सरकारको 'भ्याक्सिनेशन' दौड : यो गतिले यत्तिकै गुज्रिन सक्छ २ वर्ष

काठमाडौँ – प्रधानमन्त्रीमा नियुक्त भएपछि विश्वासको मत लिने क्रममा शेरबहादुर देउवाले सरकारको प्राथमिकताबारे बोल्दै भने– ‘खोप, खोप र खोप’ । उनले आगामी डेढ वर्षपछि हुने निर्वाचन अघि सबैलाई खोप लगाइसक्ने प्रतिवद्धता जाहेर गरेका थिए ।
खोपका विषयलाई लिएर पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पदमुक्त हुनुअघि सरकारले खोपको चिन्ता गर्नु नपर्ने भन्दै दुई करोड मात्रा खोप आपूर्तिको सुनिश्चितता गरेको बताएका थिए । 'मलाई थाहा छ, भरे वा भोलि बिहानबाट ल्याइदिएको खोप, लगाइरहेको खोप लगाएको फोटो खिचेर अघिल्लो सरकार गयो, हामीले खोप दिन थाल्यौं भनेर तमाशा शुरु हुनेछ,' ओलीले भनेका थिए ।
शुक्रबार प्रधानमन्त्री देउवाले ऋण वा सापटी लिएर भए पनि सवै नागरिकलाई निःशुल्क खोप उपलब्ध गराउने प्रतिवद्धता दोर्याएका छन् । न पूर्वप्रधानमन्त्री ओली न त वर्तमान प्रधानमन्त्री देउवा नागरिकलाई छिट्टै खोप पुर्याउन के गर्ने भन्ने वास्तविक धरातलमा नै उभिएका छन् । खोप खरिद गर्न आर्थिक स्रोत नभएर होइन भन्ने प्रधानमन्त्री देउवाले पक्कै बुझेका होलान् ।
खोप खरिद गरेर ल्याएपछि त्यसलाई भण्डारण गर्ने, सुरक्षित र गुणस्तर कायम राखेर देशभरका खोप केन्द्रमा पुर्याउने र सुरक्षित रूपमा भीडभाड नगरी खोप लगाउने तयारी पुगेको देखिदैँन । ओलीलाई पदमुक्त हुँदा देउवाको कार्यकालमा खोप सहज भएमा जस लिनेछन् कि भनेर चिन्ता छ । तर आगामी निर्वाचनमा पनि निर्वाचनमा ओली आफूले खोप आपूर्ति सुनिश्चित गरिदिदाँ पनि देउवा नेतृत्वको सरकारले ल्याएर वितरण गर्न नसकेको भन्ने मुद्दा बनाउने स्थिति हुने देखिन्छ । अहिलेको अवस्थामा पूरै जनसंख्यालाई खोप दिन सवा दुई वर्ष लाग्ने देखिन्छ ।
हालसम्म स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार कुल जनसंख्याको ४.२१ प्रतिशतले खोपको पूरा मात्रा पाएका छन् । खोपको आपूर्ति बढाउन, त्यसको भण्डारण केन्द्र र आपूर्ति व्यवस्थापन साथै जनशक्ति व्यवस्थापनमा नयाँ सरकारले सकरात्मक लक्षण दिन नसक्दा मुलुकमा कोभिड-१९ खोप र महामारी नियन्त्रणमा चुनौति थपिनेछ । बोली र व्यवहारमा पनि प्रतिबिम्बित हुन सकेको छैन ।
संसदमा प्रतिपक्षी एमालेका नेता सुवास नेम्वाङले अहिलेसम्म मन्त्रीमण्डललाई पूर्णता दिन नसकेको र त्यसमा पनि कोभिड महामारीमाको समयमा महत्वपूर्ण स्वास्थ्य मन्त्रालयमा मन्त्री नियुक्त गर्न नसकेको भनेर व्यंग्य गरे । प्रधानमन्त्री देउवाको प्राथमिकता जनस्वास्थ्य भए पनि उनले व्यवहारमा स्वास्थ्य मन्त्रालयलाई मन्त्री दिन सकेका छैनन् । कोभिडको तेश्रो लहरले बालबालिकालाई बढी असर गर्छ भन्ने तर, त्यसको प्रतिकार्यका लागि सरकारको तयारी देखिँदैन ।
अधिकांश ज्येष्ठ नागरिकले पहिलो मात्राको खोप लगाए पनि बालबालिकाका लागि सरकारले सोच्न सम्म भ्याएको छैन । अन्य मुलुकले १८ वर्ष मुनिकालाई मोडोर्ना र फाइजर को खोप सुरु गरे पनि त्यसतर्फ सरकारले केही घोषणा गर्न सकेको छैन । अहिलेसम्म एक मात्रा खोप लगाएको जनसंख्या ३३ लाख ९ हजार जति छन् अर्थात् जनसंख्याको झण्डै ११ प्रतिशत जति । एक डोज खोप लगाएका, १ करोड १५ लाख जति १८ वर्ष मुनिको उमेर समूह साथै वैदेशिक रोजगारमा रहेको जनसंख्यासमेत कटाएर नेपालले सवा करोड जति नेपालीलाई खोप लगाउन बाँकी छ ।
अहिले एक मात्रा मात्र खोप पाएका ३३ लाख ९ हजार कै हिसाब गर्ने हो भने यो जनसंख्यामा एक डोज खोप पुर्याउन झण्डै सात महिना समय लागेको छ । यहि हिसबले बाँकी सवा करोड जनसंख्यामा खोप पुर्याउन सरकारलाई सवा दुई वर्ष लाग्ने देखिन्छ । अहिलेको संरचना विस्तार, खोपको आपूर्ति विस्तारसँगै आपूर्ति व्यवस्थाको प्रभावकारिता, स्थानीय स्तरमा भण्डारण सुविधा र खोप लगाउने जनशक्ति नबढाउने हो भने खोप लगाइनेछ भन्ने ओठे भाषणबाट मात्र जनताले तत्काल खोप प्राप्त गर्न सक्ने सम्भावना देखिँदैन ।
महामारीमा गठन भएको सरकारले स्वास्थ्य मन्त्री नियुक्त गर्न नसक्दा ठूलो भुल गरिरहेको स्वास्थ्य मन्त्रालयका खोप सल्लाहकार समितिका खोप विशेषज्ञ डा. श्यामराज उप्रेतीले बताए । खोपको रटानले मात्र खोपको लक्ष्य हासिल गर्न नसक्ने उनको भनाइ छ । यस आर्थिक वर्षमा ५० प्रतिशत जनतालाई खोप लगाउन सकिने डा. उप्रेतीको दाबी छ । उनकाअनुसार कोभ्याक्सबाट खोप आउन बाँकी छ । खरिद गरेको खोप चीन र भारतबाट आउन बाँकी छ । जापानबाट पनि ल्याउन बाँकी छ ।
लक्ष्य अनुसारको खोप लगाउन सरकारलाई अहिले जसरी गएमा तीन वर्ष भन्दा बढी लाग्न सक्ने उप्रेतीले दाबी गरे । 'ओली र देउवा दुवै प्रधानमन्त्री नभए पनि अमेरिका र जापानले खोप दिने थिए,' उनले भने,' खोपको नाममा सरकारले जस लिने काम नगरे हुन्छ ।' जोखिम उमेरअनुसार ५० वर्ष माथिका मानिसलाई लगाउन सकेमा नेपालमा मृत्युदर घटन सक्ने उनको भनाइ छ ।
सन् २०२२ सम्ममा कोभ्याक्सबाट डेढ करोड डोज खोप खरिद गर्ने योजना रहेको उप्रेतीले सुनाए । सरकारको प्राथमिकतामा कोभिड खोपका कारण अन्य खोपका कार्यक्रम प्रभावित हुन नहुने उनको भनाइ छ । बढी खोप आयात गरेमा नेपालमा भण्डारणको समस्या हुने उनले जानकारी दिए । 'खोप भण्डारण गर्न तराईका जिल्लामा भण्डारण केन्द्रको निर्माण भइरहेको छ,' उनले भने,' हरेक लटमा आएको खोप जिल्ला र प्रदेशमा पठाइसकेपछि मात्र खरिद गरेको खोप ल्याइने गरिएको छ ।'
नेपालमा हालसम्म भित्रिएको खोप
भारतबाट अनुदानमा १० लाख खोप, भारतीय सेनाबाट १ लाख र खरिदबाट १० लाख । कोभ्याक्सबाट तीन लाख ४८ हजार ल्याइएको हो । अमेरिकाबाट कोभ्याक्स अन्तर्गत जोनसन एण्ड जोनसनको 'जान्सिन' खोप १५ लाख ३४ हजार ८५० आयात भएको हो । चीनबाट अनुदानमा १८ लाख र खरिद गरी १६ लाख खोप ल्याइएको छ । मुलुकमा कुल ७३ लाख ८२ हजार ८५० खोप भित्रिएको छ ।

दुर्घटनामा ज्यान गुमाएका १८ वर्षीय युवकको मिर्गौला र कलेजोबाट दुई जनाले पाए …

अब आँपको दाना नफाल्नुहोस्, यसवाट मिल्नेछ ५ फाईदा

गर्भनिरोधक औषधी धेरै खानेहरूमा ३ गुणा बढी स्ट्रोक हुने खतरा

पानीसँगै यसपटक डेङ्गी सङ्क्रमणको जोखिम पनि बढ्ने

यी हुन् गाजर खानुको १० फाइदा

श्रमिकको स्वास्थ्योपचारको सम्पूर्ण जिम्मेवारी रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ता…

बैतडीको शिवनाथमा मातृ तथा शिशु मृत्यु शून्य

प्रतिक्रिया