अमेरिकी उप-विदेशमन्त्री चीन जाँदै, घट्ला त मतभेद ?

काठमाडौँ-अमेरिकी उप-विदेश मन्त्री वेन्डी सेरमन चीनको भ्रमणमा जाने भएकी छिन् । अमेरिकाको विदेश मन्त्रालयका अनुसार सेरमन जुलाई २५ मा चीन जानेछिन् । जहाँ उनले चिनियाँ विदेश मन्त्री वाङ यीसँग भेघाट गर्नेछिन् । तर भेट बेइजिङमा होइन, तियानजिनमा हुनेछ ।
विश्वका दुई ठूला अर्थतन्त्रबीच सम्बन्ध सुधार हुन नसकिरहेका बेला अमेरिकी उप-विदेश मन्त्रीले चिनियाँ विदेश मन्त्रीलाई भेट्ने खबर आएको हो । सेरमन हाल एसिया भ्रमणमा छिन् । उनले बुधबार मात्रै जापानी रक्षामन्त्री र विदेशराज्यमन्त्रीसँग भेटघाट गरेकी छिन् । उनले दक्षिण कोेरिया र मंगोलियाका उच्च पदस्थ अधिकारीहरूसँग पनि भेटघाट गर्नेछिन् ।
सेरमन एसिया भ्रमणमा निस्कदै गर्दा चीन भने सूचीमा थिएन । अब भने अमेरिकाको विदेश मन्त्रालयमा दोस्रो ओहोदाकी सेरमन स्टेट काउन्सिलर समेत रहेका वाङ यीलाई भेट्ने छिन् । जो बाइडन अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भइसकेपछि चीन भ्रमण गर्ने सेरमन दोस्रो उच्च अधिकारी बन्नेछिन् । उनी अघि जोन केरी पनि चीन पुगेका थिए । राष्ट्रपति बाइडनका विशेष दूत रहेका केरी अप्रिलमा चीन गएका थिए । तर उनको उदेश्य राजनीतिक भेटघाट नभई जलवायु परिवर्तन सम्बन्धी विषयमा चिनियाँ समकक्षीसँग भेट्ने रहेको थियो ।
गत मार्चमा अमेरिका र चीनका उच्च अधिकारीहरूबीच अलास्कामा भेटवार्ता भएको थियो । जहाँ अमेरिकी टोलीको नेतृत्व विदेशमन्त्री एन्टोनी ब्लिनकेनले गरेका थिए भने चीनबाट राष्ट्रपति सि चिनफिङसँग नजिक रहेका कूटनीतिज्ञ याङ जिएची, विदेश मन्त्री वाङ यी सहभागी थिए । त्यसयता भने दुई मुलुकबीच उच्च तहमा कुराकानी हुन सकिरहेको थिएन ।
पछिल्ला दुई सातामा अमेरिका र चीनबीचको सम्बन्धमा थप दरार आएको अनुमान गरिँदै थियो । सेरमनले चीन भ्रमण गर्न चाहेको र त्यहाँ वाङ यी लगायतका उच्च पदस्थ अधिकारीसँग भेट गर्न खाेजेकाे बताइएको थियो । तर चीनले सेरमेनको भेट विदेश मन्त्रालयका अन्य अधिकारीसँग मात्र हुनसक्ने बतायो । जसकारण सेरमनको एसिया भ्रमणको तालिका सार्वजनिक हुँदा चीनलाई समावेश गरिएको थिएन ।
अमेरिकाको विदेश मन्त्रालयले आफूहरूले चीनसँग सिधा छलफल गर्न चाहेको बताएको छ । ‘हामी चीनसँग उपल्लो तहमा छलफल गर्न चाहिरहेका थियौँ । यस भ्रमणमा सेरमनले अमेरिकाको जायज चासो चिनियाँ अधिकारीहरू समक्ष राख्नेछिन् । चीनका कतिपय गतिविधीबारे पनि उनले अमेरिकाको धारणा राख्नेछिन्,’ अमेरिकी विदेश मन्त्रालयले भनेको छ ।
गत सोमबार मात्रै अमेरिकाले चीनमाथि नयाँ आरोप लगाएका थियो । अमेरिकी कम्पनी माइक्रोसफ्टको इमेल सर्भर सफ्टवेयरमाथि साइबर हमालामा चीनकाे संलग्नता रहेको दाबी गरिएको थियो । त्यस्तै, गत साता अमेरिकाले चिनियाँ प्रान्त जिनजियाङमा रहेका कम्पनीहरूसँग कारोबार नगर्न अमेरिकी कमपनीहरूलाई चेतावनी दिएकाे थियाे । अनि हङकङमा व्यापार तथा लगानीको वातावरण बिगार्दै गएको प्रतिक्रिया पनि अमेरिकाबाट आयाे ।
बाइडन प्रशासनले अघिल्ला राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले लिएको चीन रणनीतिलाई नै अघि बढाएको छ । यस्तोमा उसले साउथ चाइना सीका विषयमा चीनलाई चेतावनी दिन छाडेको छैन । अनि ताइवानविरुद्ध चीनले सिर्जना गरिरहेको दबाबमाथि पनि अमेरिकाको भनाई प्रष्ट छ, बल प्रयोग गर्नेबारेमा नसोच ।
जटिल रहेका विभिन्न विषयमा दुई मुलुकबीच मतभेद रहे पनि उच्च स्तरको भ्रमणलाई महत्व दिइएको छ । सेरमनको भ्रमणले अमेरिकी राष्ट्रपति बाइडन र चीनका राष्ट्रपति चिनफिङबीच भविष्यमा भेटवार्ता गराउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । आगामी अक्टोबरको अन्मित साता जि-२० समूहको सम्मेलन हुँदैछ । जहाँ दुई मुलुकका राष्ट्रध्यक्ष सहभागी हुनेछन् । र, त्यही फोरमको साइडलाईनमा दुई नेताको भेटवार्ता हुनसक्ने सम्भावना छ ।
रोयटर्स र एपीको सहयोगमा

दक्षिण लेबनानमा इजरायली आक्रमण,सीमा क्षेत्रमा तनाव बढ्यो

गाजामा इजरायलको क्रियाकलापले अन्तर्राष्ट्रिय मापदण्ड उल्लंघन गर्ने सम्भावना
'इरान–इजरायल युद्ध तत्काल पछि नफर्कने बिन्दुमा पुग्यो'

गोप्य रूपमा किन गइरहेका छन् तेहरानमा चिनियाँ विमान ?

देशलाई मन्दीबाट बचाउनुपर्छ: पुटिन

इरानको शान्तिपूर्ण आणविक विकासलाई समर्थन गर्न रुस तयार : पुटिन
इरानद्वारा इजरायली अस्पतालमा आक्रमण, ‘मुख्य निशाना’ सैन्य स्थल भएको इरानको दावी

प्रतिक्रिया