‘क्रियाशील सदस्यता छानबिन प्रतिवेदन’मा गुरुङका ६ असहमति
ढुंगाना, परियार र घिमिरेको पनि ‘नोट अफ डिसेन्ट’

काठमाडौँ– नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिका सदस्य कल्याण गुरुङले समितिको निर्णयका ६ विषयमा लिखित असहमति राखेका छन् । मंगलबार बिहान बुढानीलकण्ठस्थित प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा समिति संयोजक रमेश लेखकले बुझाएको प्रतिवेदनमा गुरुङले ६ विषयमा असहमति राखेका हुन् ।
पार्टीका वडा, गाउँ/नगर, प्रदेश सभा क्षेत्रीय समिति, प्रतिनिधि सभा क्षेत्रीय समिति र जिल्ला कार्यसमितिको निर्णयको ‘माइन्युट’ बिना क्रियाशील सदस्यतासम्बन्धी निर्णय गरिएको, पहिला भएका सदस्य जती शतप्रतिशत भनिएकोमा त्यो भन्दा बढी आएका स्थानमा पनि सदर गरिएको, समितिसहित पार्टी सभापति र महामन्त्रीद्वारा हस्ताक्षरित ‘हार्डकपी’ प्रमाणित प्रतिलिपीका रूपमा नराखिएको ६ विषयमा आफूले प्रतिवेदनमा लिखित असहमति जनाएको जानकारी दिए । ‘मैले प्रक्रियागत र यसअघि भएका सहमति र निर्णय बेगर गरिएका ६ विषयमा प्रतिवेदनमा लिखित असहमति जनाएको छु,’ गुरुङले इकागजसँग भने ।
समितिले क्रियाशील सदस्यको संख्या आठ लाख ५२ हजार सातसय ११ पुर्याएर प्रतिवेदन बुझाएको छ । त्यो संख्यामा नेपाली जनसम्पर्क समितिमा आबद्ध सदस्यहरू जोडिएका छैनन् । समितिका अनुसार, ४ लाख नौ हजार ३३ जनाले पुरानो क्रियाशील सदस्यता नवीकरण गरेका छन् । ४ लाख ४३ हजार ६७८ जनालाई नयाँ क्रियाशील सदस्यता प्रदान गर्ने निर्णय समितिले गरेको छ ।
कांग्रेसमा क्रियाशील सदस्यता वितरण तथा नवीकरणको विषयमा विवाद चर्किँदो छ । प्रतिवेदनमा बारा, सप्तरी, रसुवार सिन्धुपाल्चोकको क्रियाशील सदस्यतासम्बन्धी फाइल केन्द्रीय समितिले गर्नेगरी पठाइएको छ । धनुषा-४ र सर्लाही-२ को नयाँ क्रियाशील टुंग्याउन नसक्दा पुरानो मात्रै सिफारिस गरिएको छ । धनुषा-४ मा समिति सदस्य आनन्दप्रसाद ढुंगाना र जीवन परियारले असहमति जनाएका छन् । त्यो असहमति पनि प्रतिवेदनमा समेटिएको छ । हेटौँडा नगरपालिका-२ को विवादमा श्यामकुमार घिमिरेले असहमति जनाएका र त्यो पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।
मोरङमा राप्रपाबाट आएका, रसुवामा नयाँ शक्तिबाट आएका, डोल्पामा राप्रपाबाट कर्ण बुढासँगै आएकाहरूका विषयमा पनि सहमति हुन नसकेपछि केन्द्रीय समितिले निर्णय गर्नेगरी पठाइएको प्रतिवेदनमा उल्लेख छ ।सर्लाहीमा राजपा र समाजवादीबाट आएका जंगीलाल राय, शम्भुलाल श्रेष्ठ र कृष्णदेव यादवसहितका नेता कार्यकर्ता, बागलुङ, सिन्धुपाल्चोक, काठमाडौं, कपिलवस्तु, सुनसरी, काभ्रेपलाञ्चोक, सुर्खेत, बाजुराका अरु पार्टीबाट आएकाको समायोजन नगरी प्रतिवेदन बुझाइएको छ ।
गुरुङले असहमति राखेका ६ बुँदा
१. ६७४३ वडा, ७५३ पालिका, ३३० प्रदेश सभा निर्वाचन क्षेत्र, १६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ७७ जिल्लाको कार्यसमितिको बैठकको निर्णयको प्रमाणित प्रतिलिपी आउनु पर्ने हो, त्यो नआइकन समितिले निर्णय गर्यो, त्यसरी गर्नु गलत हो, गर्नु हुदैनथ्यो भनेर असहमति राखे ।
२. शतप्रतिशत भन्दा बढी सदस्यता दिएका फाइल समितिमा आएका थिए । हामीले १३ औं महाधिवेशनमा जहाँ जति संख्यामा क्रियाशील सदस्य छन्, त्यसको शतप्रतिशत बढाउन भनेका थियौं । तर शतप्रतिशतभन्दा बढी आएका ठाउँहरूमा पनि हामीले सहमति भन्दै थप्ने निर्णय गर्यौं, त्यसले सदस्यतामा असमानता हुन्छ भन्दै मैले असहमति राखे ।
३. आफूहरूलाई न्युनतम सदस्य संख्या पुर्याउन पनि सदस्यताको ठेली पुगेन भन्दै केही ठाउँले केन्द्रबाट क्रियाशील सदस्यताको ठेली लगे । तर, बुझाउने बेलामा उनीहरूले भने अनुरुप नभई थपिएको पाइयो । अर्थात् बुझ्दा संख्या बढी देखियो । त्यो सम्बन्धमा हामीले स्पष्ट निर्णय गर्नु पर्नेमा गरेनौ, त्यसमा पनि मैले असहमति राखे ।
४. क्रियाशील सदस्यता छानबिन समितिका सबै सदस्यहरू, पार्टी सभापति र महामन्त्रीको हस्ताक्षर भएको एउटा प्रमाणित प्रतिलिपिका रूपमा ‘हार्डकपी’ राख्नुपर्छ । भोलि सदस्यतासम्बन्धमा केही विवाद आयो भने त्यही प्रमाणित प्रतिलिपिलाई अन्तिम नजिर मानेर निर्णय गर्न आवश्यक पर्छ, त्यो ‘हार्डकपी’ भने । त्यो प्रमाणित प्रतिलिपि पनि राखिएन । त्यसमा पनि मैले असहमति राखे ।
५. समितिले सदस्यता सम्बन्धमा गरेको निर्णय पार्टीको वेबसाइटमा प्रकाशित गर्नुपर्छ भनेको थिए । निर्णय गरिएका नवीकरण र नयाँ क्रियाशील सदस्यहरूको नामावली पार्टीको वेबसाइटमा प्रकाशित गर्ने प्रस्ताव पनि मानिएन, त्यसमा पनि मेरो अहमति रह्यो ।
६. कतिपय स्थानमा प्रक्रिया पुगेर आयो तर दुई जनाबीच सहमति भएन भनेर रोकियो । त्यो सरासर गलत भयो । अर्को प्रक्रिया पुगेर आएको छैन तर दुई जनाबीच सहमति भयो भनेर निर्णय भएको छ । ती दुवै गलत हुन्, यसो गर्न हुँदैन भनेर मैले ‘नोट अफ डिसेन्ट’ लेखे ।

सबै समस्याको समाधान गर्न देशको आर्थिक अवस्था सुधार गर्न जरुरी छः लक्ष्मी महतो क…

प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रम माथी छलफल जारी रहने

एनआरएनएलाई उपप्रधानमन्त्री सिंहको बधाई, विदेशमा सिकेको ज्ञान सिपलाई जन्मभूमिक…

गभर्नर नियुक्तिको समस्या ओलीको कारण आएको होइनः देउवा

वामपन्थी नेता प्रदीप नेपालको निधन

विद्यालयदेखि विश्वविद्यालयसम्मको पाठ्यक्रम परिवर्तन गर्ने विषय सकारात्मकः सांसद प…

नीति तथा कार्यक्रमको कुनै औचित्य छैन : अध्यक्ष यादव

प्रतिक्रिया