मंगलबार २० साउन, २०८२
Tuesday, August 05, 2025

राजनीतिमा खुट्टा तान्ने प्रवृत्ति हावी भयो : उपसभापति गुरुङ

स्याङ्जा- नेपाली काङ्ग्रेसका उपसभापति, पुर्व मन्त्री धनराज गुरुङले नेपाली राजनीतिमा खुट्टा तान्ने प्रवृत्ति हावी भएको बताए ।नेपाली काँग्रेस स्याङ्जाका पुर्व पार्टी सभापति एव संविधान सभा सदस्य‌ स्व .कमल प्रसाद पंगेनिको सातौ स्मृति सभा तथा कमल प्रसाद पंगेनि प्रतिष्ठानको प्रथम अधिवेशन लाई सम्बोधन गर्दै गुरुङले प्रतिस्पर्धा गर्न भन्दा पनि एकले अर्कोको खुट्टा तान्ने प्रवृत्ति हावी भएको बताएका हुन्  ।

"अर्कासंग कसरी प्रतिस्पर्धा गर्ने भन्दा पनि अर्काको खुट्टा तानेर म कसरी अगाडि जाने भन्ने प्रवृत्ति हावी भएको छ ।" उनको भनाइ छ ।

नेपाली काङ्ग्रेस जिल्ला कार्यसमितिको आयोजना र नेपाली काङ्ग्रेस भिरकोट नगर कार्यसमितिको व्यवस्थापनमा भिरकोटको सिटिहलमा आयोजना गरिएको स्मृतिसभालाई सम्बोधन गर्दै उनले सामाजिक संजाल, सभा सम्मेलन, चिया पसलमा पार्टीलाई गाली गरेर काङ्ग्रेस पार्टी बलियो नहुने भन्दै पार्टी भित्रको असन्तुष्टि पार्टीका आधिकारिक बैठकमा राख्नुपर्ने बताए । उनले भने " पार्टी भित्रका असन्तुष्टि सभा सम्मेलनमा व्यक्त गरेर पार्टी बलियो हुँदैन, असन्तुष्टि राख्न पाइन्छ तर यसको आधिकारिक निकायमा राखौं ।"

एकले अर्कालाई खुट्टा तान्ने प्रवृत्ति रहेसम्म पार्टी बलियो हुन नसक्ने भन्दै एकले अर्कालाई सहयोग गरेर अगाडि बढ्नुपर्ने उहाँको धारणा थियो । "एकले अर्कोको खुट्टा तानेर अगाडि जान खोज्नेकि प्रतिस्पर्धा गरेर ?" उहाँको प्रश्न थियो । अर्काको चरीत्र हत्या गरेर आफ्नो राजनीति अगाडि बढाउने प्रवृत्ति अन्त्य नभएसम्म काङ्ग्रेस पार्टी बलियो हुन नसक्ने उनले ठोकुवा गरे । उहाँले भन्नुभयो "जसले सदाचारको कुरा उठाएको छ उसैमाथी प्रहार गर्ने प्रवृत्ति पार्टीमा बढेको छ ।" कुनै नेतालाई तल खसाल्न कसैको घरमा गएर पुजा पाठ गर्ने प्रवृत्ति गलत भएको उहाँको धारणा थियो । आफुले पनि यस्तो नगरेको र अरुलाई पनि यसो नगर्न उहाँले आग्रह गर्नुभयो । बिपि, सुवर्ण, गणेशमान, कृष्ण प्रसाद, गिरिजा, सुशील लगायतको अनुयायी हुनसके मात्र कमल पङेनी प्रति सच्चा श्रद्धाञ्जली हुने उहाँको धारणा थियो ।

स्मृति सभालाई सम्बोधन गर्दै उहाँले विपिले प्रतिपादन गरेको राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई काङ्ग्रेसको सच्चा कार्यकर्ताले बोक्ने भन्दै स्वर्गीय कमल पङ्गेनीले पनि यहीँ विचारमा रहेर संगठन गरेको स्मरण गर्दै स्वर्गीय पङेनीलाई सम्मान गर्न यहीँ बिचारको सम्मान गर्नुपर्ने बताउनुभयो । राष्ट्रियता, प्रजातन्त्र र समाजवाद एक डोरीको तीन पोया भएको बताउदै देश भन्दा माथी पार्टी हुन नसक्ने पनि उहाँको तर्क छ ।