पोखरामा लागुऔषध कारोबारी बढ्दै

गण्डकी- जिल्ला प्रहरी कार्यालय, कास्की र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराको टोलीले साउन लागेयता लागुऔषधको अवैध कारोबारमा संलग्न नौ जनालाई पोखराका विभिन्न स्थानबाट पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ ।
साउन ११ मा पोखरा महानगरपालिका–२७ शिशुवामा पोखरातर्फ आउँदै गरेको बस जेकजाँचका क्रममा कमल थापा, धादिङ घर भई हाल पोखरा बस्ने राजन क्षेत्री र मोरङका सत्यनारायण चौधरी लागुऔषधसहित पक्राउ परेका थिए । सोही दिन पोखरा–७ धारापानीबाट नुवाकोटका रवि मिजार र कास्कीका भूपेन्द्र विकलाई पनि प्रहरीले लागुऔषधसहित नियन्त्रणमा लिएको थियो ।
पाँच दिनपछि साउन १७ मा वडा प्रहरी कार्यालय, बैदामबाट खटिएको प्रहरी टोलीले पोखरा–५ प्रस्याङबाट पर्साका सुरज सहानी र म्याग्दीका सुशील परियारलाई कोठामा लुकाइछिपाइ राखेको लागुऔषधसहित पक्राउ गर्यो । त्यसको भोलिपल्ट गत आइतबार पोखरा–२७ रिठ्ठेपानीबाट लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले धादिङका राजन गुरुङलाई लागुऔषधसहित पक्राउ गरेको थियो ।
यस्तै साउन ६ गते पोखरा–३२ लामेआहालस्थित पृथ्वी राजमार्गमा मोटरसाइकल चेकजाँचका क्रममा झण्डै तीन किलो गाँजासहित गोरखाका प्रकाश गुरुङलाई प्रहरीले नियन्त्रणमा लियो । यी प्रतिनिधि घटनाले पोखरामा लागुऔषधको बढ्दो कारोबार र प्रयोगको अवस्थालाई दर्शाउँछ । लागुऔषध दुव्र्यसनीविरुद्ध प्रहरीले नियमित रूपमा अभियान सञ्चालन गर्दै आए पनि यसको अवैध उत्पादन र कारोबार नियन्त्रणमा आउन सकेको छैन ।
लागुऔषध कारोबारमा संलग्न रहेका अभियुक्तलाई लागुऔषधसम्बन्धी कसुरमा अदालतबाट म्याद थपी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय, कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिनुभयो । पछिल्लो समय पोखरामा लागुऔषध कारोबारमा संलग्न हुनेहरू पक्राउ पर्ने क्रम बढेको उहाँको भनाइ छ ।
“लागुऔषध नियन्त्रणका लागि समुदायमा सचेतना अभिवृद्धिसँगै कारोबारमा संलग्नको खोजतलास र कानुनी कारबाहीको दायरामा ल्याउन प्रहरीले सक्रियता बढाएको छ”, प्रनाउ बस्नेतले भन्नुभयो । उहाँका अनुसार गत आवमा जिल्ला प्रहरी कार्यालयमा लागुऔषधसम्बन्धी ९५ मुद्दा दर्ता भएका थिए । ती मुद्दामा एक सय २६ पुरुष र १७ महिना गरी एक सय ४३ जना पक्राउ गरेका थिए ।
आव २०८०/८१ मा लागुऔषधसम्बन्धी १२९ मुद्दामा तीन विदेशी नागरिसहित १९८ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जसमा नेपाली पुरुष १८६, महिलो नौ, विदेशी नागरिकमा पुरुष दुई र महिना तीन जना रहेका थिए । प्रनाउ बस्नेतले समुदाय र विद्यालयस्तरमा पुगी लागुऔषध दुव्र्यसनी, लागुऔषधको प्रयोगबाट हुने असर, रोकथामका उपाय र कानुनी व्यवस्थाका बारेमा अभिमुखीकरण गर्ने गरिएको बताउनुभयो ।
लागुऔषधको उत्पादन, बिक्री–वितरण र ओसारपसार गर्ने कार्यलाई कानुनले अपराध ठहराएको उहाँको भनाइ छ । लागुऔषधसम्बन्धी कानुनले जस्तोसुकै व्यक्तिको साथमा लागुऔषध फेला परे पनि उक्त व्यक्ति अभियुक्त ठहरिने व्यवस्था गरेको छ ।
---

शर्मिला वाइबा पक्राउ

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

डाँका तथा कर्तव्य ज्यान कसूरमा संलग्न ९ जना पक्राउ

आत्महत्या दुरुत्साहनमा श्रीमानसहित सासूससुरा पक्राउ

सशस्त्र प्रहरीका ७७ जना अधिकृतको बढुवा सिफारिस

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

२८ लाख धरौटी बुझाएर मध्यराति दुर्गा प्रसाईं छुटे

प्रतिक्रिया