शनिबार १७ साउन, २०८२
Saturday, August 02, 2025

म्याग्दीका ३३८ घरमा खानेपानी सुविधा विस्तार

म्याग्दी- मालिका गाउँपालिका–२ मा यस वर्ष निर्माण भएका तीन वटा खानेपानी आयोजनाबाट ३३८ परिवार लाभान्वित भएका छन् । 

नेपाल स्वास्थ्यका लागि पानी (नेवा) र मालिका गाउँपालिकाको आर्थिक एवं प्राविधिक सहयोग तथा उपभोक्ताहरुको श्रमदानमा खवाङ्ग शेरेधारा, धुल्वाङ र घाङलेपानी खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजना निर्माण भएको हो । 

कूल रु एक करोड ७१ लाख ७१ हजार ८५१ को लागतमा निर्माण भएका योजनाबाट ३३८ वटा धाराबाट घरघरमा खानेपानी वितरण गरिएको मालिका गाउँपालिका–२ का वडाध्यक्ष उदयकुमार बुढाथोकीले बताए । 

खानेपानी योजना निर्माणमा नेवाले रु ८० लाख ७० हजार २१० र मालिका गाउँपालिकाले रु ४२ लाख ९१ हजार ९० लगानी गरेका छन्भने उपभोक्ताहरुले रु ४७ लाख नौ हजार सात सय ५१ बराबरको श्रमदान गरेका थिए । 

मालिका गाउँपालिकाको १, २ र ३ नम्बर वडामा आर्थिक वर्ष २०८१÷०८२ मा सात वटा खानेपानी, सरसफाइ तथा स्वच्छता योजना निर्माण भएका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताए ।  वडा नम्बर १ निस्कोटमा एक सय २५ र वडा नं. ३ को डाडागाउँ, किटेनी, औल, सराग्दी, स्यागलुङ दुई सय २५ घरपरिवार, पात्लेका एक सय २२ र लुुम्पीपारका ५३ परिवार लाभान्वित भएका उनले बताए ।