आइतबार ०८ असार, २०८२
Sunday, June 22, 2025

नयाँ मन्त्रिपरिषद् गठन गर्न सिरियाका राष्ट्रपतिको आह्वान

दमास्कस- सिरियाका राष्ट्रपति बसर अल असदले नयाँ मन्त्रिपरिषद् गठन गर्न प्रधानमन्त्रीलाई आह्वान गरेका छन् । 

प्रधानमन्त्री हुसेन अर्नौसलाई उनले आइतबार नयाँ मन्त्रिपरिषद् बनाउन आह्वान गरेको राज्यद्वारा सञ्चालित सञ्चारमाध्यमले जनाएको छ ।

यही जुलाई १७ मा आफ्नो चौथो कार्यकालका लागि राष्ट्रपतिको शपथ ग्रहण गरेकाले राष्ट्रपति असदले प्रधानमन्त्रीलाई नयाँ मन्त्रिपरिषद् गठन गर्न आह्वान गरेका हुन् ।

गत मे महिनामा भएको निर्वाचनमा उहाँ फेरि राष्ट्रपतिका लागि निर्वाचित भएको घोषणा गरिएको थियो ।  

राष्ट्रपति असदले गत अगस्टमा अर्नौसलाई प्रधानमन्त्रीका रुपमा नियुक्त गरेका थिए । तत्कालीन प्रधानमन्त्री इमाद खामिसलाई सन् २०२० को जुनमा बर्खास्त गरी राष्ट्रपति असदले अर्नौसलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । 

मध्यपूर्वको सङ्कटग्रस्त मुलुक सिरियामा नयाँ मन्त्रिपरिषद् गठन भएसँगै सङ्कट समाधान हुने अपेक्षा गरिएको छ । 

प्रधानमन्त्री बन्नु अघि अर्नौसले जलस्रोत मन्त्रीका रुपमा पनि काम गरिसकेका थिए । (सिन्ह्वा)