सोमबार २२ बैशाख, २०८२
Monday, May 05, 2025

नेपाल समूह प्रतिपक्षमा बस्‍ने

अहिलेसम्म संविधान ट्रयाकमा ल्याउन लाग्यौं, अब पार्टी बनाउँछौं : युवराज ज्ञवाली

काठमाडौँ – नेकपा एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल समूह शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी नहुने भएको छ । समूहले संविधानलाई ट्रयाकमा ल्याउने काममा आफूहरू सफल भएको भन्दै अब पार्टीलाई ट्रयाकमा ल्याउने काम थाल्ने बताएको छ । 

एमाले उपाध्यक्ष एवं नेपाल समूहका नेता युवराज ज्ञवालीले आफूहरू सरकारमा सहभागी नहुने र पार्टीलाई ट्रयाकमा ल्याउनतार्फ लाग्ने जानकारी दिए ।

‘हामी शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुँदैनौं । यो दुई÷तीन दिनअघि बसेको स्थायी समिति बैठकले नै निर्णय गरेको थियो । बाहिर मात्रै आज आएको हो,’ उपाध्यक्ष ज्ञवालीले इकागजसँग भने, ‘अब हामी प्रतिपक्षी हौं । पार्टीमा फरक–फरक विचार समूह छ । तर, हामी एमाले हौं । हाम्रो पार्टी प्रतिपक्षमा छ । हामी प्रतिपक्षमा नै बस्छौं ।’

उनले अहिलेसम्म आफूहरू संविधान र व्यवस्था ट्रयाकमा ल्याउन लागेको र अब पार्टीलाई ट्रयाकमा ल्याउन लाग्ने बताए । ‘हामीले अनेक प्रयास गरेर संविधानलाई ट्रयाकमा ल्यायौं । अब पार्टीलाई ट्रयाकमा ल्याउँछौं,’ ज्ञवालीले बताए ।