डाबर र पतञ्जलीको मह घोटाला पर्दाफास : नेपालमा के होला ?

काठमाडौं : बुधबार भारतको सेन्टर फर साइन्स एन्ड इनभाइरोमेन्ट (सीएसई)ले बहुचर्चित ब्राण्डका महमा हानिकारक मिसावट गरिरहेको खुलासासहित आफ्नो अनुसन्धानको नतिजा सार्वजनिक गर्यो । त्यसमा भारतका चर्चित कम्पनी – डाबर र पतञ्जली, समेत मुछिएका छन् ।
सीएसईले यो घटनालाई अहिलेसम्मकै कुटिलतापूर्वक रचिएको 'फूड फ्रड'को संज्ञा दिएको छ । सीएसईले १३ प्रमुख ब्राण्डका महमा अनुसन्धान गरेको थियो । बजारमा पाइने अधिकांश ब्राण्डका महमा सुगर सिरप मिसाइएको अध्ययन प्रतिवदेनले औंल्याएको छ ।
यसको मतलब महको नाममा धेरैले अत्यधिक चिनी सेवन गरिरहेका छन् । चिनीले प्रत्यक्ष रुपमा मोटोपन बढाउने र मोटोपनसँग जोडिएका हानिकारक संक्रमणलाई समेत बढाउने जानकार बताउँछन् ।
१३ ब्राण्डका नमूनालाई सबैभन्दा पहिले गुजरातको राष्ट्रीय डेरी विकास बोर्डस्थित सेन्टर एनलाइसिस एन्ड लर्निङ इन लाइभस्टक एन्ड फूडमा परीक्षण गरियो । करिब सबै प्रमुख ब्राण्ड शुद्धता परीक्षणमा सफल भए ।
तर उहीँ ब्राण्डलाई 'न्यूक्लियर म्याग्नेटिक रेजोनेन्स' परीक्षण गरेपछि सबै ब्राण्ड फेल भए । यो परीक्षणलाई विश्वस्तरमा मोडिफाइ सुगर सिरप जाँच्न प्रयोग गरिन्छ । १३ मध्ये ३ ब्राण्ड मात्रै पास भए ।
खोजको दौरानमा भेटिएका केही तथ्य :
- ७७ प्रतिशत नमूनामा सुगर सिरपसँगै अन्य मिलावट पनि पाइयो
- कुल परीक्षण गरिएका २२ नमूनामा ५ वटा मात्रै पास भए
- महका प्रमुख ब्राण्ड – डाबर, पतञ्जलि, वैद्यनाथ, झन्डु, हितकारी र एपीसी हिमालय फेल भए ।
नेपालमा के हुन्छ ?
सन् २००५ सम्म नेपाली मह युरोप निकासी हुन्थ्यो तर पछि परीक्षण गर्दा यसमा लालीगुराँसलगायत अन्य वनस्पतीमा पाइने विषालु पदार्थ ग्रानोटक्सिन देखिएपछि युरोपले नेपाली मह आयात गर्न रोक लगायो । यसबाट नेपालीले महका लागि विश्व बजार गुमाउन पुगे।
गत साउन १७ देखि भारतले निर्यात हुने महमा एनएमआर परीक्षण अनिवार्य गरेको थियो । यसबाट भारत सरकार यो विषयमा जानकार रहेको स्पष्ट हुन्छ । भारतबाट नेपालमा डाबर, पतञ्जली जस्ता ठुला कम्पनीहरुले मह उत्पादन गर्छन् । नेपालमा जर्मनी स्टाण्डर्डको परीक्षण ल्याब छैन ।
नेपालमा महमा हुने मिसावटको परीक्षण गर्ने आइएओ स्ट्याण्डर्डको विधि रहेको खाद्यप्रविधि तथा गूण नियन्त्रण विभागका पूवमहानिर्देशक सञ्जिव कर्ण बताउँछन् । उनका अनुसार महको मापदण्ड पनि बनिसकेको छ ।
सन २०१४ मा ‘इन्टरनेसनल एन्ड इमर्जेन्सी मेडिसिन’ नामक जर्नलमा दक्षिण कोरियनले प्रकाशित गरेको शोध लेखमा पनि हिमाली क्षेत्रमा पाइने मह विषादीमुक्त नभएको उल्लेख छ । नेपालको हिमाली क्षेत्रमा सन् २००४ देखि २०१२ सम्म विषालु महका कारण बिरामी भएका १५ जना व्यक्तिलाई उक्त अनुसन्धानमा समावेश गरिएको थियो । तिनीहरूको औसत उमेर ५२ थियो । जसमा दुई तिहाइ पुरुष थिए । विषालु मह खाएको करिब ३६ मिनेटमा उनीहरूको शरीरमा ब्लड प्रेसर र मुटुको धड्कन घटनेजस्ता लक्षण देखिएको थियो । अध्ययनले देखाएअनुसार समयमा उचित उपचार पाएमा २४ घन्टामा बिरामी सामान्य स्थितिमा फर्किन सक्छन् । यस शोधमा पनि आंशका गरिएको विषालु पदार्थ ग्रानोटक्सिन नै हो ।
त्यसै गरी सन् २००९ मा नेपाल मेडिकल कलेजमा गरिएको अर्को अनुसन्धानमा पनि विषालु महको कारण बिरामी भएका व्यक्तिको स्वास्थ्य विवरण उल्लेख गरिएको छ । उक्त शोधअनुसार विषालु मह सेवनका कारण आँखाको दृष्टि धमिलो हुने, बान्ता हुने र मुटुसम्बन्धी अन्य समस्या देखिन्छ ।
विभिन्न वैज्ञानिकले गरेको अध्ययनअनुसार महलाई ४० डिग्रीभन्दा बढी तापक्रममा तताउँदा हाइड्रोक्सिमेथाइलफरफ्युरल भन्ने वस्तु पैदा हुन्छ जसका कारण क्यान्सर हुन सक्छ।
नेपालमा महसम्बन्धी मापदण्ड:
मह कुनै बाह्य खाद्य वा अखाद्य पदार्थ रहित शुद्ध र स्वच्छ हुनुपर्नेछ ।
जलांश |
२३ प्रतिशतमा नबढेको |
भष्म |
०.५ प्रतिशतमा नबढेको |
सुक्रोज |
शुद्ध फूलरसको महमा ५ प्रतिशतमा नबढेको र अन्य महमा १० प्रतिशत नबढेको |
रेड्युसिंग सुगर |
शुद्ध फूलरस महमा ६५ प्रतिशत नघटेको र अन्यमा ६० प्रतिशत नघटेको |
ग्लुकोज/फ्रुक्टोजको अनुपात |
०.९५ मा नघटेको |
अम्लता |
०.२ प्रतिशतमा नबढेको |
पानीमा नघुल्ने ठोस पदार्थ |
०.५ प्रतिशत |
हाइड्रोक्सीमीथाइल फरफूरल |
४० मिलिग्राम प्रतिकिलोग्राममा नबढेको |
स्रोत: खाद्य प्रविधि तथा गूण नियन्त्रण विभाग
डाबर र पतञ्जलीले भने, 'रिपोर्टले ब्राण्डको बदनाम गर्न खोज्यो'
सीएसईको अध्ययन प्रतिवेदनले आफ्नो ब्राण्डको बदनाम गर्न नियोजित षडयन्त्र गरेको डाबर र पतञ्जलीले आरोप लगाएका छन् । डाबरले आफ्नो विज्ञप्तीमा भनेको छ, 'पछिल्लो रिपोर्टले हाम्रो ब्राण्डलाई बदनाम गर्ने उद्येश्य राखेको देखिन्छ । डाबर हनी १०० प्रतिशत शुद्ध रहकोमा विश्वस्त पार्न चाहन्छौं । हाम्रो उतपादनमा कुनै पनि अतरिक्त चिनी र मिसावट गरिएको छैन । डाबरले चीनबाट कुनै पनि मह तथा सुगर सिरप आयात गरेको छैन ।'
भारतको खाद्य प्रविधि मापदण्ड अनुसार नै महको उत्पादन भइरहेको कम्पनीको दाबी छ । डाबरले महको एनएमआर परीक्षण रिपोर्ट समेत सामाजिक सञ्जालमा सेयर गरेको छ ।
सीएसईको अडान कायमै
सीएसईले आफ्नो अध्ययन प्रतिवेदनमा अडीग रहेको स्पष्ट पारेको छ । उसले विज्ञप्तीमार्फत डाबरलाई जवाफ फर्काएको छ, 'यो डाबरको मात्र विषय होइन । साना ब्राण्डका महमा समेत मिसावट पाइएको छ । यो उपभोक्ताको स्वास्थ्यसँग जोडिएको छ ।'
सीएसईले डाबर र पतञ्जलीको दाबीलाई तथ्यमा आधारित नभएको बताएको छ । भारतको खाद्यप्रविधि परीक्षण गर्ने निकाय फूड सेफ्टी एन्ड स्ट्यान्डर्ड अथोरिटी अफ इन्डियाले सीएसईसँग परीक्षण रिपोर्ट र नमूना मागेको छ ।

‘हाइ इन्ड’ पर्यटक तान्दै मेघौली

गभर्नर सिफारिस समितिको बैठक अन्तिम समयमा पुनः स्थगित

सुनको मुल्यमा ६ सय रूपैयाँले वृद्धि

२१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजना अन्तिम चरणमा

धरान स्मार्ट बसपार्क चाँडै सञ्चालनमा आउने, ९८ भौतिक र ९६ प्रतिशत वित्तीय प्रगति

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

मुस्ताङमा चार महिनामा ५१ हजार विदेशी पर्यटक

प्रतिक्रिया