मंगलबार २० साउन, २०८२
Tuesday, August 05, 2025

कुलिङ पिरियडबारे छानबिन समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस

काठमाडौँ- संघीय निजामती सेवा विधेयक २०७५ को प्रतिवेदनमा ‘२ वर्षे कुलिङ पिरियड’ सम्बन्धी त्रुटि देखिएको आरोपपछि गठित विशेष संसदीय छानबिन समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस भएको छ । 

समितिका सभापति जीवन परियारले मंगलबारको संसद बैठकमा प्रतिवेदन पेस गरेका हुन् । गत २३ असारमा गठित सात सदस्यीय समितिको नेतृत्व परियारले गरेका थिए । प्रतिवेदन प्रस्तुत गर्दै सभापति परियारले समितिलाई चारवटा कार्यादेश दिइएको स्मरण गराउँदै सो बमोजिम अनुसन्धान सम्पन्न भएको जानकारी दिए ।

सुरुमा २१ दिनको समय पाएको भए पनि अपुग भएपछि समितिले थप सात दिन म्याद लिएको थियो । १८ असारमा म्याद सकिए पनि बैठकलाई निरन्तरतामा राख्दै अन्ततः प्रतिवेदन मंगलबार संसदमा पेस गरिएको हो । छानबिन समितिले कुल ३७ वटा बैठक बसेको जानकारी दिँदै परियारले सो क्रममा विभिन्न सरोकारवाला, राजनीतिक दलका प्रतिनिधि र सरकारका उच्चपदस्थ अधिकारीहरूसँग सोधपुछ गरिएको बताए ।

विधेयक प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा पुगेर उपसमिति गठन गरी दफाबार छलफल भएको र त्यसक्रममा स्वार्थ समूहको दबाब पनि झेल्नु परेको सभापति परियारले बताए ।