शनिबार २४ साउन, २०८२
Saturday, August 09, 2025

चितुवापीडितलाई रु ३७ लाख

दमौली- तनहुँमा वन्यजन्तुबाट क्षति भएका सर्वसाधारणलाई डिभिजन वन कार्यालय तनहुँले करिब ३७ लाख राहत वितरण गरेको छ । डिभिजन वन कार्यालय तनहुँले मानवीय र पशुधनको क्षतिवापत रु ३६ लाख ९३ हजार चार सय ३९ राहत वितरण गरेको हो । आर्थिक वर्ष २०८१/८२ मा चितुवाको आक्रमणबाट मृत्यु भएका तीन बालबालिकाको परिवार र वन्यजन्तुबाट क्षति भएका पशुधनको राहतपीडितलाई उक्त सहयोग गरिएको डिभिजन वन कार्यालय तनहुँका सूचना अधिकारी राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

चितुवाको आक्रमणबाट उक्त आर्थिक वर्षमा बन्दीपुर गाउँपालिकाका तीन जना बालबालिकाको मृत्यु भएको थियो । विसं २०८१ साउन ३ गते बन्दीपुर गाउँपालिका–५ कामीडाँडाका १३ वर्षीय सुन्दर कुमाल, चैत २९ गते बन्दीपुर गाउँपालिका–२ कामीडाँडामा १० वर्षीया अनुजा विक र गत जेठ २६ गते बन्दीपुर गाउँपालिका–२ कुवादीमा छ वर्षीय उत्सव गुरुङको चितुवाको आक्रमणबाट मृत्यु भएको थियो । 

मृतकका परिवारलाई जनही रु १० लाखका दरले राहत रकम प्रदान गरिएको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो । नेपाल सरकार वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत वन्यजन्तुको क्षतिको राहत निर्देशिका २०६९ (संशोधित २०७५) बमोजिम वन्यजन्तुको आक्रमणमा परी सामान्य घाइते भएमा ५०  हजारसम्म, गम्भीर घाइते भएमा दुई लाखसम्म र मृत्यु भएमा अधिकतम १० लाखसम्म उपलब्ध गराउने व्यवस्था छ । 

यस्तै चितुवाको आक्रमणबाट घाइते म्याग्दे गाउँपालिका–२ का मानबहादुर गर्जा मगरलाई उपचारका लागि रु एक लाख सात हजार र भालुको आक्रमणबाट घाइते भानु नगरपालिका–१२ का कल्पना गिरीलाई रु २४ हजार चार सय ३९ सहयोग गरिएको छ । चितुवाको आक्रमणबाट क्षति भएका पशुधनको राहतवापत रु पाँच लाख ६२ हजार वितरण गरिएको छ । सूचना अधिकारी श्रेष्ठका अनुसार त्यस अवधिमा चितुवाको आक्रमणबाट ४७ बाख्रा, एउटा भैँसी, १२ वटा गाईगोरु मरेका थिए । 

भानु, बन्दीपुर, आँबुखैरेनीमा चितुवाको आतङ्क छ । चितुवाको आक्रमणबाट पछिल्लो आठ वर्षमा १६ बालबालिकाले ज्यान गुमाएका छन् । डिभिजन वन कार्यालय तनहुँले चितुवाबाट जोगिन साँझ तथा रातको समयमा घरगोठ उज्यालो बनाउन, एक्लै नहिँड्न, झाडी सफा गर्न तथा बच्चा तथा वृद्धहरुको विशेष ख्याल र रेखदेख गर्न आग्रह गर्दै आएको छ ।