प्रेसिडेन्सियल इन्नोभिस्टा २०२५ भोलिका टेक उद्यमीको सिर्जनात्मक प्रदर्शनी हो: लक्ष्मण केसी

टेक एवं बिजनेस कार्निभल ‘प्रेसिडेन्सियल इन्नोभिस्टा, २०२५’ काठमाडौंमा चलिरहेको छ । प्रदर्शनीमा बीएससी आइटी अद्ययनरत विद्यार्थीहरूले प्राविधिक र व्यावसायिक सम्भावना बोकेका एआई, सफ्टवेयर तथा वेब डेभलपमेन्ट, साइबर सुरक्षा र मल्टिमिडियामा आधारित ५० परियोजना प्रदर्शन गरेका छन्।
अमेरिकाको वेस्टक्लिफ युनिभर्सिटीसँगको सम्बन्धनमा काठमाडौँको थापागाउँ, बानेश्वरमा सन्चालित प्रेसिडेन्सियल ग्र्याजुएट स्कूलमा विद्यार्थीका उत्कृष्ट परियोजना प्रदर्शन गर्ने उद्देशले आयोजित प्रदर्शनी आयोजना गरिएको हो । आइतबारसम्म चल्ने प्रदर्शनीको प्रवेश नि:शुल्क रहेको छ । प्रेसिडेन्सियल इन्नोभिस्टा, २०२५को सेरोफेरोमा हामिले कलेजका कार्यकारी अध्यक्ष लक्ष्मण केसीसँग कुराकानी गरेका छौँ ।
अहिले यो प्रेसिडेन्सियल इनोभिस्टा २०२५ भनेर लगभग १७० जना विद्यार्थीको ५० वटा आइओटी सम्बन्धित एक्जिबिसन चलिरहेको छ । यो एक्जिबिसन किन आयोजना गरिएको हो ?
प्रेसिडेन्सियल इन्नोभिस्टा २०२५ भोलिका टेक उद्यमीको सिर्जनात्मक प्रदर्शनी हो । विद्यार्थीहरुलाई 'रियल वर्क' गर्नको निम्ति एउटा एक्सपोजर होस् भनेर प्रदर्शनी आयोजना गरिएको हो । उनीहरुसँग सैद्धान्तिक ज्ञान त हुन्छ नै, प्रदर्शनी चाहिँ ब्यवहारिक एक्सपोजरका लागि उत्कृष्ट पक्ष भएको छ । नयाँ इनोभेसन साथै भोलिका दिनमा ब्यवसायिक संभावनाका प्रोजेक्ट भएकाले पनि प्रदर्शनी आयोजना गरेक हौं । भोलि आफ्नो पढाई सकेर बजारमा जाँदा दक्ष जनशक्तिका रुपमा प्रतिस्पर्धी निस्किउन भन्नलाई हामीले प्राक्टिकल नलेजलाई फोकस गरेर प्रोजेक्ट गर्न लगाएका हौं।
यो आइओटी एक्जिबिसन मात्रै नभएर आइटीका होलिस्टिक विधाहरु साइबर सुरक्षा, सफ्टवेयर, मसिन लर्निङ, रोबोटिक्सका साथै आइओटीका लागि आवश्यक पर्ने डिभाइसहरु पनि छन् । यी प्रोजेक्ट सूचना प्रविधि (आइटी) अन्तर्गत साइबर सुरक्षा, एआइ, मेसिन लर्निङ, सफ्टवेयर, मल्टिमिडिया पढिरहेका विद्यार्थीहरु हुन् । खासमा यो पाठ्यक्रम भित्रकै समुहगत अभ्यास हो तर उनीहरुले प्रोजेक्ट यति राम्रो बनाए कि त्यसपछि प्रदर्शनी आयोजना नगरी बस्न सकेनौं ।
रोबोटिक्समा कस्ता कस्ता प्रोजेक्टहरु छन्?
रोबोटिक्समा रोबो वार छ। रोबो सकर्स (फुटबल खेल्ने रोबर्ट) छ । रोबोटले विभिन्न वस्तु पहिचान गरेर त्यसलाई संकलन गर्ने काम गरिरहेको छ। रोबोटिक ह्यान्ड जस्ता प्रडक्ट विद्यार्थीले बनाएका छन्। यसले मान्छेले गर्न नसक्ने हेभी काम गर्छ। हाम्रा विद्यार्थीले बनाएको रोबोट जुन २५ वटा देशहरु फाइनल सेलेक्सनमा पुगेका थिए र त्यो प्रतिस्पर्धामा जितेको रोबोट पनि छ।
रोबोटिक्समै एउटा रोबट छ जसले नेपाली गीतहरुमा नाँच्ने गाउने गर्छ। त्यो एउटा इन्टरटेनमेन्ट पनि हो र उसले पुसअप गर्ने, सेटअप गर्ने, अरु विभिन्न खाले एक्टिभिटी गर्दछ ।
रिमोटले भिआर डिभाइस लाएर चलाउन सक्ने रोबो कार छ। अर्को रिमोटले चल्ने कार पनि छ जसले एउटा कुनै ठाउँमा बसेर चलाउन सकिन्छ। जस्तो कुनै अफिसमा बसेर त्यो कारलाई सडकमा कन्ट्रोल गर्न सक्छौं।
प्रदर्शनीमा आइओटीका कस्ता प्रोजेक्ट छन् ?
स्मार्ट होम कन्सेप्टमा आइओटीका प्रोजेक्ट छन् । स्मार्ट सिँचाई, स्मार्ट वाटर पम्प त्यस्तै ग्यास लिक भएपछि अलार्म बज्ने र दमकललाई फोन लगाइदिने अनि अटोमेटिकरुपमा झ्यालहरु खोल्दिने सिस्टम छ । अनुहार डिटेक्ट गरेको आधारमा अटोमेटिक गेट खोल्ने किसिमका आइओटी पनि छ्न्। असम्बन्धित व्यक्तिले तीनवटा अटेम्प्ट गर्ने बित्तिकै नोटिफिकेसन आउने गर्छ। यस प्रकारका प्रडक्ट एक्जिबिसनमा सोकेस गरिएका छन्।
स्वास्थ सम्बन्धी कस्ता प्रोजेक्ट छन् ?
स्वास्थ्य क्षेत्रसम्बन्धी एआइ सिस्टम छ जसले तपाईंको स्वास्थ्यको बारेमा प्रेडिक्सन गर्न सक्छ। तपाईलाई स्वास्थ्यमा देखिएका समस्याका केही लक्षण सिम्टममा राख्नुभयो भने त्यसले तपाईंलाई सल्लाह तथा सुझाव दिन्छ। यसले प्रेस्क्रिप्सन लेख्दिदैन, यो औषधि खाउ त्यो नखाउ भन्दैन। तर, यो यो डाक्टरसँग भेटेर सल्लाह लिँदा उचित हुन्छ भनेर सुझाव दिन्छ। घरेलु उपचारका उपाय पनि यसले सुझाउँछ।
अर्को चाहिँ सेनिटरी प्याड भेन्डिङ मेसिन छ। त्यसलाई कमर्सियल्ली तुरुन्तै प्रोडक्सनमा लैजान सक्ने स्थिति छ। एक्जिबिसन सकिनेबित्तिकै हामीले हाम्रै कलेजका प्रत्येक तलामा रहेका महिला शौचालयहरुमा प्रयोग गर्दैछौं। केही भने सरकारी विद्यालय तथा सार्वजनिक स्थानमा डोनेट गर्दैछौं। कलेजको सीएसआरअन्तर्गत यो काम गर्ने योजना बनाएका छौँ।
साइबर सेक्युरिटीका कस्ता प्रोजेक्टहरु छन् ?
साइबर सेक्युरिटीमा एकदमै राम्रा एवं कमर्सियल्ली भाइबल प्रोजेक्टहरु छन्। जस्तो तपाईको इमेल अथवा फोन नम्बर राखेर त्यो कहाँ-कहाँ प्रयोग भइराखेको छ। इमेल कुन-कुन साइटहरुमा लिक भएको छ। इमेल मात्रै लिक भएको छ कि पासवर्ड पनि भइराखेको छ, थ्रेटको लेभल कति छ भन्ने आइडेन्टिफाई गर्ने प्रडक्ट बनेका छन्।
अहिले हामीले सबै तिर इमेल वा पासवर्ड अटो-फिल गर्ने गरिरहेका छौं। बैंकिङ कारोबार गर्न इमेल, मोबाइल नम्बर तथ पासवर्ड सबै चाहिन्छ। विभिन्न ढंगले फिसिङ लिंक पठाएर साइबर क्राइम गर्ने, फाइनान्सियल क्राइम गर्ने क्रम अहिले बढिरहेको छ। त्यसलाई डिटेक्ट गर्न र न्यूनीकरणका उपाय के गर्न सकिन्छ भन्ने सफ्टवेयर विद्यार्थीहरुले प्रोजेक्टका रुपमा बनाएका छन्।
अर्को भनेको कसैले साइबर अट्याक गर्यो भने त्यसलाई रोक्न चाहिने फायरवालको काम गर्नेगरि प्रडक्ट बनाएका छन्। त्यसरी अट्याक भयो भने त्यो इमेललाई आक्रमणकारीबाट सुरक्षित बनाउने काम पनि गर्छ। अटोमेटिक सबस्क्रिप्सन लिएर समस्या समाधान गर्न टिकेट जेनेरेट पनि गर्दिन्छ। विद्यार्थीहरुले साइबर सुरक्षासम्बन्धी चेतना फैलाउने किसिमका प्रोजेक्ट पनि बनाएका छन्। साइबर सेक्युरिटीमा एकदमै राम्रो प्रोजेक्टहरु छन्।
एक्जिबिसन उद्घाटनका क्रममा इलेक्ट्रीक दियो बाल्नुभयो । ड्रोनबाट पुष्पवृष्टि गरियो । भोलिको दिनमा यो दियो र ड्रोनको ब्यवसायिक संभावना के छ ?
हामीले उद्घाटनमा इलेक्ट्रिक दियो मोबाइल एपको माध्यमबाट वाइफाई नेटवर्कबाट कन्ट्रोल गरेर दियो बालेर उद्घाटन गरेका गर्यौं। त्यो पनि हाम्रो विद्यार्थीहरुकै प्रोजेक्ट हो । त्यति धेरै ठुलो इनोभेसन त होइन, तर दियो बाल्न सलाई वा लाइटर चाहिएन। रिमोटले नै बसेको ठाउँबाटै उद्घाटन भयो। यसलाई विभिन्न संघसंस्थाहरुले बाहिर प्रयोग गर्छौ भनेर माग्नु भयो भने हामी कुनै शुल्क बिना खुला गरेका छौँ।
अर्को ड्रोनको कुरा गर्दा त्यो राम्रो र बलियो छ। यसले पाँच केजीसम्म सामान बोक्न सक्छ। अहिले नै यसलाई मेडिकल प्रयोजनमा प्रयोग गर्न सकिन्छ। तर, ब्याट्री क्षमता चाहिँ बढाउनुपर्छ। त्यसपछि यसलाई कुनै इमर्जेन्सीमा मेडिकल सप्लाई गर्न, रगत एक ठाउँबाट अर्को ठाउँमा पुर्याउन प्रयोग गर्न सक्छौं।
विद्यार्थीले बनाएको इलेक्ट्रिक बाइक कस्तो छ ?
आरएफआइडि कार्डले अन/अफ हुने इलेक्ट्रिक बाइकमा सजिलै चढ्न र दुई जनाको यात्रा गर्न सकिन्छ । हेर्दा आकर्षक डिजाइन पनि छ । यसलाई थोरै मात्र अपग्रेड गर्दा तुरुन्तै वजारमा जान सक्छ ।
अरु कस्ता प्रोजेक्टहरु छन् त?
उनीहरुले स्मार्ट मिरर पनि बनाएका छन्। मिररमा तपाईले आफू कतै जानलाई हतारमा हुनुहुन्छ, विशेषगरी महिलाले मेकअप गरिरहनु भएको छ भने तपाईंको टाइम कति छ, कुन मिति हो, मौसमको अवस्था कस्तो छ, रुम भित्रको एयर क्वालिटी कस्तो छ, टुडु लिस्टहरु पनि त्यसैमा डिस्प्ले गर्न सकिन्छ।सँगसँगै त्यो मिररमा सेक्युरिटीको लागि क्यामेरा डिस्प्ले छ ।
अर्को भनेको विद्यार्थीहरुले पर्यटन क्षेत्रलाई लक्षित गरेर सफ्टवेयर बनाएका छन्। लो, मिडियम वा हाइ बजेटको प्याकेजमा नेपाल भित्र तपाई कतै भ्रमण गर्न चाहनुहुन्छ भने त्यसको लागि डिफ्रेन्ट क्याटेगोरीमा आफूअनुकूल अप्सन छान्न सक्नुहुन्छ।
एड्भेन्चर, रिक्रिएसनल वा स्पिरिचुअल एवं कुन सिजनमा घुम्न जाँदै हुनुहुन्छ, विभिन्न लोकेसन क्लिक गर्दै जानुभयो भने आफ्नो बजेट अनुसारको ट्राभल डेस्टिनेसन रिकमेन्ड सफ्टवेयरले गर्छ। हामीले एक्जिबिसन सकिने बित्तिकै त्यसलाई बिजनेसको रुपमा अगाडि बढाउन सक्ने गरी रेडी टु इन्भेस्ट बिजनेसको रुपमा तयार गरेका छौं।
यस्तै, सेयर मार्केटको प्रेडिक्सन गर्ने सफ्टवेयर बनेको छ । विगतका डेटालाई हेरेर यसले कुनै पनि कम्पनीको सेयर बढ्न र घट्न सक्ने बिष्लेसणात्मक अनुमान गर्छ । अर्को, रोचक मोबाइल गेमका सफ्टवेयर बनेका छन्। विद्यार्थीहरुले डाँफे भन्ने अपरेटङ सिस्टम (ओएस) बनाएका छन्।
प्रदर्शनीमा टेक्नोभर्सिटी कम्पिटिसन पनि एउटा पाटो रहेछ । यो कस्तो कार्यक्रम हो?
प्लस टु दिएर खाली भएर बसेका विद्यार्थीहरुको बिचमा ओपन कल गरेर उनीहरुलाई सात दिनको एउटा टास्क दिएका थियौं। उनीहरुलाई तीन दिन क्लोज क्याम्प पनि गर्यौं, त्यसमा उनीहरुले राम्रा प्रोडक्ट बनाएका छन्।
कुनै ठाउँमा गएर सवारीसाधन दुर्घटना भयो भने त्यो डिभाइसले घरका सदस्य तथा साथीभाईहरुलाई खबर गरिदिन्छ। लोकेसन ट्रयाक गर्न सक्ने अवस्था रहन्छ। चालक कुनै ठाउँमा छ र त्यहाँ उसलाई समस्या पर्यो, दुर्घटना भयो अथवा त्यो ठाउँमा गएर बाटो बिरायो भने इमर्जेन्सी उद्दारका लागि लोकेसन आइडेन्टिफाई गर्ने डिभाइस विद्यार्थीहरुले बनाएका छन्। अर्को भनेको स्मार्ट हेल्मेट बनाएका छन्। यो हेल्मेटले यदि सवारी चालकले मादक पदार्थ सेवन गरेको छ भने मापसे डिटेक्ट गर्छ र तपाईंको बाइक स्टार्ट हुन दिँदैन।
त्यस्तै, हेल्मेट नलगाइकन बाइक स्टार्ट नहुने प्रणाली विद्यार्थीहरुले बनाएका छन्। अनि तपाईंले सवारीसाधन रफ कुदाइरहनु भएको छ भने सेफ्टी अलर्ट दिन्छ। भूकम्पको जोखिमबाट बच्न पनि अलर्ट दिँदै सुरक्षित स्थान तर्फ जान सघाउन सफ्टवेयर पनि विकास भएको छ।
प्रदर्शनीमा राखिएका प्रोजेक्टको प्रतिक्रियाहरु कस्तो पाउनु भएको छ?
पूर्व मन्त्रीहरु, कूटनीतिक एवं ब्यवसायि, सेलिब्रेटीलगायत विभिन्न क्षेत्रका ब्याक्तित्व आउनुभएको छ । उहाँहरु विद्यार्थीहरुले गरेका प्रोजेक्टहरुबाट खुसी हुनु भएको छ। नेपालमा पनि यो सम्भव रहेछ भन्ने देख्नुभयो। स्वास्थ्यमन्त्री प्रदीप पौडेलले सेनिटरी प्याड भेन्डिङ मेसिन मन्त्रालयमा लिएर आउनुस् हामी के गर्न सक्छौं हेरेर गर्छौं भन्नु भएको छ। वहाँले यस्तो ठाउँमा आएर अलिकति इन्ट्रेस्टिङ लाग्यो, फरक प्रस्पेक्टिभ बुझ्ने अवसर पाएँ भन्नुभयो।
यस्तै, फुटबल महिला राष्ट्रिय टिमकी कप्तान सावित्रा भण्डारी (साम्बा) आउनुभयो। फुटबल खेल्ने रोबर्ट (मोटो सकर्स) निकै चाख मानेर अवलोकन गर्नुभयो ।
हिजोको दिनमा पनि यहाँहरुले प्राक्टिकल्ली विद्यार्थीहरुलाई विभिन्न प्रोजेक्टमा त पक्कै लगाउनु हुन्थ्यो। आज धेरै प्रोजेक्टलाई सोकेसमा राख्नु भएको छ। यो अभ्यासलाई अगाडि कसरी लैजाने योजनामा हुनुहुन्छ?
हामीले सुरुमा म्यानेजमेन्टका प्रोग्रामहरु मात्रै संचालन गर्थ्यौं। हामीले म्यानेजमेन्टको विद्यार्थीहरुको बिजनेस आइडियालाई इन्कुबेट गर्ने काम गरिरहेका थियौं। तर, हामीले गत पाँच वर्ष अगाडि जब सूचना प्रविधिसम्बन्धी प्रोग्राम लन्च गर्यौं, त्यसपछि हामीले आइटी र बिजनेसलाई ब्लेन्ड गरेर जाने भन्ने हिसाबले त्यो सोचका साथ अगाडि बढाइरहेका छौँ। अहिले २१ औं शताब्दीको औद्योगिक क्रान्तिमा डिजिटल रेभोलुसनको कुरा आइराखेको छ, यस हिसाबले हेर्दा व्यापार र प्रविधिलाई फ्युजन गर्न सकेनौं भने अबको भविष्य छैन भन्ने निष्कर्षमा पुगेका छौं।
हामीले व्यवस्थापन र आइटीका विद्यार्थीलाई पेयरिङ गराउने काम गर्छौं। जसले गर्दा प्रोजेक्ट प्राविधिकसँगै व्यापारिकरुपमा अब्बल बन्न सघाउँछ। यसले प्रोजेक्टलाई रेडी टु इन्भेस्ट स्थितिमा पुर्याउन मद्दत पुग्छ। अब हामी कतिपय इक्विटी फण्डहरुलाई बोलाएरै विद्यार्थीहरुले तयार पारेका विभिन्न प्रोजेक्टहरुमा लगानी जुटाइदिने तहमा सोच बनाइरहेका छौं। यो प्रदर्शनीमा उत्साहजनक सहभागिता र विद्यार्थीलाई मिलेको हौसला देख्दा यसलाई आगामी बर्षहरुमा पनि निरन्तरता दिने योजनामा छौं ।

विद्यार्थी राजनीति: विगतका वीरगाथा, वर्तमानका प्रश्नहरू

युवा पुस्तामा सकारात्मक सोचको खाँचो

विद्यालय, अभिभावक र विद्यार्थी त्रिकोणात्मक सम्बन्ध

संविधान संशोधनभन्दा पहिले समीक्षा गर्नुपर्छः नेता नेम्वाङ

विद्या भण्डारीलाई एमालेको नेतृत्व हस्तान्तरण गर्न सकिँदैन

संविधान संशोधन अल्पमत र बहुमत नभई आमसहमतिको विषय होः अर्थमन्त्री पौडेल

' विद्यार्थीको व्यवहारिक शिक्षा, चौतर्फी विकासमा हामीले ध्यान दिन्छौ'

प्रतिक्रिया