शुक्रबार २३ साउन, २०८२
Friday, August 08, 2025

विद्यार्थी राजनीति: विगतका वीरगाथा, वर्तमानका प्रश्नहरू

सामान्य भाषामा भन्नुपर्दा विद्यार्थी शब्दले देशको उदाउँदो भविष्यलाई जनाउँदछ,जसको प्रभावकारी एवं सकारात्मक भूमिकाद्वारा राष्ट्र निर्माणमा अत्यन्तै महत्वपूर्ण भूमिका रहन्छ । विद्यार्थीहरू भोलिको दिनका राष्ट्र परिवर्तनका संवाहक,कर्मठ एवं उच्च नैतिक चेतनाले भरिपूर्ण,सभ्य नागरिकका नमुना,नेतृत्वदायी सिपवान,ज्ञान र क्षमताले निपुणताको प्रतीकका रुपमा पनि चिनिने गर्दछन् । विद्यार्थीहरू विषयगत ज्ञानका साथसाथै आफूले टेकेको धरातल, राष्ट्र, देश, नागरिक, स्वाधीनता, स्वाभिमानता, अनेकतामा एकताको भाव, लोकतान्त्रिक एवं मानवीय मूल्य मान्यता आदिबारी पनि स्पष्ट रूपले जानकार हुने गर्दछन् ।

यसै सन्दर्भ अन्तरगत,विद्यार्थीको पहिचान तथा पृष्ठभूमिलाई बोकेको,समाज रूपान्तरणको कारक तत्व तथा प्रगतिशील क्रान्तिको प्रतिको हो ‘विद्यार्थी राजनीति’ । यो केवल शैक्षिक क्षेत्र भित्रको मात्र आवाज नभई समाज र राष्ट्रका समयसापेक्ष विषयहरूको नारा र राष्ट्रिय चेतनाको दियो पनि हो । यसद्वारा विद्यार्थीहरू सक्रिय रूपले राजनीतिक,आर्थिक,वैज्ञानिक,शैक्षिक,राष्ट्रिय,अन्तर्राष्ट्रिय एवं समसामयिक विषयहरू आदीमा जोडिन सक्ने वातावरणको विकास हुन्छ । विद्यार्थी राजनीतिको पृष्ठभूमि मूलधारको राजनीति जतिकै विशाल र विराट छ । विश्वमा विद्यार्थी राजनीतिले ल्याएका प्रभावशाली एवं सकारात्मक परिवर्तनहरूको महत्त्व कोर्रा कागज र खोक्रा भाषामा मात्र सीमित रहन सक्दैनन् । 

हामीले राष्ट्रिय अन्तर्राष्ट्रिय परिवेशलाई नै नियाल्ने हो भने पनि यी कुराहरूलाई सजिलै ठम्याउन सक्छौं । त्यसमध्येको एक ज्वालान्त उदाहरण हो ‘भियतनाम युद्ध’ । भियतनाम युद्ध एक कहाली लाग्दो इतिहास हो जसलाई सम्झँदा हर कोही काप्ने गर्दछ । भियतनाम दुई भागमा विभाजित थियो , उत्तरी भियतनाम र दक्षिणी भियतनाम  । शीतयुद्धको चरम मारमा परेको यो देशमा सन् १९६५ देखि अमेरिकी सेनाको सैनिक आक्रमणको चपेटामा पनि पर्‍यो । आम नागरिकको नरसंहार,गाउँघरमा बम विस्फोट एवं तहस नहस बालबालिकाको दयनीय अवस्था र रासायनिक हमलाको समेत शिकार बन्न पुग्यो भियतनाम ।

अन्तत त्यहाँका दर्दनाक अवस्थाका तस्वीरहरू विश्वभरि फैलिए स्वयं अमेरिकी विद्यार्थीले नै त्यसको खरो प्रतिकार गरे ‘मार्च अन दि पेन्टागन’ नामक प्रदर्शन गरियो । ‘नट ईन् आवर नेम’जस्ता नारा लगाइए,प्रदर्शनमा उत्रिएका विद्यार्थीमाथि गोली पनि चलाइयो । कैयौँको मृत्यु पनि भयो । पुरै अमेरिकी विद्यार्थी एक भए । आन्दोलनहरू अझ चर्कियो,अझ सरकारमाथि दबाब सिर्जना भयो सन् १९७३मा अमेरिकी सेना भियतनाम छाड्न बाध्य भए र भियतनाम युद्धको पनी अन्त्य भयो ।

त्यसैगरी चीनको ‘मे चार’को आन्दोलनले पनि गर्बिलो इतिहास बोकेको छ । भर्सेलीज सन्धिद्वारा चीनको ऐतिहासिक,सांस्कृतिक एवं व्यापारिक हिसाबले अत्यन्त महत्वपूर्ण ठानिएको साङ्दोङ प्रान्त जापानको नियन्त्रणमा गयो । जुन चीनका निम्ति असाध्यै अपमानजनक र लज्जास्पद थियो । सरकारले विश्वव्यापी स्तरको पहलकदमी उठाउन नसक्दा प्रतिकारमा स्वयं विद्यार्थीहरू उत्रिएका थिए । बेजिङबाट सुरु भएको यस आन्दोलन सारा चीनभरि फैलियो जसलाई पछि गएर शिक्षक एवं मजदुरहरूको पनि एकबद्धता मिल्यो । यस विद्यार्थी आन्दोलनले सामाजिक,भौतिक र राजनीतिक खाकाको आधुनिकरणमा जोड दियो,अन्तत तुरुन्तै प्रत्यक्षरूपले जापानबाट साङ्दुङ प्रान्त फिर्ता नल्याए पनि यसले राष्ट्र एवं अन्तर्राष्ट्रिय दबाबको सिर्जना गरी केही वर्षपछि कूटनीतिक तवरले आफ्नो भूमि फिर्ता प्राप्त गर्न सफल भयो ।

भारतीय स्वतन्त्रताको आन्दोलनमा विद्यार्थीले जनाएको सक्रिय सहभागिता पनि कमताको भने छैन । विद्यार्थी आन्दोलनले कम्पनी सरकार विरुद्धको सम्पूर्ण विद्यार्थीहरूको मोर्चाबन्दी,परेड यात्रा,विद्यालयमा राष्ट्रवादी भावनाका विकास जस्ता प्रगतिशील कार्यमा जोड दियो । फल स्वरूप विद्यार्थीहरू राष्ट्रिय(भारतीय) विद्यालयमा भर्ना हुनेदेखि चर्खा चलाउने सत्याग्रहमा भाग लिने कार्यहरूमा पनि सक्रिय रहे । विद्यार्थी आन्दोलनको दौरान लाखौँ विद्यार्थीहरू पक्राउ परे,थुप्रै संख्यामा मारिया,कतिपय लामो समयसम्म जेल जीवन बिताउन पनि बाध्य भए । तसर्थ अग्रपंक्तिमा छातीमा गोली खाई आज हिन्दु बनाउन मद्दतीय भूमिका निर्वाह गरेको विद्यार्थी आन्दोलन भारतीय स्वतन्त्रता सङ्ग्रामको मुख्य मेरुदण्डको रुपमा रह्यो भन्दा कुनै संकोच हुँदैन ।

त्यसैगरी नेपालको परिवेशमा पनि कुरा गर्ने हो भने गाउँ,समाज कलेज तथा विश्वविद्यालयहरूमा हुनेगरेका चरम शोषण थिचोमिचो शारीरिक तथा मानसिक यतनाका साथै दास मानसिकताको विजारोपण गर्ने कुप्रवृत्तिको विरुद्ध विद्यार्थी संगठनहरू स्वयंसेवक एवं क्रान्तिका रुपमा आफ्नो संघ संगठनका माध्यमबाट सहयोगी हातहरू फैलाउँदै अघि बढे ।

वि.सं.२०३५ सालमा, तत्कालीन पाकिस्तानी राष्ट्रपति जुल्फीकर अलि भुट्टोलाई पाकिस्तानमा फाँसीको सजाय सुनाइयो ।जसले गर्दा विश्व राजनीति नै तरंगित बन्यो । यसले सरासर मानव अधिकार र लोकतन्त्रमाथिको धावा बोलेको संज्ञा दिइयो र यसको बाछिटा नेपालमा पनि पर्‍यो । सर्वप्रथम विद्यार्थीहरू उक्त फाँसीको विरोधमा मात्र प्रदर्शनमा उत्रिएका थिए तर प्रदर्शनमा उत्रिएका विद्यार्थीहरूलाई प्रहरीले कडा बल प्रयोग गरी विद्यार्थीहरूलाई गिरफ्तार समेत गर्यो र कलेजहरू बन्द गराई पठनपाठन ठप्प गराइयो । 

पाकिस्तान दुतावास अगाडी मात्र सीमित रहेको यस आन्दोलन देशभरि नै फैलियो र यसले चरम सीमा ओगड्दै आन्दोलनको रूप फेरेर नेपाली पञ्चायती व्यवस्थाको विरुद्ध क्रान्तिको घोषणा गर्यो  ।मूलधारको राजनीतिक दललाई हम्मेहम्मे भएको पञ्चायती व्यवस्था विरुद्धको सङ्घर्ष, विद्यार्थी क्रान्तिद्वारा भने सजिलै प्राप्त भयो ।फलस्वरूप राजा वीरेन्द्रले जनमत संग्रहको  घोषणा गरे र जनमत संग्रह पनि गराए । तसर्थ पैंतिस सालको क्रान्ति साँच्चै नै नेपालको इतिहासमा विद्यार्थी आन्दोलनहरूको प्रभावशाली एवं गौरवशाली दर्पणको रूपमा अमर रहेको छ ।

नेपाली राजनीतिमा यति मात्र नभई जनआन्दोलन भाग एक र जनआन्दोलन भाग दुईमा विद्यार्थी संगठनले ठूलो भूमिका रहेको देख्न सकिन्छ ।यसका अलावा जनचेतनाको अभिवृद्धि, नागरिक अगुवाई,लोकतन्त्रको स्थापना,बहाली तथा पुनरुत्थान चेतनाको विकास हुँदै वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनामा पनि निकै ठूलो भूमिका रहेको कुरा प्रष्ट छ ।

तर वर्तमान परिवेशमा यस्तो गौरवशाली इतिहास बोकेको विद्यार्थी संगठनहरूले कहीँ कतै आफ्नो मर्म र धर्म बिर्सेका त होइनन् भन्ने बेलाबेलामा गम्भीर प्रश्न उठ्ने गरेको देख्न सकिन्छ । विद्यार्थी तथा शैक्षिक मुद्दाभन्दा चाकडीबाजमा लिप्त हुनु, शैक्षिक बेथिती तथा अनियमिततालाई पश्रय दिनु,संगठनको नेतृत्वमा जडसूत्रधारहरूले कब्जा जमाईराख्नु, आन्तरिक कलह र गुटबन्दी हावी देखिनु,हिंसात्मक गतिविधि मौलाउनु, राष्ट्रिय अन्तर्राष्ट्रिय विषयमा चासो वा रूचि नराख्नु, विद्यार्थीका वास्तविक माग तथा चाहना प्रती अप्डेटेड हुननसक्नु ,चर्को शुल्क वृद्धिप्रति ध्यानाकर्षण नहुनु आदि इत्यादि । 

अत, समयले विद्यार्थी संगठनबाट विश्वविद्यालय,कलेज,गाउँ,समाज सहरतिर जनचेतनाको लहर फैलाउँदै लोकतान्त्रिक मूल्य मान्यताको मलजल गरिदियोस्, दक्ष जनशक्ति निर्माण,कर्मठ आदर्शवान हातहरूको निर्माण गरोस्,नैतिकवान चरित्रको विजारोपण भइदियोस्,आधुनिक एवं समय सान्दर्भिक बौद्धिक स्तरको विकास होस् ,सहयोगी हातहरू चारैतिर फैलिउन,राष्ट्र निर्माणका निम्ति काँधमा काँध मिलोस् भन्ने खालका प्रगतिशील एवं अग्रगामी अपेक्षाहरूको आशा गरिरहेको नै छ ।निकै ठूलो  गर्बिलो इतिहास बोकेको विद्यार्थी राजनीतिमा यस्ता गुण नदेखिनु चिन्ताजनक विषय भने पक्कै हो । नेतृत्व पंक्तिका नेता,कार्यकर्ता,विद्यार्थी,युवा हामी सबै मिली यसलाई सकारात्मक दिशातिर अग्रसर गर्न होस्टेमा हैंसे गर्न अत्यन्त अपरिहार्य छ ।