सोमबार २२ बैशाख, २०८२
Monday, May 05, 2025

दार्चुला घटना : भारतीय शासकको हस्तक्षेपकारी रवैयाविरुद्ध देशव्यापी संघर्षमा उत्रिन नेकपाको आह्वान

सत्यतथ्य सार्वजनिक गर्न माग

काठमाडौँ - नेत्रविक्रम चन्‍द नेतृत्वको नेकपाले दार्चुलाको व्यास गाउँपालिकाबाट भारत उत्तराखण्ड राज्यको पांगल हुँदै खलंगा आउँदा भारतीय सीमा सुरक्षा बल एसएसबीले तुईन खोलेका कारण नदीमा खसेर बेपत्ता भएको घटनाप्रति आक्रोष व्‍यक्‍त गरेको छ । उक्‍त घटना मानवता, जनअधिकार एवं स्वतन्त्रता र राष्ट्रिय स्वाधिनता प्रवर्धनको दृष्टिकोणले गम्भीर, अक्षम्य र निन्दनीय भएको नेकपाको ठहर छ ।

प्रवक्‍ता खड्‍गबहादुर विश्‍वकर्माले शनिबार विज्ञप्‍ति जारी गर्दै घटनाको तदारुकताका साथ छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन् । घटनाको वास्तविक छानबिन, दोषीमाथि कडा कारबाही, पीडितलाई न्याय र भारतीय शासकहरूको हस्तक्षेपकारी रवैयाविरुद्ध देशव्यापी संघर्षमा उत्रिन आह्वान पनि विज्ञप्‍तिमा गरिएको छ ।

उक्त घटनाको विरोधमा नेकपाले देशव्यापी प्रदर्शनसमेत गर्ने भएको छ । नेकपाले आज देशव्यापी विरोध प्रदर्शन र पर्सि(सोमबार) देशव्यापी विरोध सभा गर्ने विश्वकर्माद्वारा जारी विज्ञपित्मा उल्लेख छ ।