बुटवल-नारायणगढ सडक बिस्तारको काम, दुई वर्षमा २ प्रतिशत मात्रै

बुटवल : बुटवल-नारायणगढ सडक बिस्तार आयोजनाको काम कछुवाको गतिमा अघि बढेको छ । शिलान्यास भएको झण्डै दुई वर्ष पुग्नै लाग्दासमेत सडक बिस्तारको काम २ प्रतिशतको हाराहारीमा छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विसं २०७५ चैत ८ गते शिलान्यास गरेपछि सुरु भएको बिस्तारको काम अहिलेसम्म २ प्रतिशत मात्र काम सकिएको हाे । सुुरु भएको ४४ महिनामा काम सक्ने भन्दै प्रधानमन्त्री ओलीले बुटवलबाट शिलन्यास गरेको सडक निमार्णका जटिलताका विषयमा राज्य संयन्त्रकै असहयोग देखिएको छ ।
सडक निमार्ण सुरु गर्न थाले पनि वन, विधुत्, टेलिकम निकुञ्ज जस्ता सरकारी कार्यालयहरूकै असहयोगले आयोजनामा अवरोध पारेको देखिएको छ । त्यसो त अहिले कोभिड पनि बहाना बनेकाे छ ।
नारायणगढ-बुटवल सडक आयोजनालाई दुई खण्डमा विभाजन गरेर ठेक्का सम्झौता गरिएको थियो । कूल १ सय १३ किलोमिटर सडकमध्ये नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैंडाकोटदेखि दाउन्नेसम्म ६४.४२ किलोमिटर सडकलाई खण्ड ‘क’ र दाउन्नेदेखि बुटवलसम्मको बाँकी सडकलाई खण्ड ‘ख’ मानेर ठेक्का सम्झौता गरिएको थियो । दुवै खण्ड निर्माणको जिम्मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले लिएको छ ।
नारायणगढ-बुटवल सडक आयोजना अन्तर्गत खण्ड ‘क’का सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले मंसिर १५ सम्मको अवस्था हेर्दा २ प्रतिशत मात्रै भौतिक प्रगति भएको जानकारी दिए । उनले भने- साइट क्लियर नहुँदा कामले गति लिन सकेन, ठेक्का सम्झौता हुँदा रुख कटान, विधुत्को पोल स्थानान्तरणको काम सकिएको भए धेरै प्रगती हुने थियो । उनकाअनुसार दुई वर्षको अन्तरालमा पटक पटक काम रोक्नु परेको छ । खासगरि सडक विस्तार क्षेत्रका रुख कटानको कामले निकै समस्या श्रृजना गरेको थियो ।
वन मन्त्रालयबाट स्वीकृति लिनेदेखि विजुलीको पोल सार्ने कामले पनि विस्तारको काममा अवरोध गरेको हो । सडकखण्डको उत्तरतर्फको रूख कटानमा अनुमति पाएर धेरै रूख काटिएको भए पनि दक्षिणतर्फ चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र पर्ने भएकाले रूख कटानमा समेत लामो समय समस्या भएको थियो ।
मन्त्रिपरिषद्ले रूख कटानको स्वीकृति दिएसंगै दक्षिणतर्फको रूखसमेत काट्न सुरु गरिएको अचार्यले बताए । सडकमा सानाठूला गरी ३३ हजार ८ सय ९२ रूख काट्नका लागि स्वीकृत पाएको भन्दै उनले झण्डै आघा रूख काट्ने काम सकिएको बताए । यस सडकको अधिकांश भाग वन क्षेत्रमा पर्ने भएकाले मध्यवर्ती क्षेत्रमा वन्यजन्तुमैत्री पुलसमेत निर्माण हुने गरी ठेक्का सम्झौता भएको छ ।
आयोजनाका सूचना अधिकारी आचार्यले यो सडकको ४२.७ किलोमिटर खण्ड चार लेनमा विस्तार हुने उल्लेख गर्दै शहरी क्षेत्रको करीब १७.६ किलोमिटरमा चार लेनका अतिरिक्त दुवैतर्फ ६/६ मिटरको सर्भिस लेनसमेत निर्माण हुने जानकारी दिए ।
त्यस्तै, दाउन्नेको ४.१ किलोमिटर सडक भने तीन लेनमा मात्रै विस्तार हुनेछ । जटिल भूगोलका कारण दाउन्नेको सडक चार लेनमा विस्तार गर्न नसकिने भएकाले तीन लेनमा मात्रै विस्तार गर्ने गरी ठेक्का सम्झौता भएको उनले बताए । यो आयोजनाको म्याद गुज्रन अब २० महिना मात्र बँकी छ ।
सडक विस्तारका क्रममा मध्यवर्ती क्षेत्र पर्ने स्थानका वनमा ६ वटा वन्यजन्तुमैत्री पुल निर्माण हुनेछ । त्यसैगरी, सो सडकमा ८७ वटा कल्भर्ट निर्माण हुने भन्दै २८ वटा कल्भर्ट निर्माणको काम भइरहेको सूचना अधिकारी आचार्यले बताए । गैँडाकोट दाउन्ने खण्डमा १२ वटा ठूला पुल निर्माण हुने भए पनि एउटा पुलको मात्रै निर्माण कार्य शुरु भएको आयोजनाले जनाएको छ ।
सडक विस्तारका क्रममा गैँडाकोटबाट १४ किलोमिटर पश्चिमको भेडाबारीमा नाला तथा माटो फिलिङको काम भइरहेको छ भने सडक विस्तारका लागि ७५ जना कामदारले काम गरिरहेका आयोजनाले जनाएको छ । सडक विस्तारको शुरुआती अवस्थामा सडक सीमाभित्र पर्ने रूख हटाउने प्रक्रिया लामो हुने तथा विद्युत्का पोलहरु सडकभित्रै पर्दा काम गर्न ढिलाइ भएकामा त्यसलगत्तै विश्वभर महामारीका रुपमा फैलिएको कोभिड-१९ का कारणले पनि निर्माणले गति लिन नसकेको उनको भनाइ छ । कूल लागतमध्ये एडिबीले ८५ प्रतिशत रकम ऋण उपलब्ध गराउने छ भने बँकी रकम नेपाल सरकारकै हुनेछ । एडिबीले नेपाल सरकारलाई १.५ प्रतिशत ब्याजदरमा ३२ वर्षमा चुक्ता गर्ने गरी ऋण उपलब्ध गराएको हो ।
साईट क्लियर नहुदा पाइलैपिच्छे अवरोध, कहिले मजदुर आन्दोलन त कहिले वनको लफडा
आगामी २०७९ साउन २२ भित्र निर्माण सक्नुपर्ने गरी ठेक्का सम्झौता भएको छ ४२ महिनामा सक्ने भनेर २०७५ चैत्रमा शिलान्यास भएको यो सडक विस्तारको काम सरकारी निकायहरुबीच समन्वय नहुदा समयमै सुरु हुन नसक्ने निश्चित भएको छ । नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम, वन लगायतका नियकायहरुले समयमै काम नगर्दा रोकिएको सडक विस्तारको काम कोरोना भाइरसको महामारीपछि ठप्प जस्तै भएको थियो । तर, केही महिनाअघिदेखि चिनियाँ प्राविधिक र कामदारहरू कार्यक्षेत्रमा खटिएपछि काम सुरु भएको छ ।
यस्तै व्यवस्थापन पक्षले मजदुरहरुमाथि दमन गरेको भन्दै मजदुरहरु आन्दोलनमा उत्रिएर केहि दिन काम अवरोध गरेका छन् । उनीहरुले रामग्राम-११ मा रहेको बुटवल–बर्दघाट रोड प्रोजेक्टको साइड क्याम्प (सेक्सन २) मा गएर नाराबाजी समेत गरेका थिए ।
सडक विस्तार आयोजानमा कार्यरत मजदुरहरूलाई समयमा तलब नदिएको, बिना कारण कामबाट निकालिएको, कामदारको बिमा नगरिएको, काममा आउन जानका लागि व्यवस्थित यातायातका साधनहरु उपलब्ध नगराएको, सुरक्षा सामाग्रीको व्यवस्था नगरिएको , दैनिक ८ घन्टा भन्दा बढी काममा खटाइएको भन्दै उनीहरू आन्दोलित भएका थिए ।
आन्दोलनरत मजदूर खगेस न्यौपानेले प्रशासनको रोहवरमा मागहरू पुरा गने सहमति भएपछि काममा फर्किएको बताए । सडकको पश्चिम खण्डमा कार्यरत १ सय भन्दा बढी मजदुरहरुले काम ठप्प पारी आन्दोलनमा उत्रिएका थिए । मजदुरहरू आन्दोलनमा उत्रिन थालेपछि सडक विस्तारको काम प्रभावित भएको थियो । सहमतिसंगै निमार्णको काम अघि बढेको ईन्जिनियर आचार्यले जानकारी दिए ।
इन्जिनियर आचार्यले कामको मुल्यांकन गर्ने बेला नभए पनि विगत केहि महिनाबाट ठेकेदार कम्पनीले गरेको प्रारम्भिक कामबाट समयावधिमा काम सकिने अपेक्षा गर्न सकिने बताए । ‘प्रायः सबै काम मेशिनको माध्यमबाट गर्ने भएका कारण काम समयमा सकिने आशा गर्न सकिन्छ’, आचार्यले भने ।
सडक विस्तारको प्रारम्भिक कामअन्तर्गत अहिले दुई ठूला पुलसहित साना पुल, साइड ड्रेन, ५० वटा कल्भर्ट, माटो भर्ने, माटो कटान गर्ने, रुख कटान लगायतका कामहरु भैरहेको आयोजनाले जनाएको छ । १ सय १५ किमि सडक विस्तार हुने १६ अर्बको आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेशनले पाएको छ । नारायणगढ-दाउन्ने ६५ र दाउन्ने-बुटवल ५० किमिका दुई खण्ड छन् । दाउन्ने पश्चिमको सडक बिस्तारको काम पनि कछुवाकै गतिमा रहेको छ । दाउन्नेबाट बुटवल सम्मको ५० किलोमिटर सडक बिस्तारको काम २ प्रतिशत भन्दा कम भएको बिस्तार आयोजनाको दाउन्ने पश्चिम कार्यालयले जनाएको छ । ४ वटा ठूला र केहि साना पुलको काम थालनी भएको, केहिभागमा नाला तथा माटो कटानको काम भएको बाहेक अन्य काम भएको नदेखिएको दाउन्ने पश्चिम कार्यालयका इन्जिनियर युवराज पाण्डेले बताए ।
पाण्डेका अनुसार १३ हजार रुख कटानको स्वीकृति प्राप्त गरेकोमा हालसम्म ४ हजार १ सय रुख कटान भएको छ भने विद्युत पोल सार्ने कामको थालनी नै भएको छैन । कोरोना माहामारीको अवस्था यस्तै रहे समय सीमामा काम सम्पन्न हुने सम्भावना कम रहेको पाण्डेले बताए । ठेकेदार कम्पनी स्रोतले भने नेपालमा बाझिएका ऐन कानुनका कारण काम थाल्न ढिला भएको दाबी गरेको छ ।
यात्रुलाई हैरानी
एकातिर सडक विस्तारको काम ढिला सुरु हुनु, अर्कोतिर वर्षाले भत्काएको सडक मर्मतको काम नहँदा नारायणगढ-बुटवल सडकखण्डको यात्रा अहिले कष्टकर बनेको छ भने धुलोका कारण सडक आसपासका बासिन्दा प्रभावित भएका छन् । यसैमाथि मजदुरहरुको आन्दोलन समेत थपिन थालेपछि यो सडकखण्डको काम पनि अन्य सडकमा जस्तै ढिलाइ हुने देखिएको छ ।
४२ महिनामा सक्ने गरी शिलान्यास भएर पनि कछुवा गतिमा अगाडि बढेको नारायणगढ–बुटवल खण्डको काम चिनियाँ कामदारहरुले कोरोना विरुद्धको भ्याक्सिन लगाएर फर्केपछि सुुरु भएको छ । तर कहाँ कतिवेला निमार्ण रोकिन्छ भन्ने यकिन नहुने इन्जिनियहरुले बताउछन् । शिलन्यास भए पनि रुख कटान र विद्युत प्राधिकरणका पोल हटाउन ढिलाइ गरिएपछि त्यसै पनि यो सडकमा काम अघि बढ्न सकेको थिएन । त्यसैबीचमा कोरोना भाइरसको महामारी फैलिएपछि सडकको काम अलपत्र जस्तै थियो । निर्माणस्थलमा आवश्यक पुर्वतयारी बिना ठेक्का सम्झौता भएकै कारण काम अघि नबढेको सडकलाई कोरोनाले थप बहाना बनाइदिएको थियो ।
बुटवल–नारायणगढको दुरी छोटिने
अहिले बुटवलबाट नारायणगढसम्म पुग्न तीन घण्टा लाग्छ । यो सडक विस्तारसँगै कम्तीमा १ घण्टा देखि ५० मिनेटभित्रै पुग्न सकिने आयोजनाको दाबी छ । अहिले नारायणगढ बुटवल सडकखण्ड दुई लेनको छ, जसलाई विभागले ४ लेनको बनाउने छ । यसअघि विभागले यो सडकखण्ड चार लेनको बनाउन झण्डै १६ अर्ब रूपैयाँ खर्च हुने अनुमान गरेको थियो ।
सडकको दुई दुई लेनको बीचको भागमा ‘ग्रिनरी’का लागि खालि ठाउँ छोडिनेछ । तीन मिटरको यो भागमा बिरुवा रोप्ने तयारी छ । विस्तारित सडक दुईतर्फ नै ७, ७ मिटरको हुनेछ । योजनाअनुसार काम भए बुटवल नारायणगढ सडक विकसित देशका सडकजस्तै हुने सरकारको दाबी छ ।
सडकखण्डको छेउमा रहेका बस्तीका लागि ‘सर्भिस लेन’ निर्माण गरिने सडक विभागको भनाइ छ । सर्भिस लेन भनेको सार्वजनिक सवारीले यात्रु ओराल्न र चढाउन प्रयोग गर्ने बस्ती क्षेत्रको सडक हो ।
२८ किलोमिटर सडकमा यस्तो सर्भिस लेन रहने र यसको चौडाइ ७ मिटरको हुनेछ । तर बुटवल-नारायणगढ खण्ड पूरै भाग ४ लेनको भने हुनेछैन । दाउन्नेको उकालो र ओरालो झण्डै १२ किलोमिटर सडक ३ लेनको मात्रै हुनेछ । त्यहाको भौगोलिक र प्राकृतिक अवस्थाले चार लेन बनाउन सम्भव नभएको विभागको भनाइ छ । जसमा ३ लेनमध्ये उकालोतर्फ २ लेनको प्रयोग गरिने छ । यस्तै दाउन्ने पहाडमा ८ किलोमिटर सडक डबल लेनको मात्रै हुनेछ । उक्त आठ किलोमिटरमा फुटपाथ र साइकल लेनसमेत राखिने गरी डिजाइन बनाइएको छ ।
नारायणगढ-बुटवल सडक आयोजनाअन्तर्गत खण्ड ‘क’का सूचना अधिकारी इन्जिनीयर कृष्ण आचार्यले असोज मसान्तसम्म नवलपुर खण्डमा १.४२ प्रतिशत मात्रै भौतिक प्रगति भएको जानकारी दिए । यो खण्डमा रूख कटानमा स्वीकृति नपाउँदा सडक विस्तारमा ढिलाइ भएको अधिकारीको भनाइ छ । सडकखण्डको उत्तरतर्फको रूख कटानमा अनुमति पाएर धेरै रूख काटिएको भए पनि दक्षिणतर्फ चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र पर्ने भएकाले रूख कटानमा समस्या भएको उनले बताए ।

मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने

गाईपालन व्यवसायबाट मासिक एकलाख आम्दानी

सुनको मूल्य बढ्यो,चाँदी स्थिर

जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको एक हजार बढी योजना

आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

ग्लोबल आइएमई बैंकको ह्याकाथन कार्यक्रम सम्पन्न

आगामी बिहीबार काठमाडौंमा युनियनपे नेपाल फिनटेक फेस्टिभल

प्रतिक्रिया