सोमबार १२ जेठ, २०८२
Monday, May 26, 2025

धादिङमा जोनसन एण्ड जोनसन खोप लगाएका ७४ वर्षीय वृद्धको मृत्यु

काठमाडौँ धादिङमा कोभिडविरुद्धको जोनसन एण्ड जोनसनको 'जान्सिन' खोप लगाएका ७४ वर्षीय वृद्धको मृत्यु भएको छ । धादिङ स्वास्थ्य कार्यालकाअनुसार शुक्रबार साढे ११ बजे ती वृद्धले खोप लगाएका थिए । खोप लगाएको करिब तीन घण्टामा उनको मृत्यु भएको हो । दुई बजेर १५ मिनेटमा उनको मृत्यु भएको थियो ।

परिवारलाई सम्पर्क गर्दा वृद्धलाई लामो समयदेखि मधुमेह रहेको स्वास्थ्य कार्यालय धादिङका प्रमुख डा. भुवन पौडेलले बताए । खोपकै कारण मृत्यु भएको पुष्टि नभइसकेको उनले जानकारी दिए ।

जिल्लास्थित खोप समन्वय समितिको बैठक बसी उक्त व्यक्तिको कसरी मृत्यु भएको त्यसको अनुसन्धान गर्न स्वास्थ्य मन्त्रालयलयलाई अनुरोध गरिएको पौडेलले बताए । 'पोष्टमार्टम गरेपछि मात्र के कारणले मृत्यु भएको हो भन्न सकिन्छ,' उनले भने,' गम्भीर रुपमा अध्ययन गर्न अनुरोध गरिसकेका छौ ।' 

खोप कार्यक्रम दिनभर सञ्‍चालनमा आएको उनले जानकारी दिए । खोप लगाएको केही क्षणसम्म सामान्य लक्षण देखा परेको उनले जानकारी दिए । सुरुमा प्राथमिक अस्पतालमा उपचार गरिएको थियो । उनको लक्षणमा कमी नआएपछि उनलाई धादिङ जिल्ला अस्पतालमा लगिएको थियो । अस्पतालमा लगेको केही समयपछि उनको मृत्यु भएको थियो ।