इजरायल जाने कामदारको परीक्षा भदौ पहिलो साता
विभागले बुधबारसम्म सूचना जारी गर्ने

काठमाडौँ – वैदेशिक रोजगार विभागले इजरायल जाने कामदारका लागि भदौ पहिलो साता परीक्षा लिने तयारी गरेको छ । इजरायली पक्षसँग कामदार छनौट गर्ने विषय अघि बढिसकेकाले भदौँको पहिलो सातासम्म परीक्षा लिने तयारी गरिरहेको विभागले जनाएको छ ।
इजरायली पक्षसँग अन्तिम चरणको वार्ता पनि भइसकेको विभागका निर्देशक डम्बरबहादुर सुनुवारले बताए । 'इजरायली प्रतिनिधि र श्रम मन्त्रालयका कर्मचारीबीच बिहीबार अन्तिम वार्ता भएको थियो,' उनले भने ।
इजरायल जान चाहने कामदारको लागि छिटोमा आउँदो सोमबार र ढिलोमा बुधबारसम्म सूचना सार्वजनिक गरिने सुनुवारले इकागजलाई जानकारी दिए । सूचना जारी गरेको २१ दिनपछि परीक्षा लिने मिति सार्वजनिक हुने उनको भनाइ छ ।
उनकाअनुसार सूचनामा काम गर्ने समय, कामदारको योग्यता, तलब र इजरायलको कानुनी व्यवस्था बारेमा जानकारी राखिनेछ । परीक्षा अंग्रेजी भाषामा हुनेछ ।
कोभिड महामारीमा उच्च माध्यमिक शिक्षा परिषद्ले पनि कक्षा १२ को परीक्षा लिने भएकाले परीक्षा केन्द्रको अभाव हुन सक्ने सुनुवारले बताए । आवेदकको संख्या अनुसार परीक्षा केन्द्रको व्यवस्थापन गरिने उनको भनाइ छ ।
'विभागमा एक हजार कामदारको माग आएको छ,' उनले भने,' महिला ७० प्रतिशत र ३० प्रतिशत पुरुषको माग रहेको छ ।
को-को जान पाउँछन् ?
सरकार-सरकार (जीटूजी) मार्फत कामदार इजरायल जान पाउनेछन् । इजरायलमा जाने नेपाली २५ देखि ४५ वर्ष उमेर समूहको हुनुपर्छ । 'प्लस टु' पास गरेर तीन महिनाको 'केयर-गिभर' तालिम लिएकाहरू प्राथमिकतामा पर्नेछन् ।
४.९ फिट र ४५ केजीभन्दा बढी भएका व्यक्ति मात्रै इजरायल जान पाउने छन् । शारीरिक तथा मानसिक रूपमा स्वस्थ, असल चरित्र भएको व्यक्ति मात्र छनोटमा पर्नेछन् ।
योग्यता पुगेका इच्छुक व्यक्तिले अनलाइन आवेदन दिनुपर्नेछ । वैदेशिक रोजगार विभागले सूचना जारी गरी सक्कल कागजातसहित समय तोकेर उपस्थित हुन अनुरोध गर्नेछ ।
विभागले आवेदकको उचाइ र तौल परीक्षण गरी अनलाइनमा प्रविष्ट गर्छ । त्यसपछि मात्रै अंग्रेजी भाषा परीक्षणमा सामेल हुन पाइन्छ । भाषा परीक्षणपछि परीक्षार्थीले प्राप्त गरेको अंक अनलाइन प्रोफाइलमा प्रविष्ट हुन्छ ।
छनोट समितिले २५ प्रतिशत बढी उम्मेदवारको नामावली तयार गर्छ । उक्त नामावली इजरायलको पीआईबीएलाई पठाई सोको विवरण विभागको वेबसाइटमा राख्नुपर्नेछ । विभागले पठाएको सूचीका आधारमा पीआईबीएले अन्तिम उम्मेदवार छनोट गर्छ ।
अन्तिम छनोटमा परेका उम्मेदवारको करारनामामा हस्ताक्षर गरी इजरायलले विभागमा पठाउने छ । विभागले सम्बन्धित व्यक्तिको हस्ताक्षर गराएर श्रमिकलाई इजरायल पठाउनेछ । न्यूनतम मासिक १५ सय डलर (डेढ लाख नेपाली) पारिश्रमिक पाउनेछन् ।
इजरायल वैदेशिक रोजगारीका गन्तव्य मुलुकमध्ये आकर्षक मानिन्छ । सरकारी तहमा कामदार लैजाने सम्झौता भए पनि इजरायल जान पाएका थिएनन् । तीन वर्ष अघि एक सयको हाराहारीमा कामदार गए पनि थप कामदार जान पाएका छैनन् ।

टिकटकले किशोर-किशोरीहरूको सुरक्षाका लागि नेपालमा सुरु गर्यो ‘फ्यामिली पेयर…

लन्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढी लाभान्वित

नेपाली जनसम्पर्क समिति नर्वेको पाँचौं अधिवेशन सम्पन्न, पारस मणि मिश्र अध्यक्षमा …
एनआरएनए एकता महाधिवेशन वैशाख २० गतेदेखि

सोनिया र राहुल गान्धी विरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता

पोर्चुगलका नेवार समुदायले बिस्का जात्रा मनाउँदै

प्रतिक्रिया