आइतबार २१ बैशाख, २०८२
Sunday, May 04, 2025

युद्ध संग्रहालयको उद्घाटन गर्न राष्ट्रपति सिन्धुलीगढी आउँदै

सिन्धुली : सिन्धुलीस्थित नेपालको पहिलो युद्व संग्रहालयको रूपमा रहेको ‘सिन्धुलीगढी युद्ध’ संग्रहालयको उद्घाटन बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने भएकी छिन् । राष्ट्रपति बिहान ९ बजे काठमाडौँबाट आएर उदघाट्न गर्ने कार्यक्रम रहेको युद्ध उदघाटन समारोह समितिले जनाएको छ। 

उद्घाटनमा नेपाली सेनाका प्रधानसेनापति पनि सहभागी रहने छन्। नेपाली सेनाले ‘एकीकरण मार्गको चाहना राष्ट्रिय एकताको भावना’ भन्ने मुल नाराुका साथ एकीकरण मार्ग अन्तर्गत ऐतिहासिक धरोहरको संरक्षण र संवर्द्धन गर्दै आएकोमा युद्ध कला संग्रहालय एक रहेको छ । 

कमलामाई नगरपालिकासँगको सहकार्यमा निर्माण सम्पन्न सिन्धुलीगढी युद्ध संग्रहालय निर्माण भएको हो । २४ कार्तिक ०७६ मा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले शिलान्यास गरी निर्माण कार्य प्रारम्भ भएको थियो। 

६ करोड ५० लाखको लागत र करीब डेढ वर्षको अवधिमा सम्पन्न भएको हो । संग्रहालय ६ हजार २७५ स्क्वायर फिट फैलिएको छ । १८२४ असोज २४ मा आधुनिक नेपालका प्रणेता मानिने पृथ्वीनारायण शाहको बुद्धिमतापूर्ण राजनैतिक सोच साथै सैनिक कुशलताको कारण शक्ति सम्पन्न ईष्ट इण्डिया कम्पनीको विशाल फौजलाई विफल पारेपछि नेपाल एकिकरण झन् तीव्र रुपमा अगाडि बढेको थियो । 

संग्रहालयमा लोपोन्मुख तथ्यपरक ऐतिहासिक घटनाक्रम, वीर योद्धाको परिचय र तत्कालीन समयमा प्रयोग भएका हातहतियार राखिएका छन्।