तामाकोसी पाँचौंमा लगानी गर्न त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर

काठमाडौँ - दोलखामा निर्माण हुने ९९.८ मेगावाटको तामाकोसी पाँचौं जलविद्युत आयोजनामा ऋण लगानीका लागि त्रिपक्षीय समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको छ ।
ऊर्जा, जलस्रोत तथा सिंचाईं मन्त्री पम्फा भुसालको उपस्थितिमा आइतबार विद्युत प्राधिकरण, आयोजनाको प्रवद्र्धक तामाकोसी जलविद्युत कम्पनी र कर्मचारी सञ्चय कोषबीच एमओयूमा हस्ताक्षर भएको हो ।
प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्य, कम्पनीका प्रमुख कार्यकारी अधिकृत नसीबमान प्रधान र कोषका प्रशासक तुलसी प्रसाद गौतमले एमओयूमा हस्ताक्षर गरेका हुन् ।
करिब १६ अर्ब १९ करोड रुपैयाँ (१३ करोड ७२ लाख अमेरिकी डलर) अनुमानित लागत रहेको आयोजनामा कोषले ७० प्रतिशत (करिब ११ अर्ब ३३ करोड) रुपैयाँ ऋण लगानी गर्ने प्राधिकरणले जनाएको छ । ‘जनताको जलविद्युत कार्यक्रम’ अन्तर्गत निर्माण हुन लागेको आयोजनाको बाँकी रकम सर्बसाधारणलाई समेत सेयर निश्कासन गरी स्वपुँजी (इक्विटी) बाट जुटाइने छ ।
तामाकोसी पाँचौं ४५६ मेगावाटको माथिल्लो तामाकोसीको क्यास्केड आयोजना हो । तामाकोसी पाँचौले बाँध, बालुवा थिग्रयाउने पोखरी (डिसेन्डर) लगायतका संरचना बनाउनु नपर्ने भएकोले आयोजनालाई आकर्षक मानिएको छ ।
माथिल्लो तामाकोसीको विद्युत गृहबाट निक्लिएको पानीलाई आयोजनाको सुरुङमा पठाउन आवश्यक पर्ने गेट जडान भइसकेको छ । आयोजनाले ८ किलोमिटर सुरुङ, विद्युतगृह, करिब २ किलोमिटर २२० केभी प्रसारण लाइनलगायतका मुख्य संरचना निर्माण गर्नुपर्ने छ ।
विस्तृत डिजाइन र वातावरणीय प्रभाव मूल्यांकन (इआइए) स्वीकृत भइसकेको आयोजनाले विद्युत उत्पादनको अनुमति २०७४ को जेठमै पाइसकेको छ ।
चीनको अगुवाइमा स्थापना भएको एसियन इन्फ्रास्ट्रक्चर लगानी बैक (एआईआईबी) को अनुदानमा आयोजनाको थप वातावरणीय अध्ययन गरिएको छ । आयोजनाको अहिले निर्माण पूर्वका कामहरु भइरहेका छन् । आयोजनाको निर्माण २०८४ भित्रमा सम्पन्न गर्ने लक्ष्यका साथ काम अगाडि बढाइएको प्राधिकरणले जनाएकोछ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

नेपाल एयरलाइन्सका ट्वीनअटर विमान पुन: नियमित उडानमा

भरतपुरमा नयाँ क्रेटा इभी सार्वजनिक

सुनको मूल्य घट्यो

गाजा दहमा थपिए पर्यटकीय पूर्वाधार

विदेशबाट फर्किएर च्याउखेतीमा रमाउँदै अजित भुजेल

पर्यटकका रोजाइमा भोजपुरको डाग्बुङ पदमार्ग

प्रतिक्रिया