग्य गर्छन् ।

चीन र निर्वासित तिब्बतीहरूबीच सन् २०१० यता औपचारिक रुपमा कुरा भएको छैन । तर ब्याक च्यानल भने खुल्ला छ । यही ब्याक च्यानलमार्फत तिब्बतीहरू चीनलाई दबाब दिइरहेका छन्, दलाई लामालाई तिब्बत तथा बाँकी चीनको भ्रमण गर्न अनुमति दिन । दलाई लामा सन् १९५९ पछि एकपटक पनि तिब्बत फर्कन पाएका छैनन् । ‘अरु जुनसुकै विषयमा छलफल भए पनि दलाई लामाको उत्तराधिकारीका विषयमा भने चीनसँग कुनै किसिमको छलफल हुन सक्दैन । दलाई लामा आफैँले आफ्नो उत्तराधिकारी चुन्‍नु हुनेछ । चीनको जबरजस्ती चल्दैन । बरु उसले बौद्ध धर्म के हो भन्‍नेबारेमा ज्ञान लिन सुरु गर्दा चाँहि हुन्छ,’ छिरिङ भन्छन् । 

चीन सरकारले न त दलाई लामाको कुरा सुनेको छ न त छिरिङको चेतावनीलाई नै महत्व दिएको छ । बरु उसले नयाँ दलाई लामा चुन्‍न आवश्यक गृहकार्य सुरु गरिसकेको छ । तिब्बत विज्ञ बर्नेटका अनुसार चिनियाँ सरकारले २५ सदस्यीय टोली बनाएको छ, जसलाई दलाई लामा छान्‍ने प्रक्रिया सुरु गर्नका लागि आवश्यक चाँजोपाँजो मिलाउने जिम्मेवारी दिइएको छ । ‘चीनले पछिल्ला १० वर्षमा धेरै गृहकार्य गरेको छ । तिब्बतमै रहेका लामाहरूसँग सम्बन्ध सुधारेको छ । उनीहरूलाई चीनका विभिन्‍न सहरको भ्रमण गराएको छ । अनि चिनियाँ सरकारको विरोध नगरे चीनमै रहन दिइने पनि ती लामाहरूलाई प्रस्ताव गरिएको छ । यसकारण, समय आउँदा उनीहरूले चिनियाँ सरकारको समर्थन गर्नेछन्,’ बर्नेटले भने । 

हुन त चीन सन् १९९५ को घटना नदाहोेरियोस भन्‍नेमा पनि सजग देखिन्छ । त्यसबेला दलाई लामाले ६ वर्षीय गेधुन चोकी निमालाई नयाँ पान्चेन लामा घोषणा गरेका थिए । त्यो पनि चिनियाँ सरकारलाई नसोधी । नयाँ पान्चेन लामा घोषित भएको तीन दिन पछि नै निमा गायब भए । उनको अहिलेसम्म पनि पत्तो लागेको छैन । बौद्ध धर्ममा दलाई लामा पछि महत्वपूर्ण मानिने पान्चेन लामाको नयाँ अवतार चिनियाँ सरकारले छान्यो । जसलाई अहिले पनि अधिकांश तिब्बती अस्विकार गर्छन् ।  

हालका दलाई लामा विश्वभर लोकप्रिय छन् । उनको लोकप्रियता नियन्त्रण गर्नका लागि पनि चीन लागीपरेको छ । किनभने दलाई लामाको लोकप्रियताका कारण तिब्बतमाथिको चिनियाँ नियन्त्रणलाई लिएर बारम्बार प्रश्न उठिरहन्छ । चीनले तिब्बतभित्र दलाई लामाको तस्बिर राख्न पनि बन्देज लगाएको छ । तर चिनियाँ कदमले तिब्बतमा दलाई लामाको लोकप्रियता र महत्वलाई घटाएको छैन ।

चीनले दलाई लामामाथि बारम्बार पृथकतावादीको आरोप लगाउँछ । बेलाबेलामा तिब्बतीले गर्ने आत्मदहको कारण पनि दलाई लामा नै रहेको चिनियाँ भनाइ छ । ‘नयाँ दलाई लामा चुन्‍न तम्सिनु भनेको चीनले दलाई लामाको महत्वलाई स्विकार्नु हो । दलाई लामा आफैँमा एउटा संस्था हुन् । यस किसिमको संस्थामाथि आफ्नो पकड भए तिब्बतलाई लिएर देखा पर्ने समस्या हल हुन्छ भन्‍ने चीनको बुझाइ हो,’ कुनैबेला भारतीय सरकारको तिब्बत मामिला सल्लाहकार रहेका अमिताभ माथुर भन्छन् । (दी अब्र्जभरका लागि हान्‍ना एलिस पिटरसनले तयार पारेको रिपोर्टको अनुवाद)