महामारीमा कमजोर सुशासन र देशको अर्थव्यवस्था

हाम्रो देशको अर्थव्यवस्थाका आधारभूत परिसूचक कहिल्यै दिगो, भरपर्दो र अनुमानयोग्य भएनन् । शोधनान्तर स्थिति, विप्रेषण आप्रवाह, मुद्रास्फीति, चालूखाता, लगानीयोग्य पुँजीको पर्याप्तता, स्थिर ब्याजदर, विदेशी मुद्राको सञ्चिति, वैदेशिक सहायताको आयतन, आयातको अवस्था, खेतीपातीको बेलामा हुने वर्षा र राजस्वमा देखापरेको परिवर्तनजस्ता कारकमध्ये दुई/चार वटा अनुकूल भइँदिँदा सत्तापक्षले केके न गर्यौँ भन्ने आत्मरतिमा जनता अल्मल्याइरहेका छन् ।
सानो विपत्ति पर्दासमेत आन्तरिक स्रोतमा चाप पर्यो भनेर आत्तिने परिस्थिति बनाए । ठूलो विपत्ति पर्दा त होसै गुमाएर सोको सामना कार्ययोजना नै नल्याइ आफूखुसी तदर्थमा अर्थ व्यवस्था चलाउन थालियो । पछिल्लो दृष्टान्त कोभिड-१९ को महामारीमा जनताको जीवन रक्षा र जनजीविकाको सुरक्षाजस्ता संवेदनशील विषयमा सरकारको मौनतालाई लिन सकिन्छ ।
गरिबीमा चाप
कोडिभ-१९ ले ‘नयाँ गरिब’ वर्ग सिर्जना गरेको छ । साँघुरो कोठामा दुःखगरी जीवनयापन गरिरहेका सहरिया श्रमजीवी, थोरै पढेका र ज्यालादारीमा निर्वाह चलाइरहेका युवायुवतीदेखि गैरकृषि रोजगारमा आश्रित मानिस एकाएक गरिब भएका छन् । घट्दै जान थालेको गरिबी अकस्मात बढ्ने देखिएको छ । तत्काल जनताको रक्षा र जनजीविकाको बन्दोवस्त मिलाउने कामलाई प्राथमिकता दिनुपर्ने सरकार राजनीतिक खिचातानीमा लागेको छ ।
शासन व्यवस्था फितलो भएकाले सरकारले हेर्छ/गर्छ भन्ने भावना जनतामा देखिएन । अहिले चौपट भएको शिक्षा र स्वास्थ्य क्षेत्रलाई पुरानै लयमा फर्काउन चुनौती छ । आर्थिक वृद्धिमा सहयोग पुर्याउने सबैजसो क्षेत्र जर्जर छन् । तिनको पुनरुत्थानका लागि पनि सरकार आफू पन्छिएर होइन, अगाडि बढेर आउनुपर्नेछ । कोभिड सन् २०१९ को नोभेम्बरदेखि नै देखापरेर सन् २०२० को फेब्रुअरीदेखि संसारका धेरै मुलुकमा विस्तार भएको थियो । कोभिडबाट गएको मार्चयता नेपाल पनि अछुतो रहन सकेन । विश्वभर नै फैलिएको यो महामारीले मात्रा कम वा बढी भए पनि सबै मुलुकलाई असर पर्यो । जनस्वास्थ्यका आधार बलियो भएका मुलुकले त्यसलाई राम्रै ढंगले रोकथाम र प्रतिरोध गर्न सकेका छन् ।
जनस्वास्थ्यको आधारशीला कमजोर भएका मुलुकमा भने यसको प्रभाव धेरै गहिरो देखियो । अन्य प्राकृतिक प्रकोपभन्दा कोभिड-१९ को दबाब व्यापक रह्यो । यसले अर्थतन्त्र, सामाजिक जीवन, सांस्कृतिक अवस्था र शासन व्यवस्थामा पनि ठाडै प्रभाव पार्यो । र, हाम्रो मुलुक पनि यो प्रभावबाट अछुतो रहन सकेन । कोभिड-१९ को महामारीबाट जोगिन संसारका अरु मुलुकमा देखिएको प्रभावका आधारमा जुन ढंगको आँकलन हामीले गर्न सक्नुपर्दथ्यो, त्यो गर्न सरकारले सकेन र त्यही कमजोरीले हामी पछि पर्यौं । गएको फेबु्रअरीमा नेपाल व्यवस्थापन संघको वार्षिक साधारणसभामा प्रधानमन्त्री केपी ओली नेपाल कोरोनामुक्त मुलुक हो भन्दै पर्यटकलाई नेपाल आउन आह्वान गर्दै हुनुहुन्थ्यो । त्यो हाम्रो कमजोर आँकलनको परिणति हो ।
कोरोनाले सीमापार गरेर हाम्रो मुलुकलाई पनि आक्रान्त बनाउँछ भन्ने पूर्व तयारी गर्नुपर्ने हेक्का सरकारले राख्न नसकेको देखियो । एकैचोटि कोरोनाको आक्रमण नेपालमा पनि तीव्र भएपछि सरकारले लकडाउनको सहारा लियो । लकडाउन गर्नु भनेको अर्थतन्त्र, सामाजिक व्यवस्था, शासन व्यवस्था सबैमा ताला ‘लक’ लगाउनुजस्तै हो । त्यो ज्यादै जटिल अवस्थामा अपनाउने विधि हो । तर, धेरै मुलुकले त्यही विधि अपनाएका हुनाले हाम्रो मुलुकमा पनि त्यही बाटो रोजियो । जुन अर्थतन्त्र, सामाजिक व्यवस्थाका निम्ति घातक थियो ।
पटक-पटक गरी सुरुमा ५/६ हप्ता मुलुक लकडाउनको अवस्थामा गयो । लकडाउन गर्नुअघि सरकारले कुनै तयारी पनि गरेन । त्यसले गर्दा सीमान्तकृत नागरिक, गरिब जनता र दैनिक ज्यालामा काम गर्ने मजदुरको जीवनस्तरमा प्रतिकूल प्रभाव पर्यो । सीमान्तकृत, गरिब जनतालाई हातमुख जोर्ने समस्या भयो । सरकारले उनीहरूका निम्ति कुनै सुरक्षा व्यवस्था अघिसार्न सकेन । सरकारको शासन सञ्चालन विधिमा जनताको अविश्वास बढेको देखिन्छ । यसरी शासन व्यवस्था सञ्चालन गर्दा राज्यले आफ्नो प्राथमिक कर्तव्यमा नागरिकको जिउधनको रक्षा गर्ने दायित्व बिर्सियो ।
कोभिड-१९ को महामारीको असरका कारण सुरुमै मुलुकमा वेरोजगारी ह्वात्तै बढ्यो । दैनिक ज्यालादारीमा काम गर्नेले रोजगारी गुमाए । अस्थायी प्रकृतिको रोजगारमा काम गर्नेले रोजगारी गुमाए । कतिपय निजी प्रतिष्ठान, अनौपचारिक क्षेत्रमा पनि रोजगारी गुम्न पुग्यो । बचत नभएका रोजगारीमा बाँच्नेको जीवन दुर्बल भयो ।
जसको थोरै बचत थियो, त्यो बचत पनि सकिँदै गएर तिनीहरू सीमान्तकृत हुन पुगे । यसरी कोभिड-१९ ले सबैभन्दा पहिलो प्रभाव रोजगारीको क्षेत्रमा पार्यो । यो अर्थतन्त्रको महत्वपूर्ण क्षेत्र हो । सरकारले अप्रत्यासित ढंगले संक्रमणकालीन अवस्थामा खर्च गरेको हुनाले सरकारी बचत पनि घट्दै गयो । सरकारको अत्यावश्यक क्षेत्रमा लगानी गर्ने क्षमता पनि घट्दै गयो ।
सेवा क्षेत्रमा बढी असर
कोभिड-१९ ले अर्को प्रभाव पारेको क्षेत्र पर्यटन हो । पर्यटनमा पनि विशेष गरी वायुसेवा र होटेल उद्योग, आतिथ्य सेवा प्रदान गर्ने उद्योग धराशयी भए । तिनीहरूको आर्थिक तथा वित्तीय अवस्था नाजुक बन्यो । यसबीचमा कतिपय बन्द नै भए । यही वर्ष सरकारले २० लाख पर्यटक भित्र्याउने योजना बनाएको थियो । जुन यसअघि नै असफल भइसकेको छ । विदेशी पर्वतारोहिले नेपालको यात्रा रद्ध गर्न थाले । पर्वतारोहण पनि बन्द भयो ।
व्यापारको अवस्था पनि कमजोर भयो । लकडाउनका कारण सानादेखि ठूला व्यवसाय धराशयी भए । मुलुकको आपूर्ति व्यवस्थामा प्रतिकूल प्रभाव पर्यो । आपूर्ति अवस्थामा धक्का लागेका कारण वस्तुको भाउ महँगो हुन गयो । जनताका निम्ति कतिपय सामग्री अपर्याप्त हुन थाले । जनस्वास्थ्य क्षेत्रमा आएको यो विपत्ती र न्यून स्वास्थ्य आधारशीलाका कारणले जनताभन्दा बढी रोगीको सेवा गर्नुपर्ने अवस्थामा हाम्रा स्वास्थ्य केन्द्रले सुविधा दिन सकेनन् । जनताको रोजगारी गुम्दै गएको र आयस्तर खस्कँदै गएको अवस्थामा जनताको क्रयशक्ति घट्यो र बजार चलायमान हुन सकेन । अन्ततः आम माग पनि शिथिल हुन थाल्यो ।
वित्तीय क्षेत्रले निक्षेप संकलन गर्न सकेन र लगानीको क्षेत्र कमजोर भएका कारण यो क्षेत्र पनि विस्तार हुन सकेन । सेवा क्षेत्रमा स्वास्थ्य बिमामा क्षणिक रूपमा कोरोनाका कारण वृद्धि भएको जस्तो देखिए पनि सेवा क्षेत्रमा दीर्घकालीन अवसरबाट वञ्चित हुँदै गएको छ ।
वैदेशिक रोजगार पनि खुम्चिँदै गयो । कोभिड-१९ ले विश्वलाई नै आक्रान्त पारेको हुनाले गन्तव्य मुलुकबाट रोजगारीको माग आउन छाड्यो । हाम्रो मुलुकको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा विप्रेषणको योगदान २६ देखि २७ प्रतिशतसम्म पुगेको थियो तर अहिले घट्यो । विप्रेषण घट्नु भनेको आम उपभोगमा पनि कमी आउनु हो । उपभोगमा कमी आएपछि अर्थतन्त्र चलायमान हुन सक्दैन र यसले आर्थिक वृद्धिमा पनि सघाउँदैन । अहिले त्यही अवस्था देखियो । कृषिपछि अर्थतन्त्रको सबैभन्दा ठूलो क्षेत्र होलसेल र खुद्रा व्यापार संकुचित हुन थाल्यो ।
आर्थिक मन्दी
समग्र अर्थतन्त्रका यी पक्षलाई हेर्दा यसले दूरगामी असर पारेको देखिन्छ । तत्काल जनतालाई हात मुख जोड्न समस्या छ भने दीर्घकालमा हाम्रो आर्थिक स्वास्थ्यमा धक्कापर्ने र आर्थिक पुनरुत्थानका लागि लामो समय लाग्न सक्ने देखिन्छ । विश्वभर नै हेर्ने हो भने कुनै मुलुकमा मन्दी त कुनै मुलुकमा महामन्दीको अवस्था सिर्जना भएको देखिन्छ । आपूर्ति व्यवस्थामा परिवर्तन भयो, माग र वित्तीय अवस्थामा धक्का लाग्यो भने आर्थिक मन्दी हुन्छ । तर, अहिले यी तीनै वटा कारण एकैसाथ आएका छन् ।
आपूर्ति व्यवस्थामा धक्का परेको छ जसले गर्दा मूल्यवृद्धि अप्रत्यासित रूपमा चुलिएको छ । व्यापारबाट छिटो नाफा कमाउन सामान लुकाउने, भाउ बढाउने प्रवृत्ति पनि बढ्दै गएको देखिन्छ । यसले मन्दी निम्त्याएको छ । त्यसैगरी जनताको क्रयशक्ति घट्दा सानै भए पनि खरिद गर्न नसक्ने, बजार शिथिल हुने अवस्थाले पनि मन्दी देखिएको छ ।
वित्तीय क्षेत्रमा पनि ऋण लिन सक्ने अवस्था नभएको र निक्षेप पनि खिइँदै गएको अवस्था आयो । त्यसले गर्दा वित्तीय क्षेत्रमा पनि संकट देखियो । यी तीनवटै कारणले गर्दा महामन्दीको अवस्था सिर्जना हुँदै छ । कतिपय हाम्रो जस्तो मुलुकले के पनि अनुमान गरिरहेका छन् भने अर्थतन्त्र पुरानै अवस्थामा फर्कन अझै ५ वर्ष लाग्छ । सन् २०२५ अघि अर्थतन्त्र पुरानै अवस्थामा फर्कंदैन भन्ने अनुमान धेरैले गरेका छन् । यही तथ्यलाई मान्ने हो भने हाम्रो मुलुकका लागि यो अवधि लामो हुन्छ । यसले गर्दा हामी अल्पविकसित मुलुकको दर्जाबाट माथि उक्लन सक्दैनौं ।
शासन व्यवस्था
मुलुकले सन् २०२२ सम्म अल्पविकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुने जुन लक्ष्य राखेको छ त्यो पछि धकेलिन्छ । सन् २०२८/३० भन्दा अगाडि अल्पविकसित मुलुकबाट विकासशील मुलुकमा जाने सम्भावना देखिँदैन । त्यसैगरी सन् २०३० सम्ममा हामीले मध्यम आयस्तर भएको मुलुक बन्ने जुन लक्ष्य राखेका छौं, त्यो त टाढाको विषय बन्न पुग्छ ।
यस्तो अवस्थामा शासन व्यवस्था दह्रो भयो, सुशासन भयो भने जनताले राहत पाउँछन् । जनता अर्थतन्त्रका संवाहक भएर अर्थ व्यवस्था, सामाजिक व्यवस्था र साँस्कृतिक व्यवस्थालाई जोगाउन अघि सर्छन् । जुन ढंगले रोजगार खिइँदै गएको छ, त्यो पुनस्र्थापित हुन्छ । अहिले अस्थिर ढंगले चलेको हाम्रो वित्तीय व्यवस्थामा पनि स्थिरता सिर्जना गर्न सकिन्छ । दुर्भाग्य, हाम्रो शासन व्यवस्था त्यो ढंगको जिम्मेवार हुन सकेन । यो अवस्थामा राज्यको शासन व्यवस्थाको प्राथमिक कर्तव्य जनताको जिउधनको रक्षा गर्ने, शान्ति सुरक्षा कायम गर्ने हो । तर, यो विषयमा कोभिड-१९ प्रकोपको सुरुवाती दिनदेखि नै शासन व्यवस्था चुक्यो ।
यसरी चुक्नुमा पहिलो कारण समन्वय र पारस्परिकताको अभाव हो । हाम्रो राज्यका तीनै तह केन्द्रीय, प्रादेशिक र स्थानीय निकायका बीचमा जुन पारस्परिकता र समन्वय हुनुपर्दथ्यो, त्यो हुन सकेन । केन्द्र सरकार हावी हुन खोज्यो । स्थानीय निकाय स्रोत र साधन प्रसारण गर्न, जिम्मेवार हुन चुके । यसले गर्दा स्थानीय निकाय काम र स्रोतविहीन भए । जो जनतासम्म पुग्थे, जनतालाई सेवा दिन्थे, तिनीहरूले त्यो जिम्मेवारी लिन पाएनन् । यो समन्वय र पारस्पारिकताको अभावले भएको देखियो । राजनीतिक नेतृत्वको क्षमता पनि प्रदर्शन हुन सकेन । चाहे त्यो केन्द्रमा होस् वा प्रदेश वा स्थानीय तहमा, नेतृत्वले जुन ढंगले जनताको विश्वास जित्न सक्नु पर्दथ्यो, त्यसो हुन सकेन । विश्वास जित्ने कुरा भाषणले हुने होइन, कामले देखाउने हो । कामबाटै जनताले पत्याउने वातावरण सिर्जना गर्नु पर्छ ।
जोसँग पैसा र पहुँच छ, जसले दबाब दिन सक्छ त्यसले मात्रै उपचार पाउने, अरुले नपाउने अवस्था भयो । जनस्वास्थ्यका धेरै क्षेत्रमा सरकारले निःशुल्क उपलब्ध गराउनुपर्ने सेवा पनि उपलब्ध गराउन सकेन । बरु स्वस्थ्य सामग्री खरिदमा भ्रष्टाचार भएको देखियो । यो शासन व्यवस्थाको ठूलो कमजोरी हो । अरु बेलाभन्दा पनि राज्यको महत्व यस्तो संकटको बेलामा बढी हुन्छ । त्यसो हुँदा ‘सार्वजनिक प्रशासन’ कमजोर हुँदै गयो । सरकारले न त निजी क्षेत्रसँग समन्वय गरेर काम गर्न सक्यो न अन्तरसरकारी समन्वय र पारस्परिकता देखायो । त्यसले गर्दा ‘रिकभरी’ र ‘न्यू नर्मल’ दुर्बल बन्दै गएको देखिन्छ ।
गुम्दै जनविश्वास
प्रभावकारी, समावेशी र जिम्मेवार शासन व्यवस्था नहुँदा सरकारप्रतिको जनविश्वास गुम्दै गएको छ । सरकार जनविश्वास निर्माण गर्ने नयाँ ढाँचामा जानु पर्दथ्यो । त्यसमा पनि जान सकेन । त्यो नयाँ ढाँचामा जान नसक्नुमा हाम्रो तथ्यांक पनि भरपर्दो भएन । हाम्रो परीक्षण विधि पनि भरपर्दो भएन । सरकारले जनस्वास्थ्यको क्षेत्रमा खेलाँची गरे जस्तो देखियो । यसरी हेर्दा सरकारसँग आकस्मिक योजना त थिएन नै, मध्यकालीन योजना पनि रहेनछ । दीर्घकालमा आर्थिक व्यवस्थालाई न्यू नर्मलतर्फ लैजाने कुनै खाका पनि रहेनछ । यसले रणनीतिक संकट व्यवस्थापन हुँदै नभएको देखिन्छ ।
शासन व्यवस्थाका यी कमजोरी जबसम्म सुधार्न सकिँदैन, तबसम्म अर्थतन्त्रमा पनि सुधारका काम अघि बढाउन सम्भव छैन । त्यसै पनि नेपालको अर्थ व्यवस्थाको धरातल बलियो छैन । केही अस्थायी किसिमका परिसूचकले नेपालको अर्थ व्यवस्था धानेको हो । विप्रेषण, पर्यटन, सेवा क्षेत्रबाट हुने आयस्तरले मुलुकलाई धानेको हो । ती क्षेत्रमा संकट पर्नासाथ गाह्रो हुन्छ । यतिखेर शासन व्यवस्थालाई बलियो बनाएर सरकारले जनस्वास्थ्यलाई प्राथमिकतामै राखेर काम गर्नुपर्ने हो ।
स्रोत व्यवस्थापन
अन्य प्राकृतिक प्रकोप हुँदा हाम्रो विदेशी सहायताको क्षेत्रमा असर पर्दैनथ्यो । सहायता दिने मुलुकले हामीलाई पर्दा सहायता गर्न अग्रसर हुन्थे । तर, अहिले सहायता दिने मुलुकलाई पनि असर परेको हुनाले सहायताको आयतन र त्यसको गुणस्तर कम हुने सम्भावना देखिन्छ । त्यस्तो अवस्थामा हाम्रो आन्तरिक स्रोतलाई परिचालन गर्नुपर्ने हुन्छ ।
व्यापार-व्यवसाय नचलेका कारणले राजस्व उठ्तीको सम्भावना पनि हामीले अपेक्षा गरेको जस्तो नहुने अवस्था छ । यस्तो अवस्थामा सरकार मितव्ययी भएर जानुपर्ने हुन्छ । अनावश्यक खर्च कटौती र तत्काल प्रतिफल नदिने परियोजनाको रकम कटौती गरेर राष्ट्रिय बचत जनस्वास्थ्यको क्षेत्रमा प्रयोग गर्नुपर्ने हुन्छ । त्यो अवस्था सरकारले दह्रो नेतृत्व दिन सक्यो भने मात्रै सम्भव हुन्छ । अब सरकारले आँट गरेरै स्थानीय पूर्वाधार विकास कार्यक्रम अर्थात् सांसद विकास कोषको खारेजी, राजनीतिक लाभका लागि १५ वर्षे योजनामा बजेट बाँड्ने प्रवृत्तिको अन्त्य, साधारण खर्चमा मितव्ययिताजस्ता बाटो समात्नुपर्छ ।
नयाँ गाडी, नयाँ फर्निचर, कम्प्युटरलगायत सामग्री किन्न अहिले बन्देज लगाउन सकिन्छ । यसरी राष्ट्रिय बचत बढाएर त्यो बचतलाई साना व्यवसाय र वित्तीय क्षेत्रलाई तंग्रयाउने, साना व्यवसायीलाई टिकाउने हिसाबले अघि बढ्नुपर्ने आवश्यकता छ । यस्ता आधारभूत सुधार भयो भने मात्रै हामी छिटो रिकभरीको चरणमा जान सक्छौं । (डा. कोइरालाको यो लेख सेजन स्मारिका ‘अर्थनीति’ बाट साभार गरिएको हो ।)

उज्वेकिस्तानविरुद्धको खेल नेपाली महिला फुटबल टोलीका लागि अविस्मरणीय

देखेको हैदराबाद, भोगेको नेपाल

साम्बाको पहिलो नेतृत्वमै महिला फुटबलमा अभूतपूर्व सफलता

जलवायु परिवर्तनको समस्या र सामाधनका उपायहरू

त्यो हत्याकाण्ड सम्झिँदा

साइकल चढ्ने हैसियत नभएकाले गाडी चढ्ने भए, यहि होइन् र जनताको अवस्था फेरिएको

स्ववियु र विद्यार्थी आन्दोलनको मार्ग: इतिहास र भविष्यको अवलोकन

प्रतिक्रिया