शनिबार १७ साउन, २०८२
Saturday, August 02, 2025

नाइजेरियामा जिहादी आक्रमण : १५ किसान र बालबालिकाको हत्या

गुर्नोवा, बोर्नो राज्य- इस्लामिक राज्य पश्चिम अफ्रिका प्रान्तसँग आवद्ध सशस्त्र लडाकुहरूले उत्तरपूर्वी नाइजेरियाको बोर्नो राज्यमा आक्रमण गरी १५ जना किसान र बालबालिकाको हत्या गरेका छन् ।

स्थानीय आत्मरक्षा समूहका अनुसार, मङ्गुनो सहर नजिक रहेको गुर्नोवा भन्ने ठाउँमा खेतबाट फर्किंदै गरेका किसान र बालबालिकाहरू चढेको गाडीमाथि अन्धाधुन्ध गोली प्रहार गरिएको थियो ।

“हाम्रा समूहले ११ जनाको शव मङ्गुनो ल्याइसकेका छन्, अर्को टोली बाँकी ४ जनाको शव ल्याउन गएको छ,”स्थानीय आत्मरक्षा समूहका अगुवा बबकुरा कोलोले बताए ।

गुर्नोवा केही वर्षदेखि लगातार जिहादी आक्रमणको सिकार बनेको हुँदा स्थानीय बासिन्दाहरू मङ्गुनोमा अस्थायी शिविरमा बस्न बाध्य छन् । मङ्गुनो सहरमा अहिले हजारौं हिंसाबाट विस्थापित नागरिकहरू सैन्य सुरक्षामा जीवनयापन गरिरहेका छन् ।

संयुक्त राष्ट्र सङ्घका अनुसार, उत्तरपूर्वी नाइजेरियामा पुनः बढ्दै गएको हिंसा, विदेशी सहायता कटौती र महँगीका कारण १० लाखभन्दा बढी मानिसहरू भोकमरीको चपेटामा पर्ने जोखिममा छन् ।

१६ वर्षदेखि चलिरहेको यो हिंसात्मक द्वन्द्वमा हालसम्म ४० हजारभन्दा बढीको मृत्यु भइसकेको र २० लाखभन्दा बढी मानिसहरू विस्थापित भएका छन् । (एएफपी)