बिहीबार २२ साउन, २०८२
Thursday, August 07, 2025

राप्रपा अध्यक्ष लिङ्देन गुट भेलालाई तीव्रता दिँदै

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देन नै गुटको भेलालाई तीव्रता दिन थालेका छन् । पछिल्लो पट्क सबैको सर्वसममत साझा अध्यक्ष हुन छाडेर अध्यक्ष लिङ्देन आफ्ना गुटको भेलामा गर्न थालेका हुन् । 

बिहीबार समेत अध्यक्ष राजेन्द्र लिङ्देन पक्षको बैठक बोलाइएको छ । बत्तीसपुतलीस्थित तपस होटलमा लिङ्देन पक्षको बैठक बोलाइएको हो । उक्त बैठकमा लिङ्देन निकटका सबै केन्द्रीय सदस्य र नेताहरुलाई बोलाइएको एक नेताले जानकारी दिए ।

बैठकमा पार्टीभित्रको अन्तरविरोध, धवलशमशेर राणा समूहविरुद्धको रणनीतिसहित आगामी महाधिवेशन लक्षित योजनाबारे समेत छलफल हुने ती नेताले बताए ।  राप्रपाका नेता हेमजंग गुरुङसहितले बैठकका लागि बुधबार होटल बुकिङ गरेका थिए ।
गत साउन दोस्रो साता पनि लिङ्देन पक्षको सोही होटलमा बैठक बसेको थियो । उसो त केही दिनअघि राणासहितको इतर समूहको पनि राजधानीको हात्तीसारस्थित नेपाल हाउसमा बैठक बसेको थियो भने त्यसअघि राणाको निवासमै बैठक बसेर लिङ्देनको गलत क्रियाकलापविरुद्ध चुप लागेर नबस्ने निर्णय भएको थियो ।

राप्रपाका केन्द्रीय सदस्य जनकराज पाठकले महाधिवेशन नजिकिँदै गएको परिप्रेक्ष्यमा पक्ष, विपक्ष हुनु स्वाभाविक भएपनि अध्यक्षकै निर्देशनमा एकपक्षीय भेला भएको आफूले राप्रपाको इतिहासमै नदेखेको बताए । दुई पक्षीय विवादकै बीच महामन्त्री राणाले पार्टी अध्यक्ष लिङ्देनलाई आइतबार एक पत्र लेखेका थिए ।

लिङ्देनलाई सम्बोधन गरेर पार्टी कार्यालयका दिइएको पत्रमा अध्यक्षको हालका गतिविधिबाट कार्यकर्ता चिन्तित र सशंकित भएको उल्लेख गरिएको थियो । पत्रमा राणाले स्थानीय तहमा अधिवेशनको प्रक्रिया जारी रहेको उल्लेख गर्दै जिल्ला अधिवेशनको सन्दर्भमा केन्द्रीय निर्वाचन समितिबाट जारी गरिएको परिपत्रको उल्लङ्घन गर्दै स्वेच्छाचारी ढंगमा पार्टी नेताहरूमाथि कारबाही तथा निष्कासन गरिएको भन्दै आपत्ति जनाएका थिए ।  राणाले तत्काल केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाउन समेत माग गरेका थिए । तर लिङ्देनले अहिलेसम्म सो सम्बन्धमा कुनै छलफल नगरेको राणा समूहको बुझाइ छ ।

लिङ्देनले आफ्नो पक्षको बैठक बोलाएर तल्लो तहका अधिवेशनदेखि महाधिवेशनसम्म सारेर पार्टीको बैठक समेत नबोलाउने रणनीति गरेको राणा पक्षीय एक नेताले आरोप उल्लेख गरे । लिङ्देन पक्षले भने राणा समूहको गतिविधिको कुनै अर्थ नरहेको भन्दै अध्यक्षले विधानअनुरूप काम गर्दै आएको दाबी गरेको छ । राप्रपा अध्यक्ष लिङ्देनले राणालाई संगठन विभाग प्रमुखबाट हटाएपछि सुरु भएको विवाद पछिल्लो समय नवराज सुवेदीलाई अनुशासन समितिको अध्यक्षबाट हटाएसँगै थप चर्किएको छ ।

जुन विवाद निर्वाचन आयोगमा समेत पुगेको छ ।