शुक्रबार २३ साउन, २०८२
Friday, August 08, 2025

ओलीको नेतृत्वलाई समर्थन गर्नु, राष्ट्रको आवश्यकता : एमाले सचिव लेखराज भट्ट

कञ्चनपुर- नेकपा एमालेका सचिव लेखराज भट्टले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वलाई देवत्वकरण गरिएको भन्ने व्याख्या अनुचित भएको बताएका छन्। प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश कमिटीद्वारा कञ्चनपुरको महेन्द्रनगरमा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै सचिव भट्टले वर्तमान राजनीतिक परिस्थितिमा ओलीको नेतृत्व अपरिहार्य आवश्यकता भएको दाबी गरे।

“ओलीलाई समर्थन गर्नु अहिलेको वस्तुस्थिति हो, यो व्यक्तिपूजाबाट प्रेरित होइन,” उनले भने। “अध्यक्ष ओलीलाई चाँडै बुझ्न कठिन भए पनि उनले चालेका कदमको अर्थ समयसँगै स्पष्ट हुने अद्भुत क्षमता छ।” भट्टले नेकपा एमाले वैचारिक, सैद्धान्तिक र सांगठनिक दृष्टिले मुलुकको कम्युनिष्ट आन्दोलनको केन्द्रमा रहेको उल्लेख गर्दै त्यसको सम्भावना र नेतृत्व अध्यक्ष ओलीकै हातमा रहेको स्पष्ट पारे।

उनले भने, “राष्ट्रियताका लागि अहिलेको नेतृत्व केपी ओली हो र उहाँ नै हुनुहुन्छ। शक्ति, संगठन र जनसमर्थनको हिसाबले एमाले देशको एक नम्बर पार्टी हो।” पार्टीभित्र केही आन्तरिक समस्या रहेको स्वीकार गर्दै भट्टले आत्मसुधारमार्फत ती समस्याहरू समाधान गर्दै अघि बढ्नुपर्ने धारणा व्यक्त गरे। उनले ओलीको सक्रियता, संकल्पशक्ति र नेतृत्व क्षमतालाई उल्लेख गर्दै “ओलीजस्तो खट्ने, सपना देख्ने र निरन्तर सक्रिय रहने नेता नेपालमा छैन” दाबी गरे।

गणतान्त्रिक व्यवस्थाको संरक्षण र राष्ट्रपतिको गरिमा कायम राख्न पार्टी प्रतिवद्ध रहेको बताउँदै उनले पूर्वराष्ट्रपतिलाई सक्रिय राजनीतिमा नआउन आग्रह गरिएको जानकारी दिए। “गणतन्त्रको गरिमा र गौरवका रूपमा राष्ट्रपतिको सम्मान गर्ने निर्णय हामी गरिसकेका छौं,” भट्टले भने।

साथै, उनले पार्टीभित्र बैठकमा समर्थन जनाउने तर बाहिर आलोचना गर्ने प्रवृत्तिले संगठनलाई कमजोर बनाउने भन्दै त्यसले कुनै राजनीतिक मूल्य नहुने धारणा राखे।

कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेले पनि ओलीको नेतृत्व राष्ट्रको आवश्यकता भएको धारणा राखे।

“अहिलेको चुनौतीको सामना गर्न दृढ, स्पष्ट र निडर नेतृत्व ओलीसँग मात्रै छ,” अध्यक्ष पाण्डेले भने। उनले प्रविधिमैत्री र न्यू मिडिया अनुकूल पत्रकारिताको विकास आवश्यक रहेको बताउँदै प्रेस चौतारीले सत्य पक्षमा अडिग रहने पत्रकारिता निर्माणमा काम गर्ने बताए।

प्रशिक्षण कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, पोलिटब्युरो सदस्य निरुदेवी पाल, प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशी, प्रेस चौतारीका उपाध्यक्ष चेतन अधिकारी, महासचिव हिरामान लामा लगायतको उपस्थिति रहेको थियो।

प्रदेश अध्यक्ष नरेन्द्र कार्कीका अनुसार प्रशिक्षणमा प्रदेशभरका चौतारी प्रतिनिधि, पत्रकार र पार्टीका प्रचार विभागमा संलग्न कार्यकर्ताको उल्लेखनीय सहभागिता रहेको थियो। उनले संगठन सुदृढीकरण, सशक्त सञ्चार रणनीति, प्रेस स्वतन्त्रताको सुदृढीकरण र आगामी कार्ययोजनाबारे गहिरो छलफल भएको जानकारी दिए।