प्राङ्गारिक खेती प्रवर्द्धन गर्दै कर्णाली प्रदेश

कर्णाली- माटो, वातावरण, जलवायु, खेती प्रणाली र उत्पादित कृषि उपजका दृष्टिले कर्णालीलाई प्राङ्गारिक प्रदेशका रूपमा अगाडि बढाएको छ । कर्णाली प्रदेश सरकारले २०७५ सालदेखि प्राङ्गारिक प्रदेश निर्माणका लागि लिएको अभियानअन्तर्गत प्राङ्गारिक खेती प्रवर्द्धनलाई विशेष जोड दिइएको हो ।
कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पछिल्ला सात वर्षदेखि प्राङ्गारिक कृषि प्रवर्द्धनका लागि अनुदानमा जैविक सामग्री वितरण, प्रयोगशालामा जैविक कीटनाशक उत्पादन र रासायनिक कीटनाशकका नकारात्मक असरबारे जनचेतना फैलाउने कामका साथै कृषक पाठशालाको आर्थिक तथा प्राविधिक सहयोगमा प्राङ्गारिक खेतीमा सहयोग पुग्ने कार्यक्रम सञ्चालन गर्दै आएको कृषिमन्त्री विनोदकुमार शाहले बताउनुभयो ।
उहाँका अनुसार प्रदेशको प्राङ्गारिक खेतीको उत्पादनमा वृद्धि, जनशक्ति उत्पादन, बजारीकरण र त्यसको दीगोपनसम्बन्धी पाँचदिने अन्तरराष्ट्रियस्तरको प्राङ्गारिक खेतीसम्बन्धी तालिम आज सम्पन्न भएको छ । खाद्य तथा कृषि सङ्गठन (एफएओ)सँगको सहकार्यमा काठमाडौँस्थित रोयल थाई दूतावासद्वारा सुर्खेत वीरेन्द्रनगरमा साउन १८ गतेदेखि सञ्चालित तालिम उपलब्धिमूलक हुने उहाँको भनाइ थियो ।
तालिम समापन कार्यक्रममा थाइ मन्त्रीका सल्लाहकार एवं मिसनका निमित्त प्रमुख मनसुभी मनासाकुलले पहिलोपटक थाइ सरकार, एफएओ र नेपाल सरकारको सहकार्यमा नेपालमा प्राङ्गारिक खेतीसम्बन्धी गरिएको तालिमले नेपाल र थाइल्याण्डबीचको मित्रता र सहकार्य महत्त्वपूर्ण कडी बन्ने बताउनुभयो । उहाँले थाइ राजदूतावासको तर्फबाट कर्णाली प्रदेश, कृषि विशेषज्ञ तथा साझेदारहरूसँग सहकार्य गर्न पाउँदा सम्मानको अनुभव भएको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “अग्र्यानिक खेतीले दिगो भविष्यतर्फको बाटो देखाउँछ । यसले खाद्य सुरक्षा मजबुत पार्नुका साथै स्थानीय जीविकोपार्जनलाई सहयोग गर्छ । वातावरणसँगको सद्भावले दिगो अभ्यासलाई पनि प्रवर्द्धन गर्छ । हामी आशा गर्छौँ कि यो तालिमबाट प्राप्त ज्ञान, अभ्यास र प्राङ्गारिक उत्पादनमा प्राप्त उच्च अनुभवले यहाँहरूलाई थप सक्षम बनाउनेछ ।”
भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शाहले तालिमबाट प्राप्त ज्ञान सीपले कर्णालीको प्राङ्गारिक कृषि प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्ने बताउनुभयो । “नेपाल सरकार र थाइ सरकारको संयुक्त प्रयासमा प्राङ्गारिक कृषि प्रवर्द्धनका लागि भएको पहल मननयोग्य छ । थाइल्यान्डको कृषि र कृषि उपजको प्रशोधन र गुणस्तर कायम संसारमा अनुकरणीय भएको देखिन्छ”, उहाँले भन्नुभयो ।
मन्त्री शाहले कर्मचारीहरूलाई अन्तराष्ट्रियस्तरको तालिममा सहभागी गराउन कठिन भएकाले यस तालिमबाट सात जना विज्ञहरु नै कर्णालीमा आएर प्रशिक्षण गराउँदा एक उपलब्धिमूलक र सबैको ज्ञान सीपमा क्षमता अभिवृद्धि भएको प्रतिक्रिया दिनुभयो । उहाँका अनुसार सैद्धान्तिक र व्यावहारिक ज्ञानको प्रयोग नै यो प्रशिक्षण कार्यको महत्त्वपूर्ण पाटो बन्यो ।
मन्त्री शाहले तालिमबाट प्राङ्गारिक प्रविधिमा थाइ सरकारले लिएको नीति तथा कार्यक्रमका बारेमा जानकारी, कृषि उपजमा गरिने प्रशोधन र बजारीकरणबारे जानकारी दिनु प्रसंशायोग्य भएको बताउँदै थाइ राजदूतावासका पदाधिकारीहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो । तालिमले सहभागीहरूको क्षमता अभिवृद्धिमा योगदान पुगेको उल्लेख गर्दै आगामी दिनमा पनि दुई देशबीच कृषि क्षेत्रको विकासका लागि सहयोग र समन्वय हुनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।
प्राङ्गारिक प्रदेश निर्माणको अभियानलाई सहयोग पुगोस् भन्ने ध्येयका साथ मन्त्रालयले जैविक कृषि प्रवर्द्धनका लागि विशेष ऐन र नियमहरू ल्याएकाले थाइल्याण्डबाट सिकेको दिगो कृषि प्रणालीका उत्कृष्ट अभ्याससम्बन्धी सीप र ज्ञान अझ बढी लाभदायी हुने जनाइएको छ । उक्त पाँचदिने तालिममा कर्मचारी, कृषक, व्यापारी र एग्रोभेटका सञ्चालकहरूको सहभागिता रहेको थियो ।
---
प्रतिक्रिया